वैदेशिक रोजगारीमा जानेको पीडा : कहाँको सुःख, कहाँको सपना

वैदेशिक रोजगारीमा जानेको पीडा : कहाँको सुःख, कहाँको सपना

सुनौलो भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा जानेहरुको संख्या नेपालमा अत्यधिक छ । मुलुकभित्र रोजगारीको अवसर नहुँदा विदेशी श्रम बजारमा पसिना चुहाउनु नेपाली युवाको निम्ति बाध्यता बन्दै गएको छ । तर, पसिनासँग परिवारको खुशी साट्न विदेश उड्नेहरुको पीडा भने बयान गरिसाध्य छैन । वैदेशिक रोजगारीमा गएकाहरुको मृत्युको तथ्यांक हेर्दा झन् कहालीलाग्दो अवस्था छ । 

गत भदौ १५ गते दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भयो । होस्टलमा सुतिरहेको समयमा आफ्नै साथीले छुरा प्रहार गर्दा नुवाकोटका प्रकाश विकको ज्यान गयो । एक महिनाअघि मात्र कोरिया पुगेका पाँचथर घर भएका राजेश बुढाथोकीले विकको हत्या गरी आत्महत्याको प्रयास गरेका थिए । 

त्यस्तै, गएको वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले ज्यान गुमाए । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशीलाई रक्त क्यान्सर पुष्टि भएको थियो । त्यसको दुई दिनमै उनको निधन भयो । 

यी त पछिल्ला केही समयका प्रतिनिधि घटना मात्रै हुन् । देशमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा विदेशी गल्लिम्मा ज्यान गुमाउने नेपालीको संख्या अत्यधिक छ । विदेशमा श्रम गर्न गएका नेपाली काठको बाकस (कफिन) मा फर्किने अवस्था मुलुककै लागि चिन्ताको विषय हुनुपर्ने हो । तर, रेमिटेन्सले देश धानिएको सगौरव दाबी गर्ने सरकार र राज्यका निकायहरु यसप्रति संवेदनशील नहुँदा युवाशक्ति पलायनसँगै कफिनमा फर्किनेको संख्या झन् बढ्दो छ । 

मलेसियामा सबैभन्दा धेरै नेपालीको मृत्यु 

नेपाली श्रमिकका लागि खाडी मुलुक र मलेसिया प्रमुख गन्तव्य हो । तर, तीनै देश मृत्युकुण्ड साबित भएका छन् । लगातार काम र चर्को घाम सहन नसकेर खाडी मुलुकमा नेपाली कामदारहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । त्यसरी ज्यान गुमाएकाले न राज्यबाट क्षतिपूर्ति पाउँछन् न साथ र सहयोग नै । 

आर्थिक वर्ष २०७८–७९ मा मात्रै विदेश गएकामध्ये एक हजार ५०३ जना नेपाली कफिनमा फर्किएका छन् । वैदेशिक रोजगार बोर्डले दिएको तथ्याङ्कअनुसार मलेसियामा मृत्यु हुने नेपालीको संख्या उच्च छ । 

एक वर्षको अवधिमा मलेसियामा ४१० नेपालीले ज्यान गुमाएका छन् । त्यस्तै, दोस्रो नम्बरमा साउदी अरेबिया परेको छ । त्यहाँ ३९८ नेपालीको ज्यान गएको छ । तेस्रो नम्बरमा कतार र चौथोमा युएई रहेको छ । कतारमा ३०१ र युएईमा २१५ नेपालीको ज्यान गएको विवरणमा उल्लेख छ । 

बोर्डको तथ्यांकअनुसार उज्वेकिस्तानमा एक, युगाण्डामा एक, टर्कीमा चार, तान्जानियामा एक, स्पेनमा एक, रोमानियामा नौ, दक्षिण कोरियामा १७, ओमानमा १४, पोर्चुगलमा दुई, पोल्याण्डमा तीन, मौरिससमा एक, माल्टामा एक, मकाउमा चार, कुवेतमा ६५, जोर्डनमा सात र जापानमा ११ जनाको निधन भएको छ । 

त्यस्तै, इटालीमा एक, आयरल्याण्डमा एक, हङकङमा एक, इक्वरियल गायनामा एक, इजिप्टमा एक, साइप्रसमा दुई, क्रोएसियामा दुई, कोमोरसमा एक, कम्बोडियामा एक, बहराइनमा २३ र अफगानिस्तानमा तीन जना नेपालीको वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गएको छ । 

तर, बोर्डले मृत्यु हुनेको संख्या योभन्दा बढी हुन सक्ने बताएको छ । वैधानिक माध्यमबाट गएकाहरुको विवरण मात्र बोर्डले राख्ने गरेको सूचना अधिकारी मैया कँडेलले बताइन् । ‘हामीले वैध माध्यमबाट गएका नेपाली कामदारको विवरण मात्र राख्ने गरेका छौं’, उनले भनिन्, ‘अवैध माध्यमबाट गएका कति जनाको मृत्यु भयो, त्यसको तथ्याङ्क हामीसँग छैन ।’

दैनिक तीन जना बाकसमा फर्किन्छन् 

बोर्डका अनुसार विदेशमा मृत्यु भएकामध्ये औसतमा दैनिक तीन वटा शव भएको बाकस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने गरेको छ । मृत्युको कारण भने धेरै रहेको उनको भनाइ छ । कँडेलका अनुसार विदेशमा ज्यान गुमाउने महिलाभन्दा पुरुष बढी देखिएका छन् । पर्याप्त तालिम, सीप र सुरक्षाबिना विदेश जाँदा अकालमा ज्यान गुमाउनु परेको बोर्डको भनाइ छ  । 

सडक दुर्घटना, आत्महत्या, हृदयाघात, मिर्गौलासम्बन्धी रोग, क्यान्सर, कार्यस्थल दुर्घटनालगायत मृत्युका कारण हुन् । त्यस्तै, कतिपयले सुतेकै ठाँउमा मृत्युवरण गर्ने गरेका छन् । केहीको भने प्राकृतिक मृत्यु पनि हुने गरेको छ । कोरोनाका कारणले पछिल्लो तीन वर्षमा एकाधको ज्यान गएको छ । 

कामको चाप सहन नसकेर कतिपय नेपालीले आत्महत्या गर्ने गरेको जानकारहरुको बुझाइ छ । काम गरेको पारिश्रमिक नपाउँदा र वैदेशिक रोजगारीमा गएर अप्ठ्यारो परेपछि पनि आत्महत्या अंगाल्ने गरेको पाइन्छ । 

सरकारले विदेश गएका र जाने युवाको मृत्युदर घटाउने प्रयास गरिरहेको दाबी गरे पनि पछिल्लो तथ्याङ्कले त्यस्तो कुनै प्रगति भएको आभास दिँदैन । वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण र कामसम्बन्धी तालिम लिनुपर्ने प्रावधान छ । तर, म्यानपावर कम्पनीहरुले सेटिङमा विदेश पठाउने गरेकाले पनि भवितव्यजन्य मृत्युका घटना बढिरहेको सो क्षेत्रका जानकारहरु बताउँछन् । 

शव ल्याउन झन् सास्ती 

नेपालीले विदेशबाट पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको छ । तर, सरकारले परदेशमा ज्यान गुमाएका नेपालीको शव सहज तरिकाले ल्याउनसमेत सकेको छैन । कमाएर पाल्छ भन्ने आश बोकेका अभिभावकलाई आफ्नो सन्तान गुमाउँदाको भन्दा ठूलो पीडा अरु के होला ? सन्तान गुमाएका बाबुआमाले लाश हेर्न पनि सयौं हण्डरठक्कर खानुपर्ने अवस्था छ । विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउनु सरकारको प्रमुख दायित्व हो । विडम्बना ! सरकारको प्रभावकारी पहल नहुँदा विदेशमै कतिपय शव अलपत्र परेका छन् । 

केही समयअघि मेडिकल व्यापारी दुर्गा प्रसाईंले एक जनाको शव ल्याएका थिए । शव ल्याउनुअघि नै विमानस्थलमा प्रहरी र मिडियाकर्मीहरु छपक्कै भइसकेका थिए । उनले कफिन समात्दै विमानस्थलमा सरकारलाई तथानाम गाली गरे । सरकारी अधिकारीहरुले नसुनेझैं गरे । विदेशमा अझै धेरै नेपालीको शव अलपत्र छ । तर, सरकारले फिर्ता ल्याउन पहल नगरेको बताइन्छ ।

सम्बन्धित रोजगारदाता कम्पनीले नै सम्पूर्ण प्रक्रिया पुर्याएर शव नेपाल पठाउनुपर्ने बोर्डका एक पदाधिकारीले बताए । कम्पनीले नपठाएको खण्डमा दूतावाससँग समन्वय गरेर शव ल्याउने उनको भनाइ छ ।

टिप्पणीहरू