क्युआर कारोबारमा नबिलको क्यासब्याक योजना

क्युआर कारोबारमा नबिलको क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा ग्राहकलाई लक्षित गर्दै क्युआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना ल्याएको छ । नबिल र राष्ट्रसंघीय पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्युआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजनाअन्तर्गत यो योजना शुरु गरिएको बैकंले जनाएको छ ।

विशेषगरी कोभिड १९ पछि डिजिटल वित्तीय कारोबारमार्फत् महिला र युवाको व्यावसायिक कार्यक्रम प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको जनाइएको छ । यो योजना १८ देखि २४ वर्ष उमेरका उद्यमी जसले आफ्नो स्वामित्वमा रहेको व्यवसाय र प्रत्यक्ष व्यवसाय सञ्चालन गरिरहेकाप्रति लक्षित छ ।

यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो । असार महिनाभर सञ्चालन गरिने पछिल्लो योजनामा महिला तथा युवा क्युआर मर्चेण्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रतिकारोबार दुई सय रुपैयाँ नगद फिर्ता दिइने बैंकले जनाएको छ ।

वित्तीय पहुँच नपुगेका महिला र युवा उद्यमीप्रति लक्षित उक्त योजनामार्फत नबिल बैंकले त्यस्ता उद्यमीहरूलाई बैकिङ च्यानलमा भित्र्याउने, पुराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधान प्रदान गरी दिगो वित्तीय रुपान्तरणलाई बढावा दिने लक्ष्य पनि राखेको छ ।

टिप्पणीहरू