तिहारको बेला कसैको घरमा दियो बल्यो,कसैको जिन्दगी जल्यो
स्थायी घर सिराहा भएकी बिनुु यादव बुबाको कामको सिलसिलामा सोलुखुम्बुको नेलेमा हुर्किन् अनि त्यहीँ पढिन् । अहिले बुवा बितिसक्नुभएको छ । परिवारमा आमा, भाइ, बहिनी र उनी मात्रै छन् ।
आमा रोगी हुनुहुन्छ । अहिलेसम्म पनि अक्सिजनको सहाराले बाँच्नुभएको छ । भाइबहिनी सानै छन् तर पढिरहेका छन् । घरको स्थिति नाजुक छ । बुबाको पेन्सन आँउछ तर त्यो सबै आमाको उपचारमै खर्च हुने गरेको छ ।
जब उनी थप पढाइको निम्ति काठमाडौं आइन्, आफू पनि पढ्दै र पढाउने गर्न थालिन् । एकदिन उनको गाउँकै सिभिल इन्जिनियरिङ गरिरहेका साथी सुदर्शन थापासँग भेट भयो । बिनुुलाई भेट्न थापाले अर्को साथी पनि सँगै लिएर आएको बताइन्छ । प्रदीप नाम गरेका उनले घर रामेछापको मन्थली बताउँदै भक्तपुरको ठिमीमा पनि अर्को घर भएको बताएका थिए ।
प्रदीप क्वेस्ट इन्टरनेशनल कलेजमा पढाउँथे । सुदर्शनको साथी भएपछि चिनजानमा प्रदीप बिनुको पनि साथी बने । भेटघाटसँगै उनीहरु सामाजिक सञ्जालमा जोडिए । बिस्तारै बिनु र प्रदिप नजिकिन थाले । नियमित कुराकानीसँगै हरेक विषयमा चासो राख्ने, भेट्न आउने र केयर गर्ने प्रदीपको आदत बन्दै गयो । तर बिनुले त्यति चासो नराखेको बताउँदै आएकी छन् । अर्कोतर्फ उनको परिवारसँग पनि प्रदिप नजिकिँदै गए ।
बिनुले क्रमशः प्रदीपसँग परिवारको सबै बेलिबिस्तार लगाउन थालिन् । त्यसपछि प्रदीपले उनलाई अभिभावकलेझैँ माया गर्न थाले । बिनुले पनि यसअघि कहिल्यै त्यस्तो माया पाएकी थिइनन् । त्यहि कारण बिनु नजाँदिदो किसिमले प्रदीपसँग निकै घनिष्ठ भइन् ।
त्यसपछि उनीहरुको सम्बन्ध प्रेमी र प्रेमिकामा परिणत भयो । उनीहरु सम्बन्धमा बसेको लगभग दुई वर्षपछि २०७५ सालमा बिनुले साथीहरुसँग सल्लाह गरेर जापान जाने तयारी गरिन् । उनले डकुमेन्टदेखि आवश्यक सबै कागजातको व्यवस्थापन गरिसकेकी थिइन् । त्यसपछि म बाहिर जाँदैछु भनेर प्रदीपलाई जानकारी गराइन् । तर उसले बाहिर नजान आग्रह गरेको बताइन्छ । प्रदीपको प्रेम, केयर र सल्लाहले बिनुुलाई जापान जानबाट एकाएक रोक्यो ।
अब उनीहरुको सम्बन्ध प्रेमीप्रेमिकाबाट माथि उठेर विवाहसम्म पुग्ने पक्कापक्की थियो । बिनुले कहिल्यै कसैसँग कुनै पनि किसिमको सम्बन्ध राखेकी थिइनन् । ‘रिलेसनसिप’ मा बसेको र प्रदीपसँग नै विवाह गर्ने निधो गरेपछि सहमतिमा नियमित शारीरिक सम्बन्ध भएको बताइन्छ । प्रायः प्रदीपले उसको ठिमीको घरमा पुर्याएर शारीरिक सम्बन्ध राख्ने गर्थे ।
मेरो शरीर काम नलाग्ने जीर्ण भइसकेको छ । मेरो जिन्दगी खत्तम बनाइदिएको छ । अब मलाई पेट्रोल छर्केर जलाए पनि कुनै पीडा हुँदैन ।
शारीरिक सम्बन्ध राख्दा कहिल्यै परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग गरेनन् । आफू गर्भवती भएको कुरो सबैभन्दा पहिले प्रदीपलाई बताइन् । त्यसपछि प्रदिपले भन्न थाले, ‘हामी सानै छौं, विवाह गर्ने उमेर भएको छैन । अहिले एबोर्सन गरौं ।’
तर बिनुुलाई गर्भको शिशु फाल्न मन लागेन । आफ्नो पेटमा हुर्कदै गरेको बच्चालाई नफाल्ने अडान लिँदै बिनुले एउटी आमाले आफ्नो बच्चा फाल्न नसक्ने बताउन थालिन् । प्रदीपले भने ‘कति पैसा लाग्छ ? कहाँ गएर फाल्ने सबै कुरा बुझ्न’ बिनुलाई दबाब दिन थाले ।
एकदिन कार्यालयमा बसेको अवस्थामा बिनुलाई निकै गाह्रो भयो । दिनभर पेट दुखिरह्यो । त्यो दिन २०७५ चैत १९ गते थियो । अफिसबाट डेरामा फर्कंदै गर्दा पनि उनलाई निकै गाह्रो भएको बताउँछिन् । जसोतसो कोठासम्म पुगेर रातभर रोइन् । सहनै नसक्ने दुःखाइको कारण निदाउन सकिनन् ।
भोलिपल्ट बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगिन् । त्यहाँ जाँचगर्दा बच्चा पाठेघरको देब्रे नलीमा गएर बसेको पत्ता लाग्यो । डाक्टरले अप्रेसन नगरे आमाको ज्यान खतरमा रहेको बताएपछि उनी अप्रेसन गर्न तयार भइन् । रोगी आमाले रकमबाट उनको अपरेशन भयो । बिनुकी आमालाई प्रदिपले पहिल्यै भनेको थियो, ‘हामीबाट गल्ती भयो तर म बिहे गर्छु ।’
मन्थली पुगेको प्रदीपलाई बिनुले अस्पतालमा बोलाइन् । प्रदीप भोलिपल्ट आइपुगे । अस्पतालबाट डिस्चार्ज हुने समयमा उनले बच्चाको बाबु आफू भएको कागज गरे । त्यसपछि बिनुकी आमासँग सल्लाह गरेर सुत्केरीलाई सिनामंगलको होटेलमा राखे । ‘घरमा जानकारी गराउनुपर्यो, एकैपटक कसरी घरमा जाने ?’ भनेर प्रदीपले बिनुलाई होटलमा राख्नुपर्ने कारण बताएको थियो ।
अपरेशन गरेको टाँका फुकाउने भनिएको दिन पनि प्रदीपले होटलमा जबरजस्ती शारीरिक सम्बन्ध राखेको बिनुको भनाइ छ । शारीरिक सम्पर्कका कारण टाँकाहरु सबैै खुस्कियो । उक्त सम्पर्क सहमति नभई जबर्जस्ती रहेको बताइन्छ ।
सोही दिन अस्पताल पुगेकी बिनुले आफू भर्याङबाट लडेको कारण टाँका खुस्किएको झुठो बताइन् । उपचारपछि उनलाई सिनामंगलको होटलबाट निकालेर जडिबुटीको एउटा होटलमा राखे । घरमा कुरा गरेपछि लैजान्छु भनेर निस्केका प्रदीप त्यसपछि सम्पर्कविहीन भए । बिनुको साथमा २५ सय रुपैयाँ मात्रै भएको बताइन्छ । त्यसपछि उनी ट्याक्सी लिएर काम गरेको अफिस पुगिन् । करिब दुई सातासम्म उनी बिस्कुट र चिया खाएर अफिसमै बसेको बताउँछिन् ।
यता आफ्नो जीबनुसँग खेलबाड गरेका प्रदीपको उता अरु महिलासँग मस्ती गरिरहेको फोटो सामाजिक सञ्जालमा देखेपछि आफ्नो होशहवास गुमेको उनको भनाइ छ । प्रदीपको फेसबुक च्याट देखेपछि उनले अर्की युवतीसँग विवाहको प्रपञ्च रचेको थाहा पाइन् । भक्कानिएर थाहा पाएपछि उनलाई याद आयो ‘प्रदीपले शारीरिक शोषणको चरम दुरुपयोग गरे ।’
आफूमाथि अन्याय भएको सन्दर्भ सुनाउँदा प्रदीपका मामाले उल्टै बिनुलाई धम्की दिएको बताइन्छ । ‘तिमी जस्ता त हजारौं केटीहरु छन् । तिमिहरु सबै प्रदीपको पैसामा बिकेका हौ,’ भनेपछि उनी त्यहाँबाट रुँदै फर्केको उनको भनाइ छ । त्यसपछि उनी बौद्ध, महाराजगञ्ज चक्रपथ, कपन प्रहरी चौकीहरुमा दुःख सुनाउन गइन् । उनीहरुले महिलासँग सम्बन्धित विषय भएकाले प्रहरी परिसर टेकु पठाइदिए । टेकुले फेरि महिला सेल कालीमाटी पठायो ।
त्यहाँ उनले आफूमाथि भएको जबरजस्ती करणीविरुद्ध जाहेरी दिइन् । प्रदीपको एउटा मामा डीएसपी थिए । सुरज कार्की नाम गरेका प्रहरी अधिकृतले आफ्नो जाहेरी थाहा पाएपछि पटकपटक आर्थिक प्रलोभन दिएको उनले बताइन् । बिनु रुँदै भन्छिन, ‘उनले म बसेको ठाँउमा आएर ज्यान मार्ने धम्की दिए ।’ तर आफू मर्न तयार भएकाले प्रदीपले जिन्दगी र शरीर बर्बाद पारेकोमा सजाय पाउनुपर्ने अडान दोहोर्याएको बताइन् ।
जाहेरी दर्ता गर्ने ठाउँमा डीएसपी कार्कीले नै फोन गरेर कालिमाटीस्थित एक प्रहरी अधिकारीलाई ‘त्यो बलात्कार होइन, सहमतिमा भएको हो’ भनिदिएको बिनुुको दाबी छ । उक्त समयमा बिनुु त्यहिँ थिइन् । ‘तर, मैले सबै प्रमाण र टाँका लगाएको बेलामा आफूमाथि बलात्कार भएको उल्लेख गरेपछि उजुरी दर्ता गरिदिएका हुन्,’ उनले भनिन् ।
जाहेरी फिर्ता नलिने र रकम प्रलोभनमा नपरेपछि प्रदीपका डीएसपी मामा सेतो रंगको कारमा चढेर बिनुको कोठासम्म पुगेको उनको भनाइ छ । मामाको हातमा पेस्तोल थियो । पेस्तोल खेलाउँदै आफूलाई थर्काएको सम्झँदै उनले भनिन् ‘म तेरो भाइलाई जेल हालिदिन्छु । केटाहरु कसैलाई भन्यो भने तेरो भाइको ब्यागमा हेरोइन, चरेस हालिदिन्छन् र पुलिस केस गरेर जेलमा बस्छ । तेरो बहिनी पनि पढ्न जान्छे । साँझमा घर फर्कने चान्स कमै होला नि १ बाटोमा जे पनि हुनसक्छ ?’
साँझसम्म मुद्दा फिर्ता लिन उनले धम्कीपूर्ण अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट प्रदीपको बुवा, मामा (डिएसपी कार्की), मेरो साथी सुदर्शन र प्रदीप स्वयम् आएर आफ्नी आमालाई अक्सिजनको सिलिण्डरबाट निकालेर कालीमाटी पुर्याएको उनले बताइन् । ‘त्यहाँ पुगेपछि मलाई कागजमा सही गर्न लगाए । त्यो के को कागज थियो, मलाई पनि थाहा भएन । पटक पटकको धम्की र बिरामी आमाको अवस्थाले गर्दा नपढी हतारमा सही गर्न बाध्य भएँ । त्यसपछि हामीलाई लगेर चाबहिलमा छाडिदिए,’ उनले भनिन् ।
त्यसपछिका घटनाक्रम सम्झँदै उनले भनिन्, ‘२०७६ जेठ १९ गते मलाई ठिमी लिएर गए । त्यहाँको घरभित्रै थुनिएर बसेँ । कसैसँग बोल्न र बाहिर जान दिइएन । मंसिर २५ गते कसैलाई थाहा नदिई प्रदीपका बुवा र मामाले प्रदीप र बिनुको विवाह गराइदिए । त्यसबेला मेरा एक दुईजना साथीहरु थिए । उनीहरुले फोटो खिचिदिए । अहिले त्यहि बिहेको फोटो पनि मसँग छ ।’
लगत्तै विवाह पछिको पहिलो दशैं आयो । तर आफन्त बितेको र दशैं नमनाउने भनेर बिनुुलाई छाडेर अरु सबै मन्थली गए । चाडपर्वको समयमा एक्लै बस्न मनले नमानेपछि उनी आमाको डेरमा गइन् । त्यहि बेलामा उनले फेसबुक खोलेर हेरिन् । तर बिनुुले प्रदीपको परिवारले रमाइलो गरेर दशैं मनाएको, टीका लगाएको फोटो देखिन् । यसबाट उनलाई स्वतः झुक्याएर रामेछाप गएको पुष्टि भएको थियो ।
दशैंपछि बिनुु मन्थली गइन् । उनी बसपार्कको मनकामना एयरपोर्ट भ्यु होटलमा बसिन् । जहाँ प्रदीप पनि बस्ने । त्यो होटल प्रदीपकोे काकाको हो । उनी त्यहाँ दिनरात होटलको काम गर्न थालिन् । एक जना काकाबाहेक अरु कसैले पनि कुराकानी नगरेको र काकाको व्यवहारसमेत राम्रो नभएको उनले महशुस गरेकी हुन् ।
होटलको हरेक ठाउँमा सिसि क्यामरा थियो तर किचनमा थिएन । काका स्वयम्ले एक्लै किचनमा भेटेको अवस्थामा आफ्नो संवेदनशील अंगमा छुन खोज्ने र गलत अर्थ लाग्ने खालका शब्द निकाल्ने बिनुुको भनाइ छ । बिनुुले उक्त घटना सुनाएपछि प्रदीपले आफ्नो बा आमासँगै बस्न आग्रह गरे । तर सासु ससुराले पनि विभेदपूर्ण व्यवहार र शव्दको प्रयोग गरेको उनी बताउँछिन् । रामेछापमा छँदै बिनुु पुनः गर्भवती भइन् । प्रदिपले यस पटक पनि गर्भपतनमा जोड दिन थाले तर उनले मानिनन् । यता ससुराले अपशव्द प्रयोग गर्दै जबर्जस्ती बच्चा जन्माए गाडिदिने धम्की दिन थालेपछि झन् आत्तिन थालेको उनको भनाइ छ ।
‘एकदिन प्रदिप काम विशेषले ट्रक लिएर रामेछाप बाहिर गए । उनीहरु ग्यास, किराना सामानहरु होलसेलमा बेच्ने गर्थे । म कोठामा थिएँ । दिउँसो ३ बजेतिर मेरो नन्द, ससुरा आए र उनीहरुले मिलेर मेरो घाँटी थिचेर औषधि खुवाए,’ बिनुुले भनिन् ।
बन्धक जस्तै बनाएर राखिएकी बिनुु क्रमशः बिरामी पर्न थालिन् । एक दिन भागेर तामाकोशी अस्पताल गइन् । त्यो बेला जताततै कोरोना महामारीको समयमा लकडाउन थियो । अस्पताल पुगेर उनले आफ्नो सारा पीडा बताएपछि डाक्टर केशव धामीेले बिनुलाई स्लाइन दिएका हुन् । डाक्टर धामी र प्रदीपको परिवारमा राम्रो सम्बन्ध रहेको कारण लगत्तै अस्पतालमा काका ससुरा पुगे ।
डाक्टरले बोलाएर पुगेको अस्पताल पुगेको आशंका गरिएका उनै काकाले तथानाम गाली गर्दै बिनुुलाई घरमा लगे । ‘परिवार मिलेर कुटपिट गरे, रडले हाने, त्यसका डामहरु अझै मेरो शरीमा छ,’ बिनुुले भनिन् ।
सबै सम्पर्कबाट बाहिर राखिएकी बिनुुले एक दिन प्रदीपको मोबाइलबाट जिल्लाका डीएसपी वसन्त पाठकलाई म्यासेज पठाइन् । उनी काकाको होटलमा आउजाउ गर्ने भएकाले कुराकानी नभए पनि बिनुले चिनेकी थिइन् । उनलाई ‘म फलानोको बुहारी हुँ, ममाथि यस्तो यस्तो भएको छ, मलाई बचाउनुस्,’ लेखेर म्यासेज गरेकी हुन् । तर उनले पनि सहयोगको सट्टा घरमै गएर सबै मेसेज भनिदिएपछि झन् आपत् परेको उनको विगत छ ।
कार्की परिवारले आपूmलाई तामाकोशी अस्पताल पुर्याएर डिप्रेसनमा गएको भन्दै स्लिपिङ ट्याब्लेट डबल डोज खुवाइदिएको उनी बताउँछिन् । त्यसरी ट्याब्लेट खुवाउनेमा स्वयम् डाक्टर धामी पनि संलग्न भएको उनको दाबी छ । बिनुुको गर्भपतन गराउने औषधि पनि उनैले गैरकानुनी रुपमा प्रदीपको परिवारलाई दिएको अनुमान गरिएको छ । डाक्टरले गरेको कुराकानीको रेकर्ड आफूसँग रहेको बताउँदै बिनुु भन्छिन्, ‘अहिलेसम्म पनि डाक्टरको कुराकानी सुरक्षित छ । कुराकानीमा यसलाई डबल डोज दिनु । यसलाई डिप्रेसन भएको छ ।’
परिवारले विवाह गरेपनि विवाह दर्ता नगरेका हुन् । उनीहरुले विवाह र जाहेरीको हदम्याद कटेपछि बिनुुलाई केही पैसा दिएर घरबाट लखेट्ने योजना बनाएका रहेछन् । तर कसरी विवाह दर्ता भयो, आफँैलाई थाहा नभएको उनी बताउँछिन् ।
लगत्तै प्रदीपले जिल्ला अदालतमा मानसिक तनाव दिएको भन्दै केस फाइल गरे । मानसिक तनाव दिएको, वैवाहिक बलात्कारमा मुद्दा हाल्ने चेतावनी दिएको भन्दै मुद्दा हालेका हुन् । मामा डिएसपी, बुढा ससुरा भुपु सैनिक संघ रामेछापको जिल्ला सभापति भएकाले आफूले न्याय पाउने सम्भावना नदेखेको बिनुुको भनाइ छ । ‘त्यसैले डीएसपीमाथि अनुसन्धान गरियोस् भनेर प्रहरी हेडक्वार्टरमा निवेदन दिएँ,’ उनले भनिन् ।
मुद्दा दायरभएपछि आफूले सम्बन्धविच्छेद नगर्ने अडान लिएको उनको भनाइ छ । आर्थिक स्थिति नाजुक रहेकाले विगतमा एउटा अभियानमा जाँदा सञ्जयराज अधिकारी भन्ने वकिलसँग चिनजान भएकाले उनलाई नै बकपत्र बनाइदिन अनुरोध गरेको बताइन्छ । तर, प्रदिपको परिवारले अधिकारीलाई भेटेपछि उनले पनि आफ्नो मुद्दा राम्रोसँग नहरेपछि आफ्नो मन कुँडिएको बिनुुको अनुभव छ ।
उता जिल्ला अदालतका न्यायाधीश बद्रीप्रसाद वलीले इजलासभित्रै आफूलाई ‘तिमी राम्री छौ, अर्को बिहे गर, उमेर छ नानी’ मात्रै भनेको शब्द बिनुुको दिमागमा सँधै ठोक्किरहन्छ । न्यायाधीशदेखि सबैको व्यवहार देखेपछि आफूले न्याय नपाउने लख उतिबेलै काटेको उनको निश्कर्ष छ । नभन्दै त्यसको केही समयपछि बिनुुको मुद्दामाथि सुनुवाई पश्चात् प्रदीपको पक्षमा फैसला भएको हो ।
आफूले न्याय नपाए बाँच्नुको अर्थ नहुने सोचेर अदालतमा जाँदा साथमा विष लिएर गएको बताइन् । न्यायाधीशले प्रदीपको पक्षमा फैसला सुनाएपछि बिनुले इजलास सामुन्ने विष खाएकी हुन् । बिनुु रुँदै भन्छिन्, ‘मलाइ त्यही न्यायाधीशको अगाडि मर्न मन थियो तर तत्काल मलाई तामाकोशी अस्पताल पुर्याइयो ।’
तामाकोशीले थप उपचारको निम्ति काठमाडौं रिफर गरिदियो । काठमाडौंमा उनलाई १९ दिन आईसीयूमा राखियो । अहिले आफूले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको पनि सुनाइन् ।
बिनुु भन्छिन्, ‘मलाइ थाहा छ, उनीहरुले कानुन किन्न सक्छन् तर म चुपचाप रहन सक्दिँन । मैलै न्याय पाउनैपर्छ । उनीहरुलाई जे पनि गर्ने छुट छैन । मेरो शरीर काम नलाग्ने जीर्ण भइसकेको छ । मेरो जिन्दगी खत्तम बनाइदिएको छ । अब मलाई पेट्रोल छर्केर जलाए पनि कुनै पीडा हुँदैन ।’
टिप्पणीहरू