जितेको कि हारेको,पार्टी कार्यालय किन सुनसान पारेको ?

जितेको कि हारेको,पार्टी कार्यालय  किन सुनसान पारेको ?

आइतबार सम्पन्न मतदानको मतपरिणाम आउँदै गर्दा मुलुकभर बेग्लै रौनक छाएको छ । अधिकांश निर्वाचन क्षेत्रमा मतपेटिकाहरु खुलिरहेका छन् । तर, आमनिर्वाचनको मत परिणामले ठूला दलहरु खुशी नभएको विभिन्न संकेत पाइएको छ ।

नेपाली काँग्रेस,नेकपा एमाले, माओवादी केन्द्र,जनता समाजवादी पार्टी खासै उत्साहित देखिएका छैनन् । काठमाडौँसहित कतिपय जिल्लामा रोचक चुनावी भिडन्तका परिणाम आइरहेका छन् । तर राजनीतिक संघर्षबाट स्थापित कैयौँ नेता भटाभट हारिरहेका छन् । 

नयाँ अनुहार विजयी घोषित भइरहेका छन् । मत परिणामबाट शीर्ष नेताहरू मात्रै होइन कार्यकर्ताहरू पनि सन्तुष्ट छैनन् । उनीहरू निर्वाचनको उत्सवभन्दा विश्वकप फुटबल हेर्नमा रमाइरहेका छन् । उनीहरु खुशी नदेखिएको प्रमाण अहिले ठूला दलका केन्द्रीय कार्यालय बनेका छन् ।

ती दलका केन्द्रीय कार्यालयहरू सुनसान छन् । ‘चुनाव होस् या महाधिवेशन’ मा पार्टी कार्यालय घेर्ने नेता–कार्यकर्ताहरूको यतिखेर कुनै अत्तोपत्तो छैन । सानेपास्थित काँग्रेसको केन्द्रीय कार्यालय सुनसान छ । एमाले केन्द्रीय कार्यालय,च्यासल ललितपुरमा पनि कुनै चहलपहल छैन । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा रित्तो देखिन्छ । जसपाको बालकुमारीस्थित र लोसपाको बबरमहलस्थित कार्यालयको हालत पनि उस्तै छ ।

‘चुनावको नतिजा सोचेजस्तो आएन । नेता सबै जिल्लामै छन् । कार्यकर्ता तनावमा छन् । सहजै सरकारमा जाने अवस्था पनि देखिन्न । अनि कसरी हुन्छ त पार्टी कार्यालयमा भीड ?,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।

 

टिप्पणीहरू