स्वास्थ्यमा राजनीति,जनताद्वारा खोजीनीति

स्वास्थ्यमा राजनीति,जनताद्वारा खोजीनीति

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ का स्थानीयले पालिका कार्यालय घेराउ र तालाबन्दी गरेका छन् । एम्बुलेन्स चालक नियुक्तिमा पालिका नेतृत्वले बदमासी गरेको भन्दै आक्रोशित स्थानीयले पालिका कार्यालयमा ताला लगाएका हुन् ।

पालिकाले आफ्ना मान्छे नियुक्त गर्न ६ महिनादेखि एम्बुलेन्स चालक नराखेर अन्याय गरेको स्थानीयको आरोप छ । हिजो राती इन्द्रावती-५ सूर्यकोट निवासी ६८ बर्षीय चन्द्रकुमारी भुजेलले आफ्नै जेठो छोरो रमेश भुजेललाई ज्यान लिने गरी शरिरका दर्जनौं ठाउँमा खुकुरी हानेर हत्या प्रयास गरेको तर एम्बुलेन्स चालक नभएकै कारण घाइतेलाई अस्पताल लैजान नसकेपछि आक्रोशित स्थानीयले पालिकामा ताला लगाएका हुन् । 

गाउँपालिकामा रहेको एम्बुलेन्सलाई थन्काएर राखिएको र चालक नियुक्त नगरिएको स्थानीयवासीहरुको दुखेसो छ । पालिकामा रहेको एम्बुलेन्स त्यसै थन्क्याएर गाउँपालिका अध्यक्षले स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलवाड गरेको स्थानीय सुवाषले बताए । 

पालिकाको नेतृत्व परिवर्तनपछि आफ्नो पार्टीका मान्छेलाई कर्मचारी नियुक्त गर्न महिनौँसम्म प्रक्रिया रोकेको स्थानीयको आरोप छ । हालसम्म राम्रो एम्बुलेन्स चालक नियुक्त गर्न नसकेको भन्दै सूर्यकोटबासीले पालिका अध्यक्षको राजीनामा समेत माग गर्दै कार्यालय घेराउ गरेको बताइएको छ ।

यसबारे प्रतिक्रिया लिन खोज्दा पालिका उपाध्यक्ष सोभाना तामाङ अध्यक्षसँग कुरा गर्नु भन्दै पन्छिइन् । तर,अध्यक्ष भने पटक-पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

 

टिप्पणीहरू