एनआई सी एशिया बैंकको आक्रामक क्यूआर कोड वितरण अभियान

एनआई सी एशिया बैंकको आक्रामक क्यूआर कोड वितरण अभियान

‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एनआई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्न प्रदेश १ स्थित मोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा चार सय वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो ।

एक कार्यक्रमबीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले सो क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्रभित्रका चार सय भन्दाबढी इ–रिक्सा सदस्यहरुलाई क्यूआर भुक्तानी सेवा वितरण गरेका छन् । यसरी क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोलेको ती ग्राहकहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमासमेत उपलब्ध गराएको छ ।

‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने । साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवाप्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितव्यलाई मल्हम लगाउन समेत ठूलो सहयोग मिल्ने उनको भनाइ छ ।

क्यूआर वितरण कार्यक्रममा बोल्दै विराटनगर उपप्रादेशिक प्रमुख दिवाकर भट्टराईले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिएर बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताए ।

बैंकले थालेको क्यूआर कोड वितरण अभियानले विराटनगर क्षेत्रमा रहेका यातायात सेवाहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा रकमको जोहो गर्न नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवाप्रदायकलाई खुद्रा रकमको झन्झटबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै मुलुकका हरेक क्षेत्रमा अझ धेरै क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाषा लिएको छ । जसमा प्रदेश १ का बिराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड लगायतका क्षेत्रमा २५ सयभन्दा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिएको छ ।

आमजनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा एनआईसी एसिया मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकको दाबी छ । उसले भनेको छ, ‘बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । उक्त रकम मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो ।’

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला र कुनै पनि बैंक तथा वित्तीय संस्थाको सेवा नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बताइएको छ ।

टिप्पणीहरू