चरण चुम्बन गरी गरी सिद्धिन तयार हो र साथी !

चरण चुम्बन गरी गरी सिद्धिन तयार हो र साथी !

सोभियत संघ टुक्रा–टुक्रा भएर पन्ध्र वटा राज्य बन्यो । पूर्वी युरोपबाट सबै समाजवादी शासनप्रणाली समाप्त भयो । आज त्यहाँ कम्युनिष्ट समर्थकसमेत पाउन मुश्किल छ । साम्राज्यवादविरुद्ध लडाइँ लडेर अथवा राष्ट्रिय मुक्ति आन्दोलनजस्तो लामो आन्दोलन गरेर जनताले सोभियत संघलाई धराशायी बनाएका थिएनन् । प्रजातान्त्रिक आन्दोलनमार्फत समाजवादी व्यवस्था फालिएको थिएन । यो सबै मिलिक्क गर्दा घटेको घटना थियोे । भारतमै पनि असीको दशकसम्म वामपन्थको उपस्थिति एउटा शक्तिकै रूपमा थियो । तर, आज त्यहाँ पनि वामपन्थी लगभग नभएकै अवस्थामा पुगेका छन् । सोभियत संघ समाप्त होला, पूर्वी युरोपमा समाजवादी व्यवस्था धराशायी बन्ला भनेर कसैले कल्पनासम्म पनि गरेको थिएन तर भयो ।

अर्कोतर्फ गुजरातबाट बाहिर निस्किन गाह्रो पर्ने ठानिएका नरेन्द्र मोदी तथा अमेरिकाजस्तो भाइब्रेन्ट डेमोक्रेसी भएको मुलुकमा डोनाल्ड ट्रम्पजस्तो मानिसलाई जनताले चुनावमा जिताएर पठाउनेछन् भनेर पनि धेरैले सोचेका थिएनन् । तर, उनैलाई जनताले मन पराएर मत हाले र जिताए । नरेन्द्र मोदी त अहिले पनि सत्तामै छन् । यस्तो किन हुन्छ भनेर नेपालका वामपन्थीहरूले, लोकतान्त्रिक दल भन्न रुचाउने कांग्रेसले समेत बुझ्न प्रयास गरिरहेको देखिन्न । अहिलेकै हाम्रो चुनावमा रास्वपाले किन यसरी मत पायो भनेर पनि ठूला दलले समीक्षा गरेको देखिन्न । बरु केसम्मचाहिँ भन्न भ्याएका छन् भने रास्वपा उठेर भोट काटेकोले हाम्रो सिट घट्न गएको हो नत्र कांग्रेसलाई जित्ने थियौं । यस्तो बचकाना निश्कर्ष निकाल्ने दलहरूको अब नेपालमा पनि भविष्य राम्रो देखिन्न किनभने यी दलहरू आफूले लिएको आदर्श, लक्ष्य, सिद्धान्त र विचारबाट च्यूत भएका कारण यस्तो निश्कर्ष निकालिरहेका छन् ।

दलहरू नैतिकता, इमानदारीबाट पर पुगेका छन् । यिनीहरूले जनतालाई टेकन फर ग्रान्टेडको रूपमा लिएका छन् । महाकाली पास गरे ठीक, एमसिसि पास गरे ठीक, ओम्नी यति काण्ड गरे पनि ठीक, वाइडबडी काण्ड गरे पनि ठीक, संसद भंग गरे पनि ठीक, संसद अवरुद्ध गरे र खोले पनि ठीक, लाउडा र चेज काण्ड गर्दासमेत ठीकै अर्थात् जे गरे पनि तिनै ठीक । के देशका जनता यी दलका नेता तथा कार्यकर्ताभन्दा कम चेतनशील छन् ? कम पढे–लेखेका छन् ? राजनीति, अर्थशास्त्र, साहित्य, संस्कृति कम बुझेका छन् ? भ्रष्टाचार, पारदर्शिता, सुशासन,  जिम्मेवारी भनेको नबुझ्ने छन् ? छैनन् । जनता धेरै अगाडि छन्, धेरै बुझेका छन् यी राजनीतिका झोला बोकेर नकमाएको धनमा पालिनेहरू भन्दा । 

आज एमाले मात्रै होइन, सिंगो वामपन्थीको भोट किन घट्दो छ ? कसैले बुझ्न प्रयत्न गरेको छैन । किनभने सबै घरमा कलेज र युनिभर्सिटी पढ्ने युवा छन् । प्राविधिक विषय पैसा खुवाउन नसकेको कारणले पढ्न नपाएको,  नागरिकता बनाउन घुस ख्वाउन परेको,  सिफारिस लिन चिया–नास्ता खुवाउन परेको, मालपोतमा, नापीमा घुस दिन परेको कारणले आजित भएको पुस्ता हरेक घरमा छ । घरको बूढो पुस्तालाई सम्झाउन सक्ने, किन भन्दा बुझाउन सक्ने यो कुशासनबाट आजित भएको युवा पुस्ता समाजमा उपस्थित छ । रास्वपाप्रतिको यो लहर पुरातनवादी (वामपन्थी तथा कांग्रेस दुवै नै) दलहरूले प्रदर्शन गरेको आफूले जे गरे पनि जनताले मान्छन् भन्ने कुराको प्रतिरोध हो । यो यथार्थलाई आत्मसात् गरिएन र आफूले वाचा कबुल गरेअनुसार गरिएन भने मोदी÷ ट्रम्प प्रवृत्तिले सबैलाई बढार्ने कुरामा दुई मत छैन । सिद्धिन तयार भएर बसे हुन्छ । 

राजनीतिक पार्टीभित्र कुनै पनि विषयमा सहमति÷असहमति अर्थात् फरक विचार आउँछन् नै ! नेतृत्वले लादेको विचार सधैँ  सही नै हुन्छ भन्ने हुन्न । ऊ दिव्य ज्ञान भएको मानिस त होइन । एमालेको आकार मतको हिसाबले घट्यो र जितको हिसाबले पनि घट्यो । किन घट्यो भन्ने कुराको राम्रो ज्ञान कार्यकर्ता र जनतामा छ । तर, नेतृत्वमा रहेकाहरूलाई भने नभएको देखिन्छ । के यो चुनावमा नेतृत्वसँग असहमति राखेर पार्टी परित्याग नगरी स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेकाहरू गद्दार हुन् ? के तिनले प्रतिगामी शक्तिहरूलाई सघाए ? ती स्वतन्त्र उठ्नेहरू भन्दा बढी नजिकका मित्र कमल थापा, एकनाथ ढकाल हुन् ? आज एमालेले जुन पाँडे पजनी गरेको छ, के त्यो पार्टीको हितमा छ ? सिला खोज्दै, पार्टी प्रवेश गराउँदै हिँड्नेहरूले आफ्नै दलका असन्तुष्टहरूलाई कुनै प्रश्न नगरिकन, सफाइ दिने मौका नदिइकन यसरी गलहत्याएर निकाल्नु ठीक हो ?

पार्टी नै फोरेर जानेहरूलाई भने खोजीखोजी भिœयाउन लागिपर्ने, बोली बाराबारको समय सकियो, मिलेर अघि बढौँ भन्दै मनाउन घरघर चाहार्दै हिँड्ने तर पार्टीभित्रै रहेर नेतृत्वको निर्णयको अवज्ञा गरेको एउटा मात्र घटनामा पनि पार्टीबाट निकाल्नेसम्मको कारबाही गर्ने कुरा युक्तिसंगत देखिन्न । पार्टी छाडेको घोषणा गरेर निस्केका घनश्याम भुसाललाई कारबाही गरेर निकालें भन्नुको के अर्थ छ ? स्वतन्त्र उठेर जितेका पनि त छन् । गलत उम्मेदवार तोक्नेलाई कारबाही हुने कि नहुने त उसोभए ? आफ्ना जतिसुकै ठूला कमजोरी मात्रै होइन, गल्ती नै भए पनि ठीक हुने अर्थात् आफूले पादे पनि बसाउने तर अरुको सास पनि गन्हाउने,  अरुको एउटा कमजोरी पनि कारबाहीको भागिदार बन्नुपर्ने? यो न्यायपूर्ण छैन । अहिले बाहिरकालाई अँगालो हाल्ने र भित्रकालाई लघार्ने जुन काम भइरहेको छ त्यसले पार्टीलाई थप संकुचनमा लैजान्छ । यो कुरा कसले बुझाइदिने?

अन्त्यमा, कमी–कमजोरीको समीक्षा नगरी र तद्नुसारको जिम्मेवारी नलिई यसैगरी अघि बढ्ने हो भने यो दल दलदलमा फस्दै जानेमा शंका छैन । अब चितवन प्रवृत्तिविरुद्ध हुंकार भर्ने समय हो पार्टीभित्र । सरकारबाट गलहत्तिनुमा र चुनाव जितेर सरकारमा जानबाट रोकिनुमा मूल जिम्मेवार को हो, त्यसको पहिचान गरी त्यस्तालाई नेतृत्वबाट ओराल्ने काम गर्नु नै एमालेलाई सही बाटोमा ल्याउने कामको पहिलो थालनी हुनेछ । के चितवनमा माथ खाएका वा गण्डकीतिर प्रदेश सभाको टिकट नपाएकाहरूले हिम्मत देखाउलान् ? कि घोसेमुण्टो लगाएर चरण चुम्बन गरिरहलान् ? हेर्न बाँकी छ ।
 

टिप्पणीहरू