गठबन्धनकै कमजोरीले बच्यो एमाले

गठबन्धनकै कमजोरीले बच्यो एमाले

केपी ओलीको दम्भविरुद्ध लड्न कसिएको मोर्चाले गठबन्धनमा ध्यान नदिँदा वामपन्थीको किल्ला मानिने ललितपुरमा सोचेजस्तो परिणाम हात पार्न सकेन । ललितपुरका ६ स्थानीय तहमा नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चालाई बाहिर निकालेर गठबन्धन गरेको कांग्रेस र नेकपा माओवादीले अपेक्षित सीट हात पार्न सकेनन् ।

ललितपुरमा नेकपा एमालेले २ स्थानीय तहको प्रमुख जितिसकेको छ भने ललितपुर उपमहानगरपालिकाको उपप्रमुख पनि पक्काजस्तै छ । साविक जितेको महांकाल गाउँपालिका एमालेले गुमाएर कांग्रेस माओवादीले हात पारेका छन् । कांग्रेसबाट गणेश केसीले अध्यक्ष जिते भने नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पाएको छ ।

६ वटै वडामा एक्ला एक्लै लडेकाले सबैतिर कांग्रेसले विजय हात पारेको छ । महांकालमा एमाले क्लिनस्वीप भएको छ । राष्ट्रिय गठबन्धनकै भावनाअनुसार भन्दै एकीकृत समाजवादीले पनि गठबन्धनलाई सघाएको थियो ।

कोन्जोस्योम गाउँपालिका साविक नेकपा माओवादी केन्द्रले प्रमुख–उपप्रमुख नै जितेकोमा यो निर्वाचनमा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख बाँडिएको थियो । मतदाताले अध्यक्षमा एमालेका कृष्णमान लामा र उपाध्यक्षमा भने कांग्रेसका राजन घिमिरेलाई जिताएका छन् । कोन्ज्योसोमका ५ वडामा २ वडा माओवादी, २ वडा कांग्रेस र १ वडामा एमालेले विजय हात पारेको छ ।

गोदावरी नगरपालिकामा गजेन्द्र महर्जन र मुना अधिकारी नै प्रमुख, उपप्रमुख निर्वाचित भएका छन् । १४ वटा वडा रहेको गोदावरीमा नेकपा माओवादी केन्द्रले २ वडा जितेको छ भने ११ वटामा कांग्रेसले जितेको छ । अघिल्लो पटक ४ वटा वडामा जितेको नेकपा एमाले १ वडामा खुम्चिएको छ ।

बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन अध्यक्ष र नेकपा माओवादीका भक्तबहादुर दर्लामी उपाध्यक्ष निर्वाचित भएका छन् । ७ वटा वडा रहेको बागमतीका १ वडामा एमाले, १ वडामा माओवादी र ५ वडामा कांग्रेसले जितेको छ ।

१० मा १ माओवादी र १ कांग्रेसबाहेक ८ वटै वडा र प्रमुख, उपप्रमुख एकलौटी जितेको एमालेले महालक्ष्मी नगरपालिकामा प्रमुख र ६ वटा वडा जितेको छ । गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार शिव कट्टेललाई फराकिलो अन्तरले पछाडि पार्दै हरिगोविन्द श्रेष्ठले मेयर जितेका छन् भने कांग्रेसकी लक्ष्मी महर्जन उपमेयर निर्वाचित भएकी छन् ।

महालक्ष्मीमा कांग्रेसले ३ वटा वडा र माओवादीले १ वटा वडा जितेको छ । ललितपुर महानगरपालिकाको मतगणना भइरहेको छ । अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी चिरीबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकार मेयरमा प्रतिष्पर्धी छन् ।

अघिल्लो पटक विवेकशील साझाबाट उम्मेदवार भएका रमेश महर्जनले १० हजारको हाराहारीमा महर्जन समुदायको मत काटेको विश्लेषण गर्दै अघि बढेका चिरीबाबुले त्यो मत कभर गर्ने संकेत देखिएको छ । यसपटक ठूलो अन्तरमा चिरीबाबुले मेयर जित्ने पक्का भएको छ । कांग्रेसको मेयर उपमेयर नै जितेको ललितपुर महानगरमा गठबन्धनका कारण नेकपा माओवादीका बाबुराजा बज्राचार्यलाई उपमेयर उम्मेदवार बनाइएको हो ।

महानगरको उपमेयरमा बादल समूह हुँदै नेकपा एकतादेखि एमालेमा रहेकी मञ्जली शाक्यले जित्ने करिब पक्का भएको छ । महानगरमा एकीकृत समाजवादीले २ वटा वडा जितेका छन् भने अन्य २ वडामा स्वतन्त्रले अध्यक्ष जितेका छन् । माओवादीले २ वटा वडा जितेको छ भने कांग्रेस र एमालेले दश–दशवटा वडामा जित हात पारेका छन् । अघिल्लो निर्वाचनमा १४ वटा वडा जितेको एमालेले यसपटक पनि महानगरमा राम्रै पकड जोगाएको छ ।

ललितपुरमा विभाजनका कारण एमालेले वडामा निकै पेचिलो हार व्यहोरेको छ । ललितपुर महानगरको वडा नं २१ मा ज्ञानभक्त डंगोल १९ मतले पराजित भए । त्यो वडामा पुराना नेता स्वयम्भुराज डंगोलसहितका नेताहरू एकीकृत समाजवादीतिर लागेका छन् । वडा नं १४ मा एमालेबाट समाजवादीतिर लागेका ऋषि गजुरेलले पाएको मत र एमालेका उम्मेदवार नौराज राईको मत जोड्दा जित्ने कांग्रेस उम्मेदवारको भन्दा बढी हुन्छ ।

यो वडामा पनि विभाजनको असर देखिएको छ । वडा नं ११ मा दोश्रो एकीकृत समाजवादी र तेस्रो एमाले भए । १७ मतले मात्रै कांग्रेसले जितेको वडामा विभाजनको सबैभन्दा ठूलो असर परेको छ । वडा नं ४ र वडा नं ८ मा पनि विभाजनकै कारण एमाले हारेको छ ।

यस्तै गोदावरी नगरपालिकाको वडा नं २, ३, ६, ९, १० समाजवादीको भूमिकाको कारण एमाले पराजित भएको एमाले वृत्तमा विश्लेषण भइरहेको छ भने गठबन्धनमा गडबडी भएका कारण वडा नं. १२ र १४ मा पनि कांग्रेसले जित हात पारेको बताइन्छ ।

टिप्पणीहरू