यस्तो छ नबिल बैंकले मनाउन लागेको ‘ग्रीन वीक’

यस्तो छ नबिल बैंकले मनाउन लागेको ‘ग्रीन वीक’

नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन वीक’ मनाउने भएको छ । बैंकले दिगो बैंकिङको वार्षिकोत्सवका अवसरमा ‘नबिल ग्रीन वीक’ मनाउन लागेको हो ।

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवद्र्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ अघिल्लो वर्ष असार १५ गतेका दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ ले हिजो एक वर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा बैंकले ‘नबिल ग्रीन वीक’ मनाउन लागेको हो ।

पछिल्लो एक वर्षमा नबिल बैंक मात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकको दाबी छ ।

प्रारम्भिककालबाटै जलविद्युत परियोजनामा लगानी गर्नेदेखि सहुलियत कर्जा प्रदान गर्ने, सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गर्दै दिगो बैंकिङको अभ्यास गरेको बैंकले हालसम्म मुलुकको वित्तीय क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको बैंकले जनाएको छ ।

बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आमजनतालाई लक्षित गर्दै दुई किसिमका ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ ।

आफ्ना १७ दुर्गम शाखाबाट शुरु गरेको उक्त कर्जाअन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको छ । तीमध्ये छ हजार बढी महिला उद्यमी हुन् ।

यसैगरी ‘नबिल दिगो बैंकिङ’ का उद्देश्यमध्ये वातावरण र सामाजिक सरोकार र सम्वद्र्धनलाई निकै महत्वका साथ अगाडि बढाइएको पनि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदानको बखत वातावरणीय र सामाजिक जोखिमलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनअन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ । नबिलले सन् २०१८ देखि नै एक करोड रुपैयाँभन्दा बढी ऋण सुविधा लिने र कमर्सियल लीजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्समध्ये कुनै पनि सुविधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको पनि जानकारी दिएको छ ।

टिप्पणीहरू