नबिल बैंकको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

नबिल बैंकको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धी व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा जारी गरेको छ । बैंकले ‘नबिल इको–फ्रेण्ड्ली बिजनेश लोन’ जारी गरेको हो ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखिएका व्यवसायहरुको वित्तीय आवश्यकता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

उक्त कर्जायोजनाअन्तर्गत बैंकले साविकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५प्रतिशत) कममा कर्जा उपलब्ध गराउने जानकारी दिएको छ । ‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङ अन्तर्गतको विभिन्न प्रयासहरुमध्येको एक हो, जसअनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्यमान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई तथा एमएफ विभागका प्रमुख निरज कुमार बस्नेतले बताए ।

बस्नेतका अनुसार बैंकले उक्त कर्जा योजनाअन्तर्गतका ऋणीलाई सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्ने जानकारी दिएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म १५० शाखा, १८७ एटिएम र १५ सयभन्दा बढि नबिल रेमिट एजेण्ट छन् ।

टिप्पणीहरू