नेपालबाट सीधै मकाउ उडान थाल्न गुहारियो प्रधानमन्त्रीलाई

नेपालबाट सीधै मकाउ उडान थाल्न गुहारियो प्रधानमन्त्रीलाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले नेपाल र मकाउबीच सीधा हवाई सम्पर्क गर्न सातामा एउटा फ्लाइटको व्यवस्था निम्ति आग्रह गरेको छ । नेपाल र मकाउबीच सीधा हवाई सम्पर्क नहुँदा धेरै समय र पैसा लाग्ने गरेको उल्लेख गर्दै एनआरएनएले सातामा एउटा फ्लाइटको व्यवस्था मिलाइदिन भनेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई हिजो पाँच बुँदे ज्ञापनपत्र बुझाउँदै एनआरएनएले यसो गरेमा विश्वकै प्रसिध्द पर्यटकीय स्थल मकाउबाट थप पर्यटक नेपाल ल्याउन सकिने बताएको छ । त्यस्तै, हङकङ सरकारले नेपालीहरुका लागि ट्रान्जिट भीसाको व्यवस्था गरेपनि सो निकै झन्झटिलो भएको एनआरएनएको भनाइ छ । 

यो व्यवस्था हटाउन प्रधानमन्त्री दाहालले विशेष पहल गरेमा धेरै नेपालीहरु लाभान्वित हुने एनआरएनएको सुझाव छ । ‘पहिला पनि अनौपचारिक रुपमा पहल भएको तर, ठोस निष्कर्षमा पुग्न नसकेकाले यसपटक हङकङ र नेपाल दुवैतिर नयाँ कार्यतालिका भएकाले ठोस नतिजाको अपेक्षा राख्दछौं’, ज्ञापनपत्रमा भनिएको छ । 

मकाउमा धेरै नेपाली भए पनि भीसा पाउन निकै कठिन रहेको गुनासो गर्दै एनआरएनएले सरकारबाट चिनियाँ राजदूतमार्फत सहज आवागमनको व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरेको छ । मकाउमा नेपालीहरु उच्च तलबका साथ काम गरिरहेका छन् । तर, कमाएको रकम नेपाल पठाउन एउटा पनि स्वदेशी रेमिट्यान्स कम्पनी नभएकाले बाध्यताबस हुन्डीको प्रयोग गर्ने क्रम बढेको बताइएको छ । 

एनआरएनएले सरकारी तबरबाट रेमिट्यान्स कम्पनीको स्थापना गर्न सरकारलाई सुझाएको छ ।

टिप्पणीहरू