माओवादी नेताले सोध्नुभयो ‘एमसीसी खारेज भएको हो ?’

माओवादी नेताले सोध्नुभयो ‘एमसीसी खारेज भएको हो ?’

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने क्रममा संसदले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म अमेरिकाले एक शब्द पनि नबोलेको प्रसंग निकाल्नु भएको छ । आज राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने क्रममा बोल्दै उहाँले उक्त प्रसंग उल्लेख गर्नुभएको हो ।

काठमाडौंको लप्सीफेदी, नुवाकोटको रातमाटे, हेटौंडा, तनहुँको दमौली, बुटवल र भारतको गोरखपुरसम्मको चार सय केभीको प्रशारण लाइन निर्माण कार्य अगाडि बढाइने कुरा बजेटमा लेखिएको भन्दै उहाँले सोध्नुभयो, ‘एमसीसी योजनाअन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा हो या अर्थमन्त्रीले आफैँले बुझेर यो प्रस्ताव राख्नुभएको हो  ?  यसबारे सरकारले जवाफ दिनुपर्छ ।’

नेता श्रेष्ठले एमसीसी परियोजनाअन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन एमसीसी सहयोग परियोजना खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ ।

उहाँले प्रशारण लाइन निर्माण कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र हुनुभएको पनि जानकारी दिनुभयो । त सरकारले यसबारे स्पष्ट पार्न आवश्यक रहेको उहाँको भनाइ छ ।

टिप्पणीहरू