एमालेलाई हराउने एमालेभित्रैको अन्तर्घाती हो चाहिँ को त !

एमालेलाई हराउने एमालेभित्रैको अन्तर्घाती हो चाहिँ को त !

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफ्नै नेताहरुबाट पार्टी जोगाउन चुनौती थपिएको बताउनुभएको छ । स्थानीय तहमा पार्टी पराजित हुनुमा कहिले धाँधली त कहिले अन्तर्घातलाई कारण मान्दै आउनुभएका उहाँले आज फेरि अन्तर्घातकै कारण हार्नुपरेको दाबी गर्नुभएको हो ।

आज पार्टी जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा एकले अर्कालाई सिध्याउन खोज्ने प्रवृत्ति हावी हुँदा हार व्यहोर्नु परेको बताउनुभयो । उहाँले जनताको माया पाएर पनि आफ्नै नेताबाट पार्टी जोगाउन गाह्रो परेकोसमेत बताउनुभएको छ ।अध्यक्षले आजको बैठकमा गम्भीर कुरा भन्नुभएको भन्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नुभएको छ, ‘जनताले नेकपा एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौँ । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एकले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरुबीच मेल भएन,टीम स्पिरिट भएन। यथार्थमा पार्टीलाई आफ्नै नेताहरुबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

“त्यसो हो भने नैतिकताको आधारमा आफू हट्ने या अन्तर्घातीलाई छानीछानी कार्वाही गर्नेवारे चाहिँ आज उहाँले केही उच्चारण गर्नुभएको छैन ।”

यसअघि संसदीय दलको बैठकमा ओलीले लज्जास्पद अन्तर्घातले पार्टी हार्नुपरेको बताउनुभएको थियो । तर,लगत्तै प्रतिनिधिसभा बैठकमा भने सरकार र सत्ता गठबन्धनले धाँधली गरेर हराएको आरोप लगाउनुभयो ।चुनावी परिणामलाई लिएर अध्यक्षबाट परस्पर विरोधाभाषी र अन्तरविरोधी धारणा आउँदा नेता-कार्यकर्ता अन्योलमा परिरहेका बेला ओलीले आज फेरि अन्तर्घातकै कारण हार्नुपरेको बताउनुभएको हो ।

त्यसो हो भने नैतिकताको आधारमा आफू हट्ने या अन्तर्घातीलाई छानीछानी कार्वाही गर्नेवारे चाहिँ आज उहाँले केही उच्चारण गर्नुभएको छैन । त्यसो त उहाँको आजको यति मात्रै कथनलाई पनि कतिपयले आफ्नो कमजोरी अरुको थाप्लोमा थोपरेर गम्भीर मुद्दालाई बिषयान्तर गर्ने अर्को चलाखीको रुपमा अर्थ्याएको पाइएको छ ।

टिप्पणीहरू