सरकारले धान नकिनेपछि किसानहरु आन्दोलनमा

सरकारले धान नकिनेपछि किसानहरु आन्दोलनमा

सरकारी निकायले धान खरिद प्रक्रिया अघि नबढाउँदा आफूहरु मर्कामा परेको भन्दै किसानहरुले आन्दोलन घोषणा गरेका छन् । काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा बसेको अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

किसानहरुको समस्याहरुलाई सशक्त रुपमा उठान गर्दै सरकारलाई जवाफदेही बनाउन र दबाब सिर्जना गर्न चरणबद्ध आन्दोलन गर्न लागेको महासंघले बताएको छ । केही बेरअघिबाट शुरु भएको ‘आन्दोलन घोषणा कार्यक्रम’ मा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगाल, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सना, प्रचार तथा प्रशारण विभाग प्रमुख सरिता भुसाललगायत दुई दर्जनको उपस्थिति छ । 

उनीहरुले तत्काल धान खरिद प्रक्रिया अगाडि नबढाएमा संघर्षमा उत्रिने चेतावनी दिएका छन् । त्यस्तै, हिँउदे खेतीका लागि आवश्यक मलको व्यवस्था गर्न पनि माग गरिएको छ । गत कात्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थित मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ र मध्यम धानको तीन हजार १२६ रुपैयाँ निर्धारण गरेको थियो । तर, सरकारी निकायले खरिदमा चासो नदेखाउँदा किसानले सस्तो मूल्यमा धान बेच्नुपरेको महासंघको गुनासो छ । 

महासंघले आज विज्ञप्ति जारी गर्दै सम्पूर्ण उत्पादित धान व्यापारीको हातमा पुग्न लागिसकेको समेत बताएको छ । ‘धानबाली भित्राउने समय शुरु हुनासाथ धान खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यापारी कहाँ पुग्न लाग्दासम्म धान खरिद गर्ने सरकारको निकाय मुकदर्शक बनेर बस्नु विडम्बना हो’, विज्ञप्तिमा भनिएको छ ।

महासंघले किसानको समस्या तत्काल समाधान गर्न माग गरेको छ । अन्यथा मुलुकभरका किसान परिचालन गरेर कडा संघर्षमा जाने चेतावनी दिएको छ । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने, आगामी मंसिर २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा धर्ना र तालाबन्दी गर्ने, शाखा कार्यालय तथा डिपोहरुमा मंसिर २५ गते धर्ना दिने र तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । 

यता, देशभर विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, र्याली तथा सभाहरु आयोजना गर्ने र निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया शुरु नगरिएमा दोस्रो चरणका संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको छ ।

टिप्पणीहरू