पशुपतिमा बाँदरे प्रवृत्ति देखाउनेलाई कारवाही गर्ने कोषको चेतावनी

पशुपतिमा बाँदरे प्रवृत्ति देखाउनेलाई कारवाही गर्ने कोषको चेतावनी

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने स्वदेशी तथा विदेशी दर्शनार्थीलाई दुःख दिने फूल तथा पूजासामग्री पसल सञ्चालकलाई कारबाही गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुलाई दुःख दिने फूल तथा पूजासामग्री पसल सञ्चालकलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

पशुपतिनाथको दर्शनमार्ग वनकालीदेखि पोडेपाटीसम्म सञ्चालित फूल तथा पूजासामग्री पसलहरुमा ग्राहकहरुलाई अशिष्ट भाषा बोल्ने, हातमा जबरजस्ती पानी हालिदिने, पशुपतिनाथको मूल मन्दिर जान गलत मार्ग देखाउनेलगायत कार्य गरेको गुनासो आएपछि कोषले उक्त चेतावनी दिएको हो ।  \

पशुपतिनाथ क्षेत्रमा गैरकानुनी, धार्मिक मर्यादा एवम् आध्यात्मिक हिसाबले समेत अशोभनीय कार्य बढेको कोषको ठहर छ । सोही सन्दर्भमा कोषले जारी गरेको सूचनामा त्यस्ता कार्य गरेको पाइएमा पसल नै हटाइने उल्लेख छ । यसअघि पटक पटक सूचना जारी गरेर सो कार्य नगर्न सुसूचित गराइए पनि प्रवृत्तिमा कमी नआएकाले ‘एक्सन’ मा उत्रिन लागेको कोषको भनाइ छ । 

‘पशुपति क्षेत्र विकास कोषको ऐन, नियम र प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ भन्ने सूचना दिई, सकिएकोमा उल्लेखित कार्यहरु हालसम्म पनि रोकी मर्यादित वातावरण बनाएको पाइएन् । तसर्थ यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पनि उल्लेखित कार्यहरु गरेको पाइएमा कोषले उक्त स्थानबाट पसल हटाउनेछ,’ सूचनामा उल्लेख छ ।

साथै, फूल तथा पूजासामग्रीको मूल्यमा एकरुपता कायम गरी सबैले देख्ने स्थानमा मूल्यसूची भुण्डाउने वा टाँस्ने व्यवस्था मिलाउन पसल सञ्चालकहरुलाई निर्देशन दिइएको छ ।

टिप्पणीहरू