महत्वाकांक्षाले मात्तिएकी प्रथम महिला

महत्वाकांक्षाले मात्तिएकी प्रथम महिला

१९६३ को सेप्टेम्बर १२ मा जैक अर्थात् ३५ औं राष्ट्रपति जोन एफ केनेडी र जैकी उर्फ प्रथम महिला जैकलिनले बिहेको १० औं वार्षिकोत्सव मनाए । उक्त अवसरमा पतिपत्नीले लामो समय शयनकक्षमा बिताए । जैकले मिश्र (हालको इजिप्ट) मा निर्मित सर्पको आकार आउनेगरी कुँदिएको चुरा उपहार दिए । यसको २ महिना १० दिनमा राष्ट्रपति केनेडीको हत्या भयो । उनी पुनर्निर्वाचनको प्रचारप्रसारमा हिँड्दा डलासको सडकमा गाडीमा सवार थिए । साथमा जैकी पनि थिइन् । ४६ वर्षीय केनेडीको हत्या २४ वर्षीय ली हार्भे ओस्वाल्डले गोली हानेर गरेका थिए । यसरी ३४ वर्षकी जैकलिन बिहेको १० वर्ष २ महिना १० दिनमै विधवा बनिन् । उनलाई सरकारले वार्षिक १० हजार डलर पेन्सन र ५० हजार डलर कार्यालय व्यवस्थापन खर्च दिने भयो । साथै निःशुल्क गुप्तचरी सेवा पनि । 

राष्ट्रपति केनेडीले सन् १९६१ मा ६ दिने युरोप भ्रमण गरेका थिए । जैकी पनि थिइन् । पेरिस एउटा कार्यक्रममा संस्कृतिमन्त्री आन्द्रे मालरोले राष्ट्रपति चाल्र्स डे गालसित खुसुक्क भनेका थिए– ‘जैकी वास्तवमै अनुपम महिला हुन् ।’ प्रत्युत्तरमा डे गालको भनाइ थियो– हेर्दै जानु आगामी १० वर्षभित्र जैकी कुनै न कुनै ग्रीसका अर्बपतिको बिलाश–पोत (पानीजहाज) मा हुनेछिन् । बूढा राष्ट्रपतिको उक्त भविष्यवाणी सत्य साबित हुन २ वर्ष पनि लागेन । जैकीकी बहिनी क्यारोलिन र ग्रीसका अर्बपति अरिस्टोटल ओनासिसबीच प्रेम सम्बन्ध थियो । उनी दोश्रो लोग्नेसँगको सम्बन्ध त्यागेर ओनासिससँग बिहे गर्ने सुरमा थिइन् । त्यो बेला नवजात शिशुको मृत्युले जैकीको मन अशान्त भइरहेको थियो । यसबीच क्यारोलिनले मन भुलाउन दिदीलाई बोलाइन् । जैकी निमन्त्रणा स्विकार्दै ग्रिस पुगिन् । त्यहाँबाट ओनासिसको निजी टापु स्कोरपियोस गइन् । ओनासिसले आफ्नो विलाश–जहाज क्रिष्टिनालाई लाखौं खर्च गरेर सिंगारे । ४० हजार डलरको त पेय पदार्थ मात्र किने । 

केनेडी प्रख्यात गायिका मारिया कालाससितको सम्बन्धको कारण बदनाम बनेका ओनासिसको पानीजहाजमा आफ्नी पत्नीले रात नबिताउन् भन्ने चाहन्थे । तर, जैकीले लोग्नेको कुरो मानिनन् र त्यहाँ रहुञ्जेल पूरै समय क्रिस्टिनामै बिताइन् । क्यारोलिन चाहन्थिन्, आफूसँग बिहे गर्न ओनासिसलाई दिदीले मनाउन् तर भइ दियो उल्टो । ओनासिस क्यारोलिनको बदला जैकीप्रति आशक्त बने । बिदाइको समय जैकीलाई लाखौं डलरको गहना दिए जबकि क्यारोलिनलाई ४–५ हजार डलरको उपहार दिएर टारे । दिदी र ओनासिसको व्यवहार देखेर क्यारोलिन खिन्न बनिन् । उनले आफ्नो भिनाजु केनेडीसँग पनि प्रेमसम्बन्ध कायम गरेकी थिइन् । उनीहरूले शारीरिक सम्बन्धसमेत राख्ने गरेको हल्ला चलेको थियो । त्यसैले जब जैकीप्रति ओनासिस आशक्त बनेको चाल पाइन्, पत्र लेखेर केनेडीलाई सोको जानकारी दिइन् । केनेडीले गर्दा जैकी र ओनासिसको यो सम्बन्धले त्यतिबेला मूर्तरूप लिन पाएन । 

 ​​​​​​​​​​​​केनेडीको हत्यापछि भने जैकी फुक्काफाल बनिन् । उनी पनि लोग्नेसरह रंगीन जीवन जिउनमा अभ्यस्त थिइन् । जोसेफ केनेडीका कूल ९ सन्तान थिए । जोसेफ जुनियर जेठो र जोन एफ केनेडी माइला छोरा थिए भने रोबर्ट उर्फ बबी सातौं र एडवार्ड उर्फ टेड नवौं पुत्र । उनका अरु ५ सन्तान छोरी थिए । दाजुभाइमध्ये बबी जोनभन्दा ८ वर्ष र टेड १५ वर्ष कान्छा थिए । जैकीप्रति तीनैजना दाजुभाइ लठ्ठ थिए । जोनकी पत्नी जैकी दुई देवरसँग पनि नजिक थिइन् । त्यसो त जैकीको प्रथम महिला हुँदै पनि ब्याले नर्तक रुडोल्फ नुरेयभसित अफेयर चलेको थियो । रुडोल्फ र बबीबीच उस्तै सम्बन्ध थियो । एकपटक दुबैजना ह्वाइटहाउसभित्रै एकापसमा म्वाइँ खाइरहेको अवस्थामा फेला परेका थिए । बबी शहरबाहिर जाँदा नुरेयभलाई पनि लान्थे । 

जैकीको बबीसितको सम्बन्ध केनेडीको हत्याको ३ दिनमै उजागर भयो । नोभेम्बर २५ मा जैकी लोग्नेको चिहानमा फूलको गुच्छा चढाउन गएकी थिइन् । साथमा बबी थिए । त्यहाँ दुबैले चिहानसामु घुँडा टेकेर प्रार्थना गरे । फर्कने क्रममा विधवा भाउजू र देवर हात समातेर गाडीमा पसेको अरुले देखे । बबी पनि रंगीन स्वभावकै थिए । उनका धेरै प्रेमिकामध्येकी एक यौनकी देवी मानिने हलिउड अभिनेत्री मर्लिन मुनरो पनि थिइन् । लेखक र इतिहासकारहरूले बबी र जैकीको सम्बन्ध पतिपत्नीकै जस्तो थियो वा थिएन दाबीका साथ भन्न सकेका छैनन् तर उनीहरू जहाँ पनि साथमा देखिन्थे, हँसी मजाक, आलिंगन, म्वाइँ साटासाट गर्थे । पूर्व राष्ट्रपतिका छोरा फ्रेन्कलिन डेलानो रुजबेल्ट जुनियरका अनुसार दुबै भर्खरका युवा जोडी जस्तो चौरमा लडिबुडी खेली बस्थे । सन् १९६४ मा बबी सिनेटर बनिसकेका थिए । एकदिन फ्लोरिडास्थित केनेडी परिवारको फार्ममा बिहान बबी कट्टु मात्र लगाएर घाँसेमैदानमा पल्टिराखेका थिए र जैकी उनको साथमा थिइन् । एकछिनपछि जैकी घुँडा टेकेर झुकिन् र बबीको ओठमा म्वाइँ खान थालिन्, बबीले पनि अँगालो हालेर जैकीलाई त्यहीं लडाए र एउटा हात स्तनमा र अर्को हात बिकिनीभित्र पु¥याए । यो दृश्य बबीकै अर्की प्रेमिका मेरी ह्यारिङ्टनले देखेकी थिइन् । उनको दाबी छ, दुवैबीच यौन सम्बन्ध छ । बबी र जैकीका साथीहरू र नातेदारहरू पनि दुबैबीच पतिपत्नीसरहकै सम्बन्ध रहेको बताउने गर्छन् । केनेडीको हत्यापश्चात् बबी भाउजूको झन नजिक हुँदै दुःख–सुखको साथी, छोराछोरीको अभिभावक, प्रेमी र सबैखाले सम्बन्ध गाँस्न थालेका थिए । सन् १९६८ को राष्ट्रपतीय निर्वाचनताका उम्मेदवारी दिन तत्कालीन राष्ट्रपति लिन्डन बी जोहन्सनले आग्रह गरे तर उनले भने’ जैकीले हुन्छ भने मात्र उठ्छु,  नभए उठ्दिनँ ।’

नभन्दै जैकीले नै राष्ट्रपतिसँग भेटेर कुराकानी गरिन् । र, बबीलाई मनाइन् । तब मात्र डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारीका लागि चुनावमा जान बबी तयार भए । जैकीले चुनावमा भरपुर सहयोग पनि गरिन् । प्रारम्भिक चुनावी अभियानकै सिलसिलामा सन् १९६८ को जुन ५ मा बबी क्यालिफोर्नियामा थिए । २४ वर्षीय प्यालेष्टिनी युवक सिरहान सिरहानले चलाएको गोली लागेर उनको मृत्यु भयो । बबीलाई गोली लागेको सूचना पाउनेबित्तिकै जैकी र उनकी पत्नी इथेल दौडेर क्यालिफोर्निया पुगे । तर, बबी उर्फ रोबर्ट केनेडीको ज्यान बचेन । मारिँदा उनी ४२ वर्षका थिए । बबी र जैकीको सम्बन्धलाई गुप्तचर विभाग सिआइएले पनि पुष्टि गरेको छ । बबीजस्तै टेड केनेडी पनि जैकीलाई प्रेम गर्थे । उनी भन्थे, ‘म जैकीलाई सधैं प्रेम गर्थें, शुरुदेखि नै । दाजु जैकको मृत्युपछि उनी बबीसँग नजिकिएको मलाई थाहा छ । तैपनि, मैले उनलाई मन पराउन छाडिन् । मलाई यो पनि थाहा थियो कि उनी सधैंको निम्ति बबीको हुनै सक्दिनन् ।’

जैकीको देवरहरू बबी र टेडसँग मात्र होइन हलिउडका अभिनेता वारेन बेट्टी, पिटर लफोर्ड, पाउल न्युमैन, ग्रिगोरी पेक, फ्रान्क सिनात्रा, विलियम होल्डेन र मार्लोन ब्राण्डोसँग पनि अफेयर थियो । मार्लोन ब्राण्डोले आफ्नो संस्मरणमा लेखेका छन्’ जैकी मसँग नाच्न रुचाउँछिन् । आफ्नो तिघ्रा मसित टाँस्न ल्याउँछिन् । हामी जोशिलो भएर सोफामा खेल्छौं । जब हिँड्न खोज्छु मसित प्रश्न गर्छिन् – के तिमी मसित रात बिताउन चाहँदैनौ ?’ जैकीका लेखक साथी गोर भिडाल पनि भन्छन्, ‘जैकी सेक्स अति मन पराउँथिन् ।’

 ​​​​​​​​​​​​​​​​​​​रोबर्टको मृत्युपछि जैकीले आफूलाई अत्यन्त एक्लो महसुस् गरिन् । अन्तिम संस्कार सकेलगत्तै पुरानो प्रेमी ग्रिक अर्बपति ओनासिसलाई फोन गरेर भनिन्, ‘तिमी आफ्नी छोरी कृष्टिनालाई लिएर एक हप्ता मसँग बिताउन मेरी आमाको घरमा आइपुग । ओनासिसले नाइँनास्ती गरेनन् । अमेरिका पुगे । सँगै बसे, घुमे । र, बबीको हत्या भएको ४ महिनापछि नै उनीहरूले बिहे गरे, ग्रीसकै स्कोर्पियोस टापुमा । सन् १९६८ मा जैकी ३९ की थिइन् भने ओनासिस ६२ का । ओनासिसको पनि यो दोश्रो बिहे थियो । अर्बपति ओनासिसको अर्बपति पत्नी बन्न पाउँदा जैकी दंग थिइन् । तर, ओनासिसको मृत्यु ६९ वर्षको उमेरमा सन् १९७५ मा भयो । लोग्नेको मृत्यु हुँदा जैकी साथमा थिइनन् । लोग्नेको मृत्युपश्चात् सम्पत्तिका लागि बबाल मच्चाइन् । अन्त्यमा, ओनासिसकी छोरीले २ करोड ६० लाख डलर दिएर पिछा छुडाइन् । मृत्युपूर्व नै ओनासिस र जैकीबीच मनमुटाव शुरु भइसकेको थियो । दोश्रो लोग्नेको मृत्युपछि जैकी स्वदेश फर्किन् । र, भाइकिङ प्रेसको सल्लाहकार सम्पादक बनिन् । फेरि उमेरमा कान्छो पिट हामिल्टनसँग प्रेम गरिन् । उनीपछि पनि बेल्जियमका करोडपति मौरिस टैम्पलसनलगायत अन्य पुरुषसँग प्रेम गर्दै गइन् । उनले इञ्जिनियर जैक वार्नेक, जोन केनेडीका मित्र तथा बेलायती राजदूत डाभिड गोरसित पनि प्रेम गरेकी थिइन् । पुरुष साथीबिना बाँच्नै नसक्ने जैकीको मृत्यु क्यान्सरबाट सन् १९९४ मा हुँदा ६४ वर्षकी थिइन् ।

 

टिप्पणीहरू