पुर्चौडीका मेयरद्वारा डोजर उद्घाटन

पुर्चौडीका मेयरद्वारा डोजर उद्घाटन

बैतडीको पुर्चौंडी नगरपालिकाका मेयर दीपक बमले गत स्थानीय तह निर्वाचनमा मेयर पद जितेपछि पालिकाको डेढ करोड बजेट खर्च गरेर डोजर र ट्याक्टर किनी सोमबार आफैँले उद्घाटन गरेका छन् ।

आइतबार तामझामसहित डोजर उद्घाटन गर्न पुगेका बमले अन्य पालिकाको सिको गर्दै विकासको मूल फुटाउने नाममा डोजर भिœयाएका हुन् । ‘नगरपालिकाले सर्वसाधारण जनतालाई अस्पताल जान एम्बुलेन्स सञ्चालन गर्न सकेको छैन,’ उद्घाटन समारोह हेरिरहेका एक स्थानीयले भने, ‘गाउँमा खानेपानी र सिञ्चाइ छैन । राम्रो शिक्षा छैन । अस्पताल छैन । बाटो बनाउने काम त ठेकेदारले गरिहाल्छ नि ! डोजर किन्ने पैसाले एम्बुलेन्स चलाएको भए हुने थियो ।’

डोजर उद्घाटनमा उपप्रमुख मीना धानुक, बजेट निकासा गर्ने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली र ताली बजाउन वडाध्यक्ष र कर्मचारीसमेत सहभागी भएको प्रत्यक्षदर्शीको भनाइ छ । पुर्चौंडी नगरपालिकाको केन्द्र हाटदेखि सुदूरपश्चिमको तराई महेन्द्रनगरसम्म नियमित बस सेवा सञ्चालनमा छ । कच्ची सडक पिच गर्न प्रदेश सरकारले ठेक्का सम्झौता गरेर काम अघि बढाइरहेका बेला मेयरले राज्य कोषको करोडौं खर्च गरेर डोजर किनेको विषयमा स्थानीय रुष्ट भएका छन् ।

 बैतडीका १० स्थानीय तहमध्ये प्रायः सबैले आफ्नै डोजर किनेर सडक खन्ने काम गरेका छन्् तर पर्यावरण अध्ययन र सडक मापदण्डविपरीत निर्मित सडकमा गाडी भने चल्दैनन् ।
 

टिप्पणीहरू