चितवनमा यसरी जित्दैछन् रविले । कसरी काटियो कृष्ण र उमेशको मत ?

चितवनमा यसरी जित्दैछन् रविले । कसरी काटियो कृष्ण र उमेशको मत ?

चितवनमा रवि लामिछाने  फराकिलो अन्तरले जित्ने देखिएको छ । विशेषगरी उनी उठेको क्षेत्र नम्बर २ तिर धेरैले ध्यान दिएका छन् । अहिलेसम्म मतगणना शुरु नभएकाले सर्वसाधारणको चासोले मूर्तरुप लिन सकेको छैन ।

यसअघिको नतिजालाई हेर्दा भरतपुर महानगरपालिकाको वडा नम्बर १०,११ र १२ एमालेको गढ मानिन्थ्यो । सम्भवतः रवि नउठेको भए उक्त वडाबाट एमालेले कम्तिमा ५ हजार मतले लिड गर्ने अनुमान थियो । हिजोका मतदानमा तीन वटा वडाको एमालेको ९० प्रतिशत मत घण्टीमा गएको आकलन गरिएको छ ।
 
सोही क्षेत्रमा रहेका काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठको भने सूर्यको तुलनामा थोरै मत घण्टीतिर गएको दाबी छ । यसरी हेर्दा धेरै क्षति एमालेलाई भएको देखिन्छ । महानगरका अरु वडामा काँग्रेस सामान्य बहुमतमा छ ।
 
२ नम्बरको मुग्लिङ्ग र इच्छाकामना गाउँपालिकामा भने शहरी क्षेत्रको तुलनामा  रविको राम्रो प्रभाव देखिँदैन । त्यहाँ घण्टीले कूल १२ सय मत ल्याउने प्रक्षेपण छ । सो क्षेत्रमा अरुको भन्दा उमेशको मत आउने विश्लेषण गरिएको छ । 

यसअघि कालिका नगरपालिकामा काँग्रेसको २ हजार मत बढी थियो । तर यस पटक काँग्रेसले काँग्रेसकै उम्मेदवारलाई सघाएको देखिएन । ‘उमेशलाई घात गरेका छन् । यो क्षेत्रमा देउवा र कोइराला काँग्रेसको पेचिलो लडाईं छ । माथिबाट सर्कुलर भएबमोजिम कोइराला काँग्रेसले उमेशलाई भोट हालेनन्,’ देउवा काँग्रेस भनेर चिनिएका एक जनाले बताए । 

अर्कोतर्फ रविले सो क्षेत्रबाट कम्तिमा ६ हजारको अन्तरले जित्ने दाबी गर्दै आएका छन् । यता आज दिउँसोसम्म सर्वदलीय बैठक बसेको छैन । निर्वाचन आयोगले रविको नागरिकताको विवाद नटुंग्याएसम्म भोट गन्न नदिने एमालेको अडान छ । 

एक जना निर्वाचन आयुक्त एमाले उम्मेदवार कृष्णभक्त पोखरेलका सम्धी भएकाले पनि राजनीतिक गाँठो जटिल हुँदै गएको अरुको बुझाइ छ । ‘रिजल्ट प्रकाशित हुन नदिने एमालेको भनाइ आएको छ । २ मा सहज ढंगले चुनावको मतगणना होला जस्तो लाग्दैन,’ निर्वाचन कार्यालयका एक जना अधिकृतले भने । तर सोही क्षेत्रको २ ‘ख’ मा एमालेका देवी ज्ञवाली जित्ने धेरैको अनुमान  छ । ३ ‘क’ मा काँग्रेसका उम्मेदवार र ‘ख’ मा ठाकुर ढकालले जित्ने सम्भावना रहेको बताइन्छ । 

चितवनकै निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेको जित्ने सम्भावना घटेको एमालेहरुले नै बताएका छन् । घण्टी चिन्ह लिएर उठेका सेयर कारोबारी हरि ढकालले सुरेन्द्रको १२ देखि १५ हजार भोट काट्ने अनुमानपछि उक्त निश्कर्ष निकालिएको हो । सोही कारण काँग्रेसका विश्व पौडेलले जित्ने सम्भावना बढेको काँग्रेसी हिसाब छ । ढकाल पहिले एमालेमा आवद्ध थिए ।
निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे र माओवादीका डा. भोजराज अधिकारीबीच पेचिलो प्रतिस्पर्धा हुने बताइन्छ । माडी नगरपालिकाबाट एक हजार बढी मत ल्याए डाक्टरले जित्ने,अन्यथा गाह्रो हुने गठबन्धनको निश्कर्ष छ । पहिले प्रचण्डसँगको प्रतिस्पर्धामा उक्त नगरक्षेत्रबाट पाण्डेले एक हजार कटाएका थिए । काँग्रेसका बागी उम्मेदवार दिनेश कोइराला प्रतिस्पर्धी भए पनि तेस्रोमा सीमित हुने अनुमान छ ।

प्रत्यक्षमा झैँ जिल्लामा हिजो हालिएको समानुपातिक मत पनि ध्वस्त भएको अनुमान छ । प्रदेश सभामा गतिलो उम्मेदवार नउठाएकाले माओवादीको हैसियत चितवनमा खस्केको आकलन छ । तर, मत परिणाम नआउञ्जेल ठोकुवा गर्ने पक्षमा कोही पनि देखिन्नन् ।

टिप्पणीहरू