विचार जन्माउने फ्याक्ट्रीमा गालीको वर्षा

विचार जन्माउने फ्याक्ट्रीमा गालीको वर्षा

कम्युनिष्ट पार्टीको मुख्य विशेषता नै यो हो ‘सयौं फूलहरूलाई फुल्न देऊ’ । यो भनेको बगैंचाका फूलहरूलाई फुल्न देऊ भनेको होइन । पार्टीभित्र जन्मिने सबै विचार पार्टीका सम्पत्ति हुन्, आ–आफ्ना विचार राख्न सबैलाई अधिकार देऊ भनेको हो । सबै प्रकारका विचारलाई जन्मिन देऊ भनेको हो । हुन पनि हो, उदाहरण हेरौं न हाम्रो आफ्नै निकट विगत कति मजाको छ ! एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवादसम्बन्धी विचार मदन भण्डारीको, नौलो जनवाद सिपी मैनालीको र सोसियल डेमोक्रेटिक भ्यु रघुजीको दर्ज भएका थिए ।

तीव्र बहस भयो । झलनाथले त जबजलाई दक्ष प्रजापतिको टाउकोसम्म भनेका थिए । तर त्यो बेला निजी तवरमा गाली गर्ने, होच्याउने, कसैको बदनाम गर्ने काम कसैले गरेनन् । उक्त महाधिवेशनबाट मदन भण्डारीको विचार बहुमतले पारित भयो । मदनले आफ्ना च्यालेञ्जर तिनै सिपीलाई संसदीय दलको उपप्रमुख बनाए । झलनाथप्रति कहिल्यै दुर्वचन लाएको सुनिएन । कसैले कसैलाई दुर्वचन लाउन सम्भव पनि थिएन ऊबेला । सूर्य थापाजस्ता मानिस अध्यक्षको नजिक पुगेर शीर्ष नेताहरूको बदनाम गर्ने दुस्साहस गर्न त झन् सम्भावनै थिएन । 

विचार जन्माउने एमाले आज गाली उत्पादन गर्ने केन्द्रजस्तो बन्दै गइरहेको देखेर एमालेका शुभेच्छुकहरू मात्र होइन, गैरवामपन्थीले पनि चित खाएका छन् । राजनीतिको स्तर कहाँ पुग्न लाग्यो भनी चिन्ता जाहेर गरिरहेका छन् । यो उही एमाले हो ? अस्तिकै एमाले हो र भनेजस्तो हुन्छ । सायद विभाजन र व्यक्तिगत वैमनश्यता यस्तै असहिष्णु बन्न जाँदा, अरुलाई नगन्दा हुन्छ होला । यस्तो भएपछि स्वाभाविक छ मान्छेलाई जुट्न मुश्किल पर्छ । पार्टीभित्र विचारमा यताउता हुनु स्वाभाविक हो । कहिले कसको विचारले समर्थन पाउला त कहिले कसकोले । तर, अहिले त विचारधारात्मक भिन्नताले कमरेडहरूबीच व्यक्तिगत सम्बन्धमै तल–माथि गराउन थालेको छ, तिक्तता बढाएको छ र अझ आफ्नै सहयोद्धा कमरेडलाई पनि शत्रु नै पो हो कि जस्तो बनाएको छ ।

जर्ज बुशको जस्तो कि मेरो पक्षको, होइन भने दुश्मन पक्षको भनेजस्तो अवस्था छ । घनश्याम भुसालले चितवनको कथा सुनाएका थिए जुन यस्तो छ– चितवन महाधिवेशनमा उनी उपाध्यक्षका उम्मेदवार । भोट पनि राम्रै ल्याएका थिए । भोट हाल्न उपस्थित अधिकांश सदस्य उनीसँग संवाद गर्न डराउँथे ! देखे भने परैबाट बाटो बदल्थे ! तर, ती बाटो फेर्ने धेरैले उनलाई भोट दिएका रहेछन् । यो कुरा पछि काठमाडौंमा भेट्दाको बखत बाटो बदल्नेले उनलाई बताएका रहेछन् तिनैले । यस्तो डरको वातावरण छ एमालेमा अहिले । व्यक्तिको कार्यशैलीबारे फरक विचार राखे पार्टीविरोधी हुने, आलोचना गरे, नेता र पार्टी दुबैको विरोधी भइने जुन अवस्था छ यसले सबैलाई मिल्नबाट रोक्छ । यसर्थ यस्ता नराम्रा प्रवृत्ति त्यागौं । अब जुट्ने मात्रै, मिल्ने मात्रै कुरा गरौं । 

ऊ बेला सुकुम्बासीका बस्तीमा हात्ती चलाउँथे पञ्चहरू, आज डोजर चलाइरहेका छन् बालेनहरू ।

जुट्दा के हुन्छ र फुट्दा के हुने रहेछ भन्ने कुरा त बालुवाटारबाट हिँडेपछि बालकोटको बार्दलीमा मुढोमा बसेर भक्तहरूलाई संबोधन गर्दाका बखत अथवा तरकारी केलाएको बखत अनुभूति भएकै होला, भन्नु नभन्नु बेग्लै कुरा । अथवा बल्लतल्ल ४० सिट कटाउन सकेको अवस्थाले पनि अनुभूति गराउनुपर्ने हो । अरू मान्छे पनि दूधले नुहाएका र चोखा छैनन् । बल्लतल्ल १८ सिट, राष्ट्रिय पार्टीसमेत बन्न नसकेको अवस्थाले फुट्दा कस्तो हविगत हुनेरहेछ भन्ने कुराको चेत त भयो नै होला । यी सारा कुरालाई अब नकारात्मक शिक्षाको रूपमा लिएर फेरि एकता र जुट्ने कुराको पक्षमा उभिनुपर्छ । 

वामपन्थीहरू किन मिल्नुपर्छ ? यो प्रश्नको उत्तर खोजेपछि मिल्न सजिलो होला । वामपन्थीहरू मिलेर ठूलो दल बन्ने, जनताको मत जितेर सरकार बनाउने र टालटुले होइन कि आर्थिक, सामाजिक, साँस्कृतिक, भाषिक, लैंगिक क्षेत्रमा जण्ड सुधारको काम गर्ने । तराई तथा भित्र मधेसहरूमा पूरा सिँचाइ गर्न सकिने नहरको सञ्जाल बनाउने, कृषिलाई हाम्रो विकासको मेरुदण्ड बनाउने । रोजगारी सिर्जना गर्न खेल मैदानहरू बनाउने, बाटो बनाउने, आफ्नो सामथ्र्यले सकिने किसिमको उद्योग, कलकारखाना खोल्ने, कृषि उद्योग खोल्ने आदि आदि जस्ता काम गर्न आफ्नो ल्याकत, स्रोत र अवसरको प्रयोग गर्दै मिलेर काम गर्ने ।

सिद्धान्तको समाजवाद एउटा होला तर व्यवहारमा समाजवाद भनेको– जनताले समान शिक्षा पाउने कुरा हो, बिरामी हुँदा राम्रो उपचार पाउने कुरा हो, बेरोजगार भएर भोकभोकै बाँच्न नपर्ने कुरा हो । अर्थात् शिक्षा, स्वास्थ्य र रोजगारी सबैले पाउने कुरा नै समाजवाद हो । वामपन्थीहरू मिल्ने हो भने यो सजिलोसँग हासिल गर्न सकिन्छ । र, के कुरा सत्य हो भने वामपन्थीले मात्रै यस्तो भन्छन् र व्यवहारमा त लागू नै गर्छन् । वामपन्थीले गरिब र सुकुम्वासीका गरिखाने साधन ठेला गाडी लुट्दैनन् ।

सुकुम्बासीका बस्ती उजाड्दैनन् । बरु तिनलाई काम दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउँछन् । वामपन्थी सत्तामा पुगे भने गरिब र सुकुम्बासीले रुँदै हिँड्नु पर्दैन । ऊ बेला सुकुम्बासीका बस्तीमा हात्ती चलाउँथे पञ्चहरू, आज डोजर चलाइरहेका छन् बालेनहरू । अहिले बालेनहरू किन यसरी हौसिएका छन् र गरिबका ठेला लुट्दै हिँडिरहेका छन् भन्दा वामपन्थी तागत विभाजित भई सत्ताबाट बेदखल हुन पुगी शक्ति क्षय भएको अवस्था छ । वामपन्थी एकताबद्ध भएर आउन यसकारण पनि जरुरी छ कि ऊ बलियो हुँदा मात्रै देशमा न्याय र बराबरी कायम हुन सक्छ । 

कसरी मिल्न सकिन्छ त ? पहिलो त साँस्कृतिक रूपान्तरणकै प्रश्न छ । राजा, धर्म र दलाल पुँजीपतिलाई तुलोको एकापट्टी र सिद्धान्तलाई तुलोको अर्कोपट्टी राखेर हिँड्ने हो भने मिल्न सकिन्न । एकातिर गरिब, सुकुम्वासी, शोषित, पीडित जनता र अर्कोतिर समाजवादी सिद्धान्त राखेमा मात्रै मिल्न सकिन्छ । वर्ग पक्षधरता भन्दा पनि हुन्छ यसलाई । गाली गलौजको भाषा, अरुलाई होच्याउने भाषा, घमण्ड, दम्भ अर्थात् क्षुद्रता मनमा राखेर पनि मिल्न सकिन्न । यो त्याग्नुपर्छ ।

हरेक व्यक्तिको योग्यता, क्षमता र उसले पुर्‍याएको योगदानको उच्च मूल्यांकन र सम्मान हुनुपर्छ र तदनुसारको जिम्मेवारी दिने कुरामा तल–माथि हुनुहुँदैन । पक्षपाती व्यवहारले मिल्नबाट रोक्छ । अहिले पनि केही बिग्रेको छैन भन्दा हुन्छ । वामपन्थी मिल्ने र जसपालाई साथ लिने हो भने प्रदेशबाट फेरि सत्तामा वापसी हुन सक्छ । आफ्नो अजेण्डाअनुसार काम गरेर केन्द्रीय सत्तामा जाने बाटो सजिलो बनाउन सकिन्छ । तर, यो गर्ने कसले ? सबै धक्कु लाउनमै व्यस्त र मस्त छन् । अन्त्यमा, शरीर दुब्लाउनु राम्रो हो भने राजनीतिक दल मोटाएको राम्रो हो । स्वस्थ हुनुको प्रमाण यस्तै हुन्छ । एमाले, माके र एस सबै दुब्लाएको अवस्था छ अहिले । यस्तो हुनुको कारण भनेको नेतृत्वले राम्रो खुराक दिन नसकेकाले नै हो ।

दललाई राम्रो खुराक दिन नसक्नु भनेको ठूलो असफलता हो । ओली, प्रचण्ड र माधव तीनै जना असफल हुनुभएको छ । अर्को कुरा अब जेसुकै हुँदा पनि उहाँहरू राजनीतिको अन्तिम मोडमा हुनुहुन्छ । यो नै सत्य हो । परिस्थिति, समय र उमेर सबै हिसाबले उहाँहरू राजनीतिबाट अलगिनुपर्ने कुरामा अब कुनै दुईमत छैन । अतः अहिले नै वामपन्थी सबैलाई मिलाउने र तीनैजना मिलेर प्रदेशतिर सरकार बनाउनेतिर लाग्दा उचित होला । प्रदेशबाटै जनताको पक्षमा काम गर्दै जनताको मन जित्ने तथा आउने महाधिवेशनबाट नयाँ नेतृत्व आउने परिस्थिति निर्माण गर्ने काम गर्दिने हो भने हिजो गरेका सबैखाले गल्ती कमजोरी पखालिनेछन् र इतिहासले पनि सम्झना गरिरहनेछ । होइन बालै फरर भन्ने हो भने त कुरै सक्कियो । 
 

टिप्पणीहरू