विद्युत प्राधिकरणका पनि छन् आफ्नै समस्या

विद्युत प्राधिकरणका पनि छन् आफ्नै समस्या

चितवन/नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गत अहिले २७१ ग्राहक कालोसूचीमा रहेको बताइन्छ । कार्यालयका सूचना अधिकारी समेत रहेका प्रशासन प्रमुख अच्युतरात विष्टका अनुसार उनीहरुबाट ७९ लाख ३९ हजार छसय ९० रुपैयाँ २० पैसा उठाउनुपर्ने देखिएको छ । कालोसूचीमा रहेका दुईसय ८१ ग्राहकमध्ये १० वटाले हिसाब क्लियर गरेको र अरु केहीले किस्ताबन्दीमा पनि पैसा तिरिरहेको उनले बताए ।

बिल उठेको ६० दिनसम्म पनि विद्युत महसुल नतिर्ने ग्राहकको प्राधिकरणले जुनसुकै बेला लाइन काट्न सक्छ । लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ । उसले पैसा नतिरेसम्म मिटर नामसारी गर्न, नयाँ मिटर जोड्न रोक्का गर्ने, अन्त भएको मिटरको लाइन पनि काटेर विद्युत सेवाबाटै वञ्चित गरिने बताउँदै विष्टले भने, ‘उद्योग कालोसूचीमा छ भने त्यो व्यक्तिको घरको लाइन पनि काट्छौं । तीन पुस्तालाई नै गाह्रो पर्छ ।’

नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको ग्राहक संख्या ६३ हजार तीनसय ५० रहेको उनी बताउँछन् । गत आर्थिक वर्षमा यस केन्द्रले १८ करोड ८९ लाख १० हजार आठसय १५ दशमलव ७७ युनिट विद्युत बिक्री गरेको र त्यसको बिल रकम एक अर्ब ९४ करोड ८१ लाख ८३ हजार आठ रुपैयाँ ६८ पैसा रहेकोमा एक अर्ब ८५ करोड ४४ लाख नौहजार तीनसय १० रुपैयाँ ५१ पैसा संकलन भएको विष्टले बताए ।

विद्युत सेवा औद्योगिक, व्यापारिक, गैरव्यापारिक (सरकारी कार्यालयहरु), घरायसी, सिँचाइ, मनोरञ्जन, सडकबत्ती लगायत विभिन्न प्रयोजनका लागि अलग–अलग दरमा प्रदान गरिने बताउँदै प्रशासन प्रमुख विष्ट भन्छन्, ‘थोरै खपत गर्नेलाई कम रेट र बढी खपत गर्नेलाई अलिकति महँगो रेट हुन्छ ।’ विद्युत महसुल औद्योगिक ग्राहकबाटै बढी संकलन हुने गरेको उनले बताए । भने, ‘बोटलर्स नेपाल तराई लिमिटेडले सबैभन्दा बढी विद्युत महसुल बुझाउँछ ।’ यसैगरी, मेडिकल कलेजहरु, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वेलहोप–न्यूहोप जस्ता ठूला दाना उद्योगहरुबाट धेरै महसुल संकलन भइरहेको जानकारी उनले दिए ।

पछिल्लो समय ग्राहक संख्या बढ्नुका साथै विद्युत खपत बढ्दै गएको केन्द्र बताउँछ । ग्राहकलाई पर्याप्त विद्युत उपलब्ध गराउन ठाउँ–ठाउँमा ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ तर ट्रान्सफर्मर राख्न समस्या हुने गरेको विष्ट बताउँछन् । विद्युतका पोल गाड्न, ट्रान्सफर्मर राख्न स्थानीयबाट हुने अवरोधले प्राधिकरणलाई समस्या भइरहेको बताउँदै उनले भने, ‘बाटोमा राख्न भएन गाडीहरु हिँड्छन्, अलिकति व्यक्तिको घर–जग्गाको छेउमा पर्दा अवरोध हुने गरेको छ ।’

नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल भन्छन्, ‘प्राधिकरणको मेजर समस्या नै यही हो । लगभग २०–३० ठाउँमा ट्रान्सफर्मर राख्नुपर्नेछ ।’ भनपा–५ को कल्याणपुर, भरतपुर–८ को पारसनगर लगायत नारायणगढ बजारतिर पनि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राख्नुपर्ने देखिएको उनीहरु बताउँछन् ।

‘जागृतिचोकमा समस्या भइरहेको थियो, बल्लतल्ल कुनै एक साइडमा ट्रान्सफर्मर राख्न सक्यौं’, सूचना अधिकारी अच्युतले भने, ‘मैयाँदेवी कन्या कलेज पछाडिपट्टि पनि ट्रान्सफर्मर राख्नुपर्ने छ तर स्थानीयको अवरोधले गाह्रो भइरहेको छ । ठाँवै उपलब्ध हुँदैन के गर्ने ?’

हालै केही दिनअघि भरतपुर–१५, मंगलपुरकी एउटी महिला आफ्नो घरमा विद्युतको भोल्टेज कम भएर फ्रिजसमेत नचलेको समस्या लिएर प्राधिकरणमा आएकी थिइन् । त्यहाँ ट्रान्सफर्मर राख्न सुरु गरिने अच्युतले बताएका छन् । ‘क्यान्सर अस्पताल अगाडि पनि यस्तै भोल्टेज कमको समस्या थियो’, उनले भने, ‘ट्रान्सफर्मर राखिएपछि समाधान भएको छ ।’

अहिले भरतपुरका ठाउँठाउँमा बेलाबेलामा लाइन जाने–आउने समस्या पनि छ । विकास निर्माणको कारणले विद्युतका पोल सार्नुपर्दा लाइन काट्नुपर्ने र त्यसले गर्दा पनि बेलाबेलामा विद्युत सेवा बन्द हुने गरेको इन्जिनियर पौडेलले बताए । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आवश्यक सामग्रीहरु बेलैमा पाउन नसक्दा पनि समस्या हुने अच्युतले बताए ।

केहीअघि सामाजिक सञ्जालमा विद्युतको पोलमा कालो तारैतार जेलिएर भुइँमै लत्रिएको, भार थेग्न नसकेर ढलेको कुनै ठाउँको फोटो वायरल भएको थियो । भरतपुर, चितवनतिर पनि प्रायः शहरी इलाकामा विद्युतको पोलमा तारहरु गन्जागोल देखिन्छ । ‘त्यो नेटवालाहरुको तार हो, ठाउँठाउँमा भद्रगोल देख्या छौं, त्यसलाई व्यवस्थित गर्नुपर्छ’, विष्टले भने ।

विद्युत प्राधिकरणले आफ्नो पोलमा तार टाँगेर सेवा सञ्चालन गर्ने केबल टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसित पोल भाडा असुल्दै आएको छ । पहिले अनुमति नलिई तार टाँग्ने उनीहरुले पछि भाडा तिर्न किचकिच गर्ने गरेको प्राधिकरणले बताएको छ । अहिले पुलचोकदेखि गोन्द्राङसम्म विद्युतलाई भूमिगत गरिँदैछ । बाइपास रोडमा पनि भूमिगत विद्युतीकरण हुनसक्ने अच्युतले बताए ।

टिप्पणीहरू