इच्छाराजद्वारा पीडितहरु प्रहरीको शरणमा

इच्छाराजद्वारा पीडितहरु प्रहरीको शरणमा

बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङ र उनको समूहको ठगीमा परेका सहकारी बचतकर्ताहरुले शान्ति सुरक्षाको निम्ति प्रहरी प्रशासनसँग गुहार मागेका छन् । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थाका हर्ताकर्ताले बचत रकम हिनामिना गरेपछि बिचल्लीमा परेका बचतकर्ताले आयोजना गरेको छलफल कार्यक्रममा सम्भावित आक्रमणलाई ध्यानमा राखेर प्रहरी सुरक्षाको माग गरिएको हो ।

उनीहरुले आज महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेमा निवेदन दिँदै उक्त माग गरेको बचतकर्ता डिल्लीप्रसाद भट्टराईले जानकारी दिए । पीडित बचतकर्ताले आज बिहान ११ बजेदेखि नयाँबजार, खुशीबुस्थित क्लासिक बुफेट पोइन्ट पार्टी प्यालेसमा भेला राखेका छन् ।

प्रहरीमा बुझाईएको निवेदनमा भनिएको छ, ‘२०७९ पुस २० गते (बुधवार) हामी सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि काठमाडौंका पीडित बचतकर्ताहरु बिहान ११ बजेदेखि ३ बजेसम्म क्लासिक बुफेट प्वाइन्ट पार्टी प्यालेस खुशीबुमा भेला गर्दैछौं । उक्त समयमा उक्त स्थानमा शान्ति सुरक्षाका लागि प्रहरी पठाइ दिनुहुन अनुरोध गर्दछौं  ।’ 

तामाङ,उनकी श्रीमती श्रृजना शाक्य र सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलगायत सहकारीको अरबौं रुपैयाँ हिनामिना गरेको आरोपमा जेलमा छन् । अन्य १० जना पदाधिकारी र कर्मचारी भने गत वर्ष धरौटीमा छुटेका थिए । पीडित बचतकर्ताहरुले तामाङ समूहबाट आक्रमण हुने सम्भावना रहेको बताउँदै प्रहरीसँग शान्ति सुरक्षा मागेको बताएका छन् ।

टिप्पणीहरू