आफ्नै भाइमाथि हमला गरेर घरमा हतियार लुकाइयो

आफ्नै भाइलाई मार्न प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ बस्ने नवीनकुमार नाल्बो यसरी समातिएका हुन् । प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको टोलीले उनलाई विभिन्न हातहतियारसहित नियन्त्रणमा लिएको छ । 

नवीनमाथि भाइ शुक्रराज नाल्बोलाई गोली प्रहार गरी हत्या गर्न खोजेको आरोप लागेको थियो । उक्त आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान अघि बढायो । उनीसंग जोडिएका अपराधसंग सम्बन्धित प्रमाण संकलन गर्ने क्रममा प्रहरीले विभिन्न हातहतियार फेला पारेको छ । 

प्रहरीले घर खानतलासी गर्दा एक थान भरुवा बन्दुक,६ वटा भरुवा बन्दुकमा लोड गर्न प्रयोग हुने गोली,प्लाष्टिकको पोकामा राखिएको बारुदको कालो धुलो, एक थान गन पाउडर भेटेको छ । त्यस्तै, एक थान फलाम काट्न प्रयोग हुने औजार, एक थान दापसहितको खुकुरी,एक थान बन्दुकको बटजस्तो देखिने काठको वस्तु र दुई थान रडको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको छ । 

उनीमाथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने तयारी भइरहेको छ ।

टिप्पणीहरू