एक वर्षमा कति नक्कली नोटसहित को–को पक्राउ ?

एक वर्षमा कति नक्कली नोटसहित को–को पक्राउ ?

नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जलेश्वर नगरपालिका–३ मालिबाडको घुम्ती पसलमा साँट्न खोज्दा ११ हजार नक्कली नोटसहित रमन कुमार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका उपरीक्षक (एसपी) कृष्ण पङ्गेनीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । 

पछिल्लो समय नेपालमा नक्कली नोटसहित धेरै भारतीय नागरिक पक्राउ परेका छन् । तर यी नक्कली नोट कहाँबाट आउँछ र कतातिर जान्छ भनेर प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यसअघि पनि सशस्त्र प्रहरी बल नेपालको सरमुझावा बीओपी टोलीले भारतको गोरखपुर निवासी २३ वर्षीय सन्जय सक्सेनालाई पक्राउ गरेको थियो । 

उनको साथबाट एक हजारका नेपाली नोट ५० थान,दुई हजार २३ थान भारतीय नोट र पाँच सयका १० थान नोट बरामद गरिएको प्रहरीले जनाएको थियो । उक्त घटना सेलाउन नपाउँदै नेपाली नक्कली रुपैँयासहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । 

बाराको सिम्रौनगढ नगरपालिका– ५ कनकपुरबाट भारतको मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखियालाई पनि यसरी नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो । नेपाल प्रहरीको तथ्यांकअनुसार आ.व. २०७८/०७९ मा नक्कली  ३ लाख ७८ हजार ९३० सहित भारतीय नागरिक पक्राउ परेका छन् ।                                                                                                                   

त्यस्तै,२६ हजार  डलर र २८ हजार २ सय भारुसहित भारतीय नागरिक पक्राउ परेको जनाइएको छ ।  ३७ लाख ८१ हजार ६३० को नक्कलीसहित नेपाली नागरिक पक्राउ परेका छन् । 

यसरी समातिने स्वदेशी पुरुषको संख्या ७० रहेको छ भने महिला ९ जना पक्राउ परेका छन् । त्यस्तै,यस्ता मुद्रा ओसार्ने विदेशी पुरुषको संख्या १५ रहेको छ ।

टिप्पणीहरू