अमेरिकी टोली बालुवाटारबाट निस्केर सोझै चप्पल कारखाना

अमेरिकी टोली बालुवाटारबाट निस्केर सोझै चप्पल कारखाना

हिजो बेलुकादेखि नेपाल भ्रमणमा रहेको अमेरिकी उच्चस्तरीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुलाण्डको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहालसँग उहाँको सरकारी निवास बालुवाटारमा भेटेर केही बेरअघि एमसिसीसम्बध्द सहयोग परियोजनाको सघन कार्यान्वयन,तिब्बती शरणार्थीहरुलाई परिचयपत्र नविकरणलगायतका बिषयमा आफ्ना सरोकार राखेको र नेपालको भूराजनीतिक बनोटअनुसार आगामी कदम चालिनेमा ढुक्क हुन आश्वासन पाएको बुझिएको छ ।

साढे ९ बजेदेखि झण्डै सवा १० बजेसम्म भएको कुराकानीमा नुलाण्ड नेतृत्वको टोलीका सदस्यहरु उपसहायक मन्त्री न्यान्सी ज्याक्सन र विशेष सहायक मेरी फ्याङ्किस थिए । नेपालका लागि अमेरिकी राजदूत रिचार्ड डिन थम्पसन पनि सो अवसरमा उपस्थित हुनुभएको बताइएको छ ।

टोली हिजो साँझ काठमाडौं आएको हो । आज अपरान्ह ५ बजे नयाँ दिल्ली फर्कने कार्यक्रम छ । दिवाभोजपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसङ्ग लामै छलफल गर्ने तयारीमा रहेको उक्त टोली अहिले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग  भेटवार्ता गर्न चप्पल कारखाना पुगेको छ । आजै दिउँसो टोलीले पाटन दरबार स्क्वायरको भ्रमण गर्नेछ ।


टिप्पणीहरू