‘ढाकाको राजधानीमा झुक्किनु पर्दैन’

‘ढाकाको राजधानीमा झुक्किनु पर्दैन’

वि.सँ. २०७८ चैत्र १२ गते पाल्पाको तानसेन नगरपालिकाले एक घोषणा सहितको प्रमाणपत्र जारी गर्यो । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाल्पाली ढाका संघको रोहबरमा गरिएको उक्त घोषणामा पाल्पा जिल्लालाई ढाकाको राजधानी भनिएको छ ।

पहिलेदेखि नै ढाका कपडाको निम्ति प्रख्यात पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नु कुनै आपत्तिको बिषय भने होइन । तर, सोही घोषणा तेह्रथुममा पनि भएको छ । म्याङ्गलुङ्ग नगरपालिकाले असार २० गते तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरेको थियो ।

यसो त,पाल्पाली ढाकाको इतिहास लामो छ । वि.सँ. २०१५ बाट ढाका कपडा बुन्न थालिएको पाल्पाको तानसेनमा स्व. गणेशमान महर्जन र पूर्णमाया महर्जनले एक तानबाट यो काम शुरु गरेका हुन् । हाल पाल्पाली ढाका कपडा अन्तर्राष्ट्रिय ब्राण्डिङमा चिनिएको छ । पाल्पाली ढाकाको बजार ओरालो लाग्दै गएको पनि बुझ्नेहरु बताउँछन् ।वि.सँ. २०५५ यता ढाका बजार सुस्ताए पनि २०७६ बाट लुम्बिनी प्रदेश सरकार,तानसेन नगरपालिका, बेलायती सरकारको युके एड सीप परियोजना र पाल्पाली ढाका संघको संयुक्त अभियानमा पाल्पाली ढाका कपडा तथा उद्योगलाई एकीकृत रुपमा व्यवस्थित र स्तरिकरण गरिँदै आएको छ ।

उता,तेह्रथुममा पनि ढाका पोशाकको स्तरिकरण नभएको भने होइन । त्यहाँका लिम्बू समुदायले ढाका पोशाक बुनेर व्यवसाय गर्दै आएका छन् । तेह्रथुमबाट मात्रै बार्षिक पाँच करोड रुपैयाँ मूल्य बराबरको ढाका पोशाक निर्यात हुने गरेको बताइएको छ । स्थानीय सरकारले पनि ढाका कपडालाई प्रवर्धन गर्न विगतका वर्षदेखि नै ढाका बुनाईसम्बन्धी व्यावसायिक तथा एड्भान्स तालिमहरु सञ्चालन गर्दै आएको छ । गुणस्तर,धागो व्यवस्थापनमा नगरपालिकाले व्यवसायीहरुलाई सहयोग गर्दै आएको छ ।पछिल्लो समय मेसिन प्रयोग गरेर ढाका पोशाक बुन्ने तर, लिम्बू समुदायले बुनेको शुध्द ढाका भन्दै नक्कली ढाका बेचेर झुक्याउने परम्परा हावी भएकोले यसको स्तरीकरणमा समस्या देखिएको स्थानीयले गुनासो गरेका छन् ।

अहिले ढाका पोशाकको राजधानी देशको कुन हो भन्ने प्रश्न उठेको छ । पाल्पा र तेह्रथुमले ढाकाको राजधानी घोषणा गरेपछि यो प्रश्न उब्जिएको हो । यस बिषयमा बुझ्दा ढाकाको राजधानी उत्पादन क्षेत्रका हिसाबले देशका दुई स्थानमा रहने व्यवस्था सरकारले गरेको बुझिएको छ ।

तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत भरतप्रसाद आचार्यका अनुसार ‘ढाका उत्पादनको क्षेत्र निर्धारण गरेर पूर्वमा एक र पश्चिममा एक राजधानीको व्यवस्था गरिएको छ । जसअनुसार तेह्रथुमलाई असार २० गते दोस्रो ढाका पोशाकको राजधानी घोषणा गरियो । पाल्पालाई भने एक बर्ष अघि नै ढाकाको राजधानी भनिएको हो । त्यसमा झुक्किनु पर्दैन ।’

देशको राजधानी भएको भए पो एकै ठाउँमा नै हुनुपर्छ भन्ने हुन्थ्यो,‘यो उत्पादन हुने वस्तु भएकाले जहाँ बढी उत्पादन,त्यहाँ राजधानीको रणनीति ल्याइएको हुनसक्छ’ आचार्यले भन्नुभयो ।

टिप्पणीहरू