कतिपयले भवितव्यमा जितेको एमाले अध्यक्ष ओलीको दावी

कतिपयले भवितव्यमा जितेको एमाले अध्यक्ष ओलीको दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा कतिपय उम्मेदवार जानेर,नजानेर वा भवितव्यले विजयी भएको निश्कर्ष निकाल्नुभएको छ । उहाँले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचनमा विजयी भएको प्रमाणपत्र बुझेपछि उक्त भनाइ व्यक्त गर्नुभएको हो ।

उहाँले सोही सन्दर्भमा राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गर्नुभएको छ ।  पछिल्लो निर्वाचन परिणामलाई लक्षित गर्दै उहाँले कतिपय मानिस र उम्मेदवारले राजनीतिलाई रमाइलोको रुपमा लिएकोले त्यसो नगर्न सुझाव दिनुभएको छ । तर,उहाँले कसले त्यस्तो गरे भन्नेबारे केही बताउनुभएको छैन ।

‘मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल,भागबण्डाको खेल शुरु हुने छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ,’ उहाँको भनाइ छ ।

उहाँले मतदाताप्रति आशंका राख्नुभएको छ । ‘आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नुपर्ने थियो,त्यसो भएको देखिएन । यसपटक मतदाताले नबुझेको हो कि,हामीले बुझाउन नसकेका हौं । मतदाता सुध्रिनु पर्ने जस्तो लागेको छ,’ उहाँको भनाइ छ ।

अमूर्त भाषामा बोल्दै उहाँले निर्वाचन पाँच वर्षको लागि भएको तर यसको परिणाम दीर्घकालसम्म रहने बताउनुभएको छ । यसको अर्थ मतदाताले एमालेलाई बहुमत नदिएर गल्ती गरेको उहाँको आशय भएको अनुमान गरिएको छ ।

‘मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल,भागबण्डाको खेल शुरु हुने छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ,’ उहाँको भनाइ छ । फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने भएकाले देश थप अस्थिरतातर्फ जाने अध्यक्ष ओलीको निश्कर्ष छ ।

टिप्पणीहरू