त्रिशंकु सरकारै चाहिएको हो त ?

त्रिशंकु सरकारै चाहिएको हो त ?

स्वतन्त्रहरूका नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले प्रत्यक्ष र समानुपातिक गरी यसपटक ठूलै संख्यामा भोट पाएपछि चर्चा शुरु भएको छ –के नेपालमा केजरीवाल जन्मिँदै छन् वा त्रिशंकु सरकार खोजिँदै छ ? अर्थात् अलिकति राजनीतिक दललाई दनक दिन सक्ने, अलिकति भोटरलाई लोभ्याउन सक्ने र अलिकति भए पनि परिवर्तनका कुरा गर्न सक्ने व्यक्ति जनतालाई चाहिएको छ ।

लामो समयदेखि उही ढर्राको शासन व्यवस्था, उही खाले आश्वासन, उहीखाले भाषण र उहीखाले अनुहारले मानिसलाई दिक्दार बनाएको छ । त्यसैले त जनता ¥यापरहरू मात्रै होइन, नेतालाई गाली गर्न सक्ने व्यक्तिलाईसमेत अघि सार्न तयार भएका छन् ।

स्वतन्त्रहरूले भटाभट जितेको देखेर यसपाली सर्वसाधारणले दलहरूलाई देखाइयो भन्न थालेका छन् । गणतन्त्र आइसक्दा पनि राजनीतिक दलले आफूलाई भेडाबाख्रा बनाएको परिणामस्वरूप जनताले यसपटक एकखालको रिस सा“धेका छन् ।

तर २०५२ सालदेखि २०५८ सालसम्म देखिएको संसदीय विकृति र विसंगति भोग्ने र देख्नेहरूका लागि भने के पो देख्नु र ब्यहोर्नुपर्ने हो भन्ने लाग्न थालेको छ । अब कुनै दलप्रति कुनै खालको उत्तरदायित्व नभएका, कनै विधान, सिद्धान्तसमेत नभएका व्यक्तिले कुन ढंगले चलाउने हुन् भन्ने पनि यदाकदा सुनिन थालेको छ ।

दलहरू भ्रष्ट भएकोमा विवाद छैन, दलहरू अनुत्तरदायी भएकोमा पनि विवाद छैन तर के अब केही संख्यामा नया“ अनुहार पुग्दैमा नेपाल स्वर्ग बन्ला त ? अर्थात् नेपालमा जति पनि समस्या छन् तिनको समाधानमा साना राजनीतिक दल वा स्वतन्त्रका नाममा चुनिएका व्यक्तिले जादुको छडी लगाउलान् त ? यो प्रश्न गम्भीर रूपमा देखा परेको छ ।

एकताका संसदमा खोभारी राय, विशेन्द्र पासवान, अनिस अन्सारी र मिर्जा दिलसाद बेगहरूको ठूलै चर्चा हुने गथ्र्यो । उनीहरू संसदीय व्यवस्थामा एकखालको ताण्डवनृत्य गर्न र संसदीय व्यवस्थालाई जनताका सामुन्ने बद्नाम बनाउनमा काफी थिए । राजनीतिक दलहरू अनुत्तरदायी भए भनेर जनताले यसपटक नया“ अनुहार त छानेका छन्, तर के तिनले देशलाई चौपट्टै विकास गरिहाल्लान् वा जादूको छडी घुमाउलान् ?

अब ती कसरी संसदमा प्रस्तुत हुने हुन भन्ने गहिरो चिन्ता संसदको त्यो अवधि भोग्नेहरूमा लाग्न थालेको छ । वास्तवमा जो पहिल्यै विवादित छ, महिलाहरूको विषयमा होस् वा राष्ट्रियताको विषयमा नै किन नहोस्– पहिले उसले आफ्नो यथार्थ कुरासम्म पनि जनतालाई सार्वजनिक गर्न नसक्ने, सम्बन्धित निकायमा पहिल्यै जानकारी नगराउनेजस्ता निकै गम्भीर विषय हुन् ।

यी र यस्ता विषय स्पष्ट नभएसम्म कुनै पनि व्यक्तिलाई सयका सय प्रतिशत विश्वास गरिहाल्न सकिँदैन । कुनै व्यक्ति स्वतन्त्र हो कि वा कुनै दलको सदस्यका आधारमा निर्वाचनमा विजयी भयो भन्ने विषय ठूलो होइन, कुनै व्यक्ति कति विवादित छ भन्ने नै महत्वपूर्ण सवाल हो । र, अहम् सवाल त यो हो कि कुनै व्यक्तिले संसदमा पुगेर के योगदान गर्ला ?

समयक्रममा यसपटक स्वतन्त्रहरूले निर्वाचन जितेतापनि अब संसदीय अभ्यासमा उनीहरूकोसमेत गणितीय महत्व हुने र कुनै दलसँगको सहकार्यमा सरकारमा बस्नु वा प्रतिपक्षको भूमिका निर्वाह गर्नुको विकल्प छैन । संसदको उपस्थिति भनेकै सरकारमा बस्नु वा प्रतिपक्षीको भूमिका निर्वाह गर्नु हो । तर के स्वतन्त्रहरूले यो भूमिकाभन्दा बाहिर रहेर अर्काे कुनै भूमिका निर्वाह गर्लान् त ? आजका दिनमा पनि त्रिशंकु सरकार नै हामीलाई जुरेको रहेछ । तर कस्तो भूमिका अबका दिनमा होला ? हेर्दै जानु छ ।
 

टिप्पणीहरू