मेयर दह्रो हुँदा, खुसीको आँसु आयो शिर उचालिँदा

मेयर दह्रो हुँदा, खुसीको आँसु आयो शिर उचालिँदा

टेन्ट टाँगिएको छ, मञ्च सजाइएको छ । मञ्चको अगाडिपट्टि सहभागीलाई बस्न कुर्सीहरु पनि लहरै राखिएका छन् । त्यसबीचमा शहीदहरुको तस्बिर पनि मञ्चनिर राखिएको छ भने ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ …’ बोलको गीत नेपथ्य–संगीतमा घन्किरहेको छ ।

हिजो बिहान साढे १० बजेतिर भरतपुर–२ को देवकोटाचोकमा पुग्दा यस्तै थियो त्यहाँको माहौल । वर्षाैंदेखि दोस्रो दर्जाको नागरिकको रुपमा रहन विवश यहाँका स्थानीयको अवस्थासँग उक्त गीतको बोल केही मिलिरहेको थियो । भूमि प्राप्तिको राष्ट्रिय अभियान अन्तर्गत ‘भूमिहीन सुकुमवासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रम’ त्यहाँ हुन लागिरहेको थियो । ११ बजे हुने भनिएपनि कार्यक्रम अलिकति ढिलो सुरु भयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको हातबाट सुरुमा ७९ वर्षीय वयोवृद्ध युवराज चापागाईंलाई लालपुर्जा वितरण गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । लालपुर्जा हातमा पर्दा चापागाईंका आँखा आँसुले भरिए । उनले भने, ‘खुसीको आँसु हो ।’ युवराजकी पत्नी चिन्ताकुमारी पनि सँगै थिइन् । उनका पनि आँखाबाट खुशीका आँसु बगे ।

‘नम्बरी घर–जग्गा हुनेहरुले अर्कै नजरले हेर्थे, हेप्थे, अब त हामी पनि धक फुकाएर बस्न पाउने भयौं’, चिन्ताकुमारीले भनिन्, ‘बास भएपछि गाँस त छोराछोरीले कमाइहाल्छन् ।’ उनीहरु २०४७ सालदेखि सो स्थानमा सुकुमवासीको रुपमा बस्दै आएका हुन् ।

उक्त कार्यक्रममा १३३ घरलाई लालपुर्जा वितरण गर्ने भनिएपनि कोही–कोही सम्पर्कमै नआएका कारण १२० घरधुरीलाई लालपुर्जा वितरण गरिँदै थियो । कार्यक्रमको सुरुमै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आफूहरु लालपुर्जा वितरणको दोस्रो चरणमा प्रवेश गरेको बताए । यसअघि सोही स्थानका ४६ घर भूमिहीन दलितलाई २०७८ चैतमा लालपुर्जा वितरण गरिएको थियो । यसपछि अब यहाँका अव्यवस्थित बसोवासीहरुले लालपुर्जा पाउने बताइएको छ ।

गत चैतमा लालपुर्जा पाएका ४८ वर्षीय पदमबहादुर बसेलले अहिले सुकुमवासी भन्ने हीनताबोध नभएको बताए । यहाँ २०४७ सालदेखि बसेको र साढे १० धुरजति जग्गा भोगचलन गर्दै आएकोमा लगभग आठ धुर जग्गा आफ्नो नाममा पाएको उनले जनाए । चितवनमै पनि अन्य नगरपालिकाहरुमा लालपुर्जा वितरण भइसकेको छैन । भरतपुरकी मेयर रेनु दाहालको हैसियत दह्रो हुनाले नै आफूहरुले चाँडै लालपुर्जा पाउन सकेको बसेल बताउँछन् ।

भरतपुरमा भूमिहीन सुकुमवासीहरुलाई लालपुर्जा दिलाउन मेयरको निकै ठूलो सक्रियता रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी पनि बताउँछन् । लालपुर्जा पाउनेहरुलाई भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले पनि भने, ‘मेयर सा’पको सक्रियताले तपाईंहरुको हातमा लालपुर्जा पर्दैछ ।’ भरतपुरका अन्य वडाहरुमा पनि अब भटाभट लालपुर्जा वितरण हुने बताइएको छ । जिल्ला आयोगले ६ महिनामा यति काम गर्न सफल भइसकेको अवस्थामा बद्री भन्छन्, ‘तीन वर्षसम्म चितवनका सबै भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा बाँड्नेछु ।’

‘आफैं छाप्रो बनाएर बसेको, आफैंले जोतिरहेको जमिन आफ्नो भन्न नपाउने अवस्था साह्रै पीडादायी हुन्छ’, राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले भने, ‘लालपुर्जा पाउनु गौरवको कुरा हो ।’ दोस्रो दर्जाको नागरिकको रुपमा रहनुपर्दा सुकुमवासीहरुलाई निकै अप्ठ्यारो हुने भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी बताउँछन् ।

आफूहरुलाई साँच्चिकै नागरिक बनाउन अहम् भूमिका खेल्ने मेयर रेनु दाहाललाई विशेष धन्यवाद भन्दै कार्यक्रममा लालपुर्जा पाउन लागेकी ५० वर्षीया भक्तिकुमारी क्षेत्रीले भनिन्, ‘धेरै खुशी छु । यो खुशीको सीमा नै छैन । सुकुमवासी भनेर २÷४ पैसा सापटी पाउन पनि गाह्रो थियो । आफ्नो नाममा घर–जग्गा भएकाहरुले हेपेर बोल्ने गर्थे । नागरिकता भएपनि नागरिक भएको महसुस भइरहेको थिएन । बल्ल यो देशको नागरिक हुँदैछु । अब त छाती फुलाएर, शिर उचालेर हिँड्न पाइने भयो ।’

हातखुट्टा काम्ने भइसकेका ८० वर्षीय वृद्ध इन्द्रजीत गुरुङ पनि लालपुर्जा लिन आएका थिए । ऐलानी जग्गामा निकै संघर्ष गरेर बस्नुपरेको भन्दै उनले भने, ‘लड्दा–लड्दै एक न एक दिन लालपुर्जा पाइएला भन्ने आशाचाहिँ थियो । अहिले पाउन लाग्दा खुशी लागेको छ । अब कसैले हेप्न नपाउने भए । आज घर–घरमा दिपावली मनाउँछौं ।’

टिप्पणीहरू