सेनापति बन्ने सपनामा संकट

सेनापति बन्ने सपनामा संकट

नेपाली सेनाभित्र स्टाफ कलेज गरेर मात्र पुग्दैन, विदेशको एनडिसी (नेशनल डिफेन्स कोर्स) मा जान सकिएन भने १ तारेबाट उक्लने सम्भावनै रहन्न । यस पटक यही कोर्सका निम्ति प्रधानसेनापतिको सचिवालयका गौरव गुरुङ र सुवर्ण बिष्ट छनोट भएका छन् । यिनले भारत गएर तालिम लिन थाल्नुअगावै वैकल्पिक उम्मेदवार सहायक रथी मधुकर कार्कीले गतहप्ता आपूmलाई अन्याय गरेको भन्दै जंगीअड्डाविरुद्ध अदालतबाट स्टेअर्डर ल्याएपछि यो प्रक्रियामा अवरोध आइलागेको छ । 

विभिन्न देशबाट आएको कोटाका आधारमा यस्तो तालिममा सैनिक अधिकृतहरू छनोट गरी पठाउने गरिएको छ । एनडिसी कोर्सकै लागि यसअघि अमेरिकामा रोजप्रताप राणा, पुरन घले र बेलायतमा राजाराम बस्नेत गइसकेका छन् । अगष्टमा चीन र पाकिस्तान एनडिसीका लागि जान उम्मेदवार छानिइसकेकाले भारतमा मात्रै जान बाँकी थिए ।

सैनिकभित्रका कतिपय मुद्दामा अदालतबाट स्टेअर्डर ल्याए पनि कार्यान्वयन भएको भने खासै देखिँदैन । जर्नेल प्रदीपप्रताप बम मल्ल, प्रेमप्रकाश थापा मगर, नेपाल तारा पाएका २६ बेसिकका सम्पत अर्याल र रमेश थापालगायत नौ जनाको अदालती आदेश पनि फासफुस भएको छ । कार्की एनडिसी कोर्स गर्नबाट वञ्चित हुँदाको फाइदा अनुपजंग थापाले पाउने सम्भावना छ ।

शुरुदेखि नै फास्ट ट्र्याकबाट चिफ हुने लाइन खोज्दा मधुकर पछाडि धकेलिएको बताइन्छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीसँग मिलेर दूतावास खरिदमा देखाएको चलखेल र एनसेलको लफडासम्बन्धी कागजातमा जंगीअड्डाको जानकारीबेगर हस्ताक्षर गरेकाले नसिहतस्वरूप एनडिसीको अवसरबाट वञ्चित गरिएको दाबी स्रोतले गरेको छ । कूटनीतिक पोर्टफोलियोमा दूतावासका सैनिक अधिकृत (सहचारी)ले हस्ताक्षर गर्न नमिल्ने व्यवस्था एकातिर छ । यी दुवै काण्डमा संसदको लेखा समितिले छानबिन गरेर सैनिक नेतृत्वको हुर्मत लिन खोजेको थियो । यसअघि सामान्यभन्दा सामान्य गल्तीमा पनि बाबुराम श्रेष्ठ र सुरेश बानियाँलाई पुरानो कानुन लगाएर पदोन्नति हुनबाट वञ्चित गरिएको नजिर छ । 

पूर्वप्रधानसेनापति गौरवसमशेर जबराले एकैचोटि उकासेर मधुकरलाई अघि ल्याएका थिए । उनी गौरवका ‘साइकल इन्स्ट्रक्चर’ र पूर्व दुईतारे जर्नेल धरणीधर कार्कीका छोरा हुन् । दरबार हत्याकाण्डको बेला मधुकर तत्कालीन अधिराजकुमार निराजनविक्रम शाहका अंगरक्षक थिए भने दाइ राजु स्वर्गीय युवराज दीपेन्द्रका अंगरक्षक थिए । दरबार हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत सबैजसो सैनिक अधिकृत बर्खास्त भए पनि कार्की भने राजा ज्ञानेन्द्र शाहको अंगरक्षक भएर विदेश तालिममा जान सफल भएका थिए ।
 

टिप्पणीहरू