विद्यार्थीमा विदेश मोह, पाँच महिनामा ३८ हजार बढीले लिए ‘एनओसी’

विद्यार्थीमा विदेश मोह, पाँच महिनामा ३८ हजार बढीले लिए  ‘एनओसी’

पछिल्लो समय उच्च शिक्षाको लागि विदेशिने नेपाली विद्यार्थीको संख्या बढ्दो छ । स्तरीय शिक्षा र अवसर हासिल गर्नका निम्ति विद्यार्थीहरु धमाधम विदेशिरहेका छन् । माध्यमिक शिक्षा पूरा गर्नेबित्तिकै उनीहरु विदेशिने प्रक्रिया अघि बढाइहाल्छन् । 

उनीहरुप्रति विदेश लगाव देखिन थालेको छ । शिक्षा संगसंगै रोजगारीका अवसर पनि पाइने भएपछि नेपाली विद्यार्थीहरुमा ‘विदेश मोह’ देखिएको जानकारहरुको बुझाइ छ । नेपालमा पनि उच्च शिक्षाका लागि राम्राराम्रा कलेज खुलेका छन् । 

तर, सर्टिफिर्केट बोकेर मात्र पनि भएन् । रोजगारीको अवसर नहुँदा विद्यार्थीहरु विदेशिनै रुचाउँछन् । उता पढ्दै काम गर्न पाइने भएकाले युवापुस्ताले आफ्नो भविष्य विदेशमै देखेका हुन् ।

उच्चस्तरीय सेवासुविधाले गर्दा पनि विद्यार्थीहरु आकर्षित भएको बुझिन्छ । विदेशी शैक्षिक प्रमाणपत्र विश्वबजारमा बिक्नु विदेशिनुको प्रमुख कारण भएको जानकारहरुको ठम्याइ छ । 

अस्ट्रेलिया, अमेरिका, क्यानडा, जर्मनी, चीन, बंगलादेश, डेनमार्क, जापान, न्युजिल्याण्डलगायतका मुलुक नेपाली विद्यार्थीका रुचिमा पर्दछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्ला वर्ष ‘नोअबजेक्सन लेटर (एनओसी)’ लिनेको संख्या बढेको जानकारी दिएको छ । 

मन्त्रालयको एनओसी शाखाले दिएको तथ्याङ्कअनुसार गत साउनदेखि मंसिरसम्म ३८ हजार ६१ जनाले अनुमति पत्र लिएका छन् । त्यस्तै, एक हजार ५५८ जनाको एनओसी रद्द गरिएको छ । 

कुन मुलुक जान कतिले लिए एनओसी ? 

गएको पाँच महिनामा सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलिया जानका लागि एनओसी लिएको शाखाले जनाएको छ । अस्ट्रेलियाका लागि १० हजार ७९९ ले एनओसी लिएका छन् । त्यस्तै, अमेरिकाका लागि एक हजार ५५९, क्यानडाका लागि ६ हजार ५३१, जापानका लागि ६ हजार ६२५, युकेका लागि पाँच हजार ३०४ ले एनओसी लिएको तथ्याङ्कमा उल्लेख छ । 

अस्ट्रियाका लागि सात, अर्जेन्टिनाका लागि दुई, माउरिटिसका लागि चार, अलबानियाँका लागि एक, अजरबैजानका लागि एक, बहराइनका लागि १८, बंगलादेशका लागि १३३, बेल्जियमका लागि १४, चीनका लागि २७६, क्रोयटियाका लागि ४८, साइप्रसका लागि १०४, चेक रिपब्लिकाका लागि ३७ जनाले एनओसी प्राप्त गरेका छन् । 

त्यस्तै, ३८८ ले डेनमार्क, ७९ ले इजिप्ट, ११५ ले फिनल्याण्ड, ४३९ ले फ्रान्स, २६४ ले जर्मनी, ६२ ले ग्रिस, ३६ ले हंगेरी, एक हजार ९० ले भारत, तीनले इण्डोनेशिया, १३३ ले आयरल्याण्ड, ४९ ले इटाली, १७ ले कुवेत, २८ ले ल्याटभिया, चारले लब्जमबर्ग, २४ ले लिथानिया, ५० ले मलेशिया, ७९ ले माल्टाका लागि एनओसी लिएको शाखाले जनाएको छ । 

यता, नेदरल्याण्डका लागि १३, न्युजिल्याण्डका लागि ३९६, नर्वेका लागि दुई, ओमनका लागि १८, पाकिस्तानका लागि एक, फिलिपिन्सका लागि ६७, पोल्याण्डका लागि ६२, पोर्चुगलका लागि दुई, कतारका लागि २३०, गणतन्त्र कोरियाका लागि ७४४, रसियाका लागि ९७२, सिंगापुरका लागि दुई, दक्षिण अफ्रिकाका लागि २५, स्पेनका लागि २९, स्वीडेनका लागि २१ ले अनुमति पत्र पाएका छन् ।

सातले स्वीजरल्याण्ड, १९३ ले थाइल्याण्ड, आठले टर्की, ९१३ ले युएई, एकले स्वाजील्याण्डका लागि एनओसी लिएका छन् । 

कुन विषयमा विद्यार्थीको रुचि ? 

नेपाली विद्यार्थी ४१ वटा विषय अध्ययन गर्न विदेश जाने गरेको शाखाले जानकारी दिएको छ । सबैभन्दा धेरैले व्यवस्थापनमा उच्च शिक्षा हासिल गर्नका लागि शाखाबाट स्वीकृति लिएका छन् । 

व्यवस्थापनपछि बिजनेशमा विद्यार्थीको धेरै रुचि देखिएको छ । त्यस्तै, विज्ञान, सूचना प्रविधि, स्वास्थ्य, औषधि, समाजशास्त्र, मानबिकी, शिक्षा, कृषि, समाजसेवा, अर्थशास्त्र, वास्तुकला, अटोमोटिभ अध्ययनका निम्ति विद्यार्थीहरु विदेशिएका छन् । 

कम्प्युटर, फार्मेसी, अंग्रेजी, हस्पिट्यालिटी, बायोलिजी, फरेस्टी, प्लान्ट साइन्स, लाइफ साइन्स, भेटेनरीलगायतका विषय पनि विद्यार्थीको रोजाँईमा परेको छ । 

किन बढ्यो विदैशिक शिक्षाको आकर्षण ?

नेपालमा ठूल्ठूला कलेज सञ्चालनमा आएपनि विदेश जाने क्रम रोकिन सकेको छैन् । हातमा सर्टिफिर्केट भएपनि अवसर पाउन नसक्नु विदेशिनुको प्रमुख कारण हो । पढाइमा अनियमितता, रोजगारीको समस्याले गर्दा पनि विदेशिने क्रम बढेको छ । 

विश्व बजारमा बिक्न सहज हुने भएकाले पनि वैदेशिक शिक्षामा मोह ह्वात्तै बढेको हो । सरकारले स्वदेशमै विद्यार्थीलाई पढ्ने वातावरणको व्यवस्था मिलाउन नसक्दाको नतिजा विदेश मोह भएको जानकारहरुको बुझाइ छ । 

शिक्षाविद् विद्यानाथ कोइराला नेपाली विद्यार्थी विदेशिनुको कारण यहाँको पढाइको स्तर भएको बताउँछन् । विश्वविद्यालयको अवस्था, व्यवस्थापनले गर्दा उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरु विदेश जाने उनको बुझाइ छ । पढ्ने बहाना बनाएर विद्यार्थीहरु रोजगारीका लागि बाहिरिने शिक्षाविद् कोइरालाको ठम्याइ छ । 

‘पढ्ने त एउटा बहाना मात्र हो । विद्यार्थीहरु पढ्ने नाममा कमाउन जान्छन् । एक सय प्रतिशतमध्ये ३० प्रतिशत मात्र पढ्नका लागि जाने गर्दछन्’, उनले भने,‘सबैले पैसा र भौतिक सुविधा मात्र देखेका छन् । अभिभावकसमेत छोराछोरीलाई विदेश नै पठाउन चाहन्छन् ।’

मुलुकको राजनीतिक अस्थिरताले गर्दा पनि विद्यार्थीहरु बाध्य भएर बाहिरिनुपरेको उनी गुनासो गर्छन् । विश्वविद्यालय नै राजनीतिक दलदलमा फसेको उनको भनाइ छ । ‘कहिले बन्द, कहिले हड्ताल अनि विद्यार्थीले कसरी पढ्छन् ? पहिलो विषय त पढ्ने वातावरण नै छैन्’, उनले आक्रोशित हुँदै भने । साथीको लहैलहैमा लागेर पनि विदेश जाने गरेको शिक्षाविद् कोइरालाको ठम्याइ छ । 

विद्यार्थीलाई नेपालमै रोक्न कतिको सम्भव ? 

शिक्षाविद् कोइरालाकाअनुसार विद्यार्थीलाई नेपालमै रोक्नु असम्भव विषय हो । उनीहरुलाई यँही रोक्न नसकिएपनि उताबाट ज्ञान र सीप ल्याउन सकिने उनको भनाइ छ । 

‘उनीहरुलाई यहाँ रोक्नु असम्भव कुरा हो । यो नचिताएपनि हुन्छ । तर, उनीहरुको ज्ञान र सिकाइ नेपालमा प्रयोग गर्न सकियो भने धेरै परिवर्तन ल्याउन सकिन्छ’, उनले भने । 

नेपाली शिक्षा भरपर्दो हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले थपे,‘जबसम्म विद्यार्थीले पढाइमाथि विश्वास गर्न सक्दैनन् तबसम्म यो नियन्त्रणमा आउन सक्दैन् ।’ 

नियमित पठनपाठन, जाँच र समयमै नतिजा प्रकाशन यसका लागि सबैभन्दा उत्तम उपाय भएको उनको भनाइ छ ।  

कति छन् शैक्षिक परामर्श निकाय ? 

विदेश जाने विद्यार्थीको संख्या बढेसंगै शैक्षिक परामर्श निकाय पनि धमाधम खुलेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले दिएको तथ्याङ्कअनुसार उसको मातहतमा ४६६ वटा परामर्श संस्था रहेका छन् । मुलुकभर सञ्चालनमा रहेका यी संस्थाले विदेश जाने विद्यार्थीलाई परामर्श दिँदै आइरहेको इक्यानका रुद्ध रेग्मीले बताए ।

टिप्पणीहरू