म्यान्मारका पत्रकारलाई १५ बर्ष कैद

म्यान्मारका पत्रकारलाई १५ बर्ष कैद

म्यान्मारका स्वतन्त्र पत्रकार म्यो सान सोलाई एउटा सैन्य अदालतले दुई वटा आतंकवादी मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ।

बिहीबार सजाय सुनाएलगत्तै उनलाई प्यापोनबाट पाथेन कारागारमा सारिएको उनको परिवारिक स्राेतले जनाएको छ । प्यापोन जेलमा १० वर्ष वा सोभन्दा कम सजाय पाएका कैदीहरूलाई मात्रै राखिन्छ ।

म्यो सान सोलाई काउन्टर टेरोरिज्म एक्टको धारा ५० (जे) अन्तर्गत १० वर्ष र धारा ५२ (ए) अन्तर्गत ५ वर्षको सजाय सुनाइएको आरएफएले उल्लेख गरेकाे छ।

उनी म्यान्मारकाे सैन्य 'कू'विरोधी स्वतन्त्र पत्रकार हुन् । स्वतन्त्रता र प्रजातन्त्रकाे पक्षमा वकालत गर्छन् । उनीमाथि सैन्य आतंक र डरबाट जाेगिनका लागि भागेका कैयाैँ युवाहरूलाई मद्दत गरेकाे र पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) सदस्यहरूसँग सम्पर्क बढाएकाे आराेपसमेत छन।

सेनाविरूद्धकाे आन्दोलनमा भाग लिएकाे आरोपमा पत्रकार म्यो सान सोलाई सन् २०२२ अक्टोबर २९ मा पक्राउ गरिएको पहिचान नखुलाउने शर्तमा परिवारका एक सदस्यले बताएका छन्।

सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेपछि सैन्य जुन्ताले प्रतिबन्ध लगाई बन्द गरेका म्यान्माली सञ्चार संस्था द अय्यारवाड्डी टाइम्स,बिएनआइ र डेल्टा समाचार एजेन्सीका लागि उनले स्वतन्त्र पत्रकारको रुपमा काम गर्थे ।

म्यान्मारकाे एउटा तथ्यांकअनुसार सैन्य 'कू'पछिको २२ महिनामा देशभर १४३ पत्रकार पक्राउ परेका छन् भने ४७ जना अझै जेलमा छन् ।

टिप्पणीहरू