‘राईकरण’ मा परेका किराती–खम्बुका सन्तानको अस्तित्व मेट्ने पुस्तक: ‘मुन्दुम होसुङ, रिलुङ, मुन्दुम’ « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

‘राईकरण’ मा परेका किराती–खम्बुका सन्तानको अस्तित्व मेट्ने पुस्तक: ‘मुन्दुम होसुङ, रिलुङ, मुन्दुम’

प्रकाशित मिति :  १७ जेष्ठ २०७९, मंगलवार ०८:००


–निनाम लोवात्ती

यहाँ ‘मुन्दुम सृष्टि कथा’ २०७१ पुनः प्रकाशन (दोस्रो संस्करण) २०७८ अनि ‘मुन्दुम होसुङ’ २०७३ पुनः (दोस्रो प्रकाशन २०७८ र, ‘मुन्दुम रिलुङ’ २०७८ तीनवटा किताब एकै पटकसँगै (प्याकेजको रुपमा) सृष्टि (प्रकाशित) भएको छ भने ती तीनवटै किताब ‘किरात राई चाम्लिङ खाम्बातिम’ नामक संस्थाले प्रकाशन गरेको छ । तीनवटा किताबका सृष्टिकर्ता अर्थात् लेखक फरक–फरक व्यक्ति हुन् ।

यसरी सृष्टि भएका तीन पुस्तकमध्ये ‘मुन्दुम सृष्टि कथा’ का संकलक तथा सम्पादक भोगिराज चाम्लिङ हुन् । ‘मुन्दुम होसुङ’ पुस्तकका संकलक ज्ञावनशेर राई र विश्वराम राई रहेका छन् । पुस्तकका सम्पादक चाहिँ भोगिराज चाम्लिङ हुन् । त्यस्तै ‘मुन्दुम रिलुङ’ का संकलक, अुनवादक र सम्पादक भोगिराज चाम्लिङ स्वयम् रहेका छन् । यी तीनवटै किताबको प्रतिमूल्य क्रमशः ३५०, ४५० र ७०० रहेको छ । प्याकेज (तीन वटाको सेट) को पनि एक हजार पाँच सय रुपैयाँ मूल्य राखिएको छ ।

यी पुस्तकले ‘राईकरण’ मा नपरेका र हालसम्म ‘राई !’ करण भनेको के हो ? भनी नबुझेका जात वा समूहका मानिस र जाति वा समुदायलाई धेरै नै खुशी दिनेछ । किनभने उनीहरुको आँखाबाट हेर्दा यी तीनवटै पुस्तक ठूलो उपलब्धि हो । तर, हालसम्म ‘राई !’ करण को मारमा परेका वा पारिएका किराती–खम्बुका सन्तानका लागि भने धेरै दुःखी हुनुपर्ने देखिन्छ । कितावको खोलमा ‘मुन्दुम’ शीर्षक राखिएको भए पनि गुदी कुरो चाम्लिङ राई भनिने एक समूहको संस्कार, संस्कृति, मूल्य–मान्यता, मिथक आदिबारे मात्रै लेखिएको छ, वर्णन गरिएको छ । खासमा तीन वटै किताबको नाम वा शीर्षक ‘राई मुन्दुम’ अथवा ‘चाम्लिङ राई मुन्दुम’ राखेको भए प्रष्ट हुन्थ्यो ।

ए… ‘राई अथवा चाम्लिङ राई’ बारे लेखिएको किताब रहेछ भनेर सबै (पाठकहरु) ले प्रस्टसँग बुझ्ने थिए । हुनत ‘राई’ जात वा जाति नभएर पदवी वा पगरी अथवा ‘तालुकदार÷जिम्मावाल’ मात्रै हो । भलै हाल आएर धेरै किराती (खम्बु र मेवाहाङका सन्तान) ले त्यही ‘राई !’ पदवी वा पगरी अथवा ‘तालुकदार÷जिम्मावाल’ जनाउने शब्दलाई नै ‘जाति’ मानेका छन्, यो पनि ध्रुव–सत्य नै हो ।

जे भए तापनि प्रकाशनमा आएका पुस्तकले राई जातिको नाममा ‘कुलुङ, बाहिङ, बान्तावा, मेवाहाङ’लगायत २२ भन्दाबढी किराती, खम्बु जातिको जातीय अस्तित्व र स्वपहिचान नामेट पार्ने देखिन्छ । किन र कसरी त ? लेखकले संस्कार, संस्कृति, मिथक आदिबारे कितावमा लेख्दा र केही उदाहरणहरु दिँदा चाम्लिङको संस्कार, संस्कृति, मिथकलाई उल्लेख गरेका छन्, प्रस्तुत गरेका छन् । जस्तै ‘हुईलुङ’ नामक पूजा, ‘वाईको’ नामक पूजा आदि । त्यस्तै मृतकलाई माछा चढाईने कुरो आदि । ती सबै संस्कार, संस्कृति र मूल्य–मान्यता चाम्लिङ राई भन्नेहरुमा रहेको होला । किनभने, कुलुङ जातिमा ‘हुईलुङ’ नामक पूजा, ‘वाईको’ नामक पूजा र मृतकलाई माछा चढाइने प्रचलन छैन । मलाई लाग्छ, अरु किराती खम्बका सन्तानहरुमा पनि छैन होला !? अर्को भनेको ‘मुन्दुम सृष्टि कथा’ नामक किताबमा निकोलेट्टीलाई उद्धरण गर्दै ‘कुलुङ राई जातिमा दुइथरी नोक्छो हुन्छन्, मोप र सेलेमोप । त्यस्तै महिला मोप्मे पनि हुन्छ ।’ भनी लेखिएको छ । (पाना–२९)

जबकि कुलुङ जातिमा नौ प्रकारका धामीहरु हुन्छन् । जस्तै (१) नागी मोप, (२) देदाम मोप, (३) तोस नोक्छो, (४) सेले मोप, (५) मोबोछा, (६) खार–बीत्रूम मोप, (७) सातीपूस, (८) वैदाङ (मन्त्र पढेर हुने), (९) आल्मी (शिकारी धामी) । अर्को भनेको कुलुङ जातिमा महिला र पुरुष ‘मोप’ वा ‘नोक्छो’ लाई लिंंगीय विभेद गरिँदैनथ्यो । अब तपाईंहरु नै भन्नुहोस्, निकोलेट्टी गलत हुन् कि, ‘मुन्दुम सृष्टि कथा’ नामक किताबका लेखक भोगिराज ?

किताब किरात मुन्दुम (कुलुङ जातिले रीदूम भन्छन्) सम्बन्धी लेखिएको भन्ने भ्रम दिन खोजिएको भए तापनि भित्री कुरो (गुदी) चाहिँ सबै चाम्लिङ राई भनिनेहरुको मात्रै वर्णन र उदाहरणहरु दिइएको छ भन्ने माथि नै उल्लेख गरिसकिएको छ । अझ ‘मुन्दुम सृष्टि कथा’ २०७१ को प्रकाशकीय शीर्षकअन्तर्गत (२०७८ को दोस्रो संस्करणमा पनि संशोधन नगरिएको !) राई जातिको जातिगत तथ्याङ्क दिने क्रममा वि.सं २०६८ को जनगणनाअनुसार छ लाख ९४ हजार ९८ रहेको उल्लेख छ । जबकि वि.सं २०६८ मा राई जातिको जनसंख्या छ लाख २० हजार चार रहेको छ ।

पुष्टिका लागि केन्द्रीय तथ्याङ्क विभाग (केतवि) ले प्रकाशित गरेको ‘नेशनल पपुलेसन एण्ड हाउजिङ सेन्सस्–२०११’ नामक रिपोर्ट हेर्नुहोस् । त्यस्तै वि.सं. २०६८ को जनगणनाअनुसार चाम्लिङ भाषा वक्ता संख्या ७६ हजार आठ सय रहेको छ भने चाम्लिङ जातिको जातिगत जनसंख्या छ हजार चानचुन मात्रै छ । यसरी भाषा वक्ता संख्यालाई नै चाम्लिङको जनसंख्या ७६ हजार आठ सय रहेको भनिएको छ ।

नेपालका किरात वा किरातीभित्र पनि खम्बु र, खम्बुभित्र पनि ‘राई !’ को मारमा परेका कुलुङ, खालिङ, मेवाहाङ, बान्तावा, बाहिङलगायत २६, २७, २८, २९, ३०, ३१ (यति नै भनी हालसम्म कसैले किटान गर्न नसकेको !) भाषी छन्, भने लिम्बु, याक्खा, सुनुवार, जिरेल, थामी, हायु, सुरेल आदिले पनि आपूmलाई किराती नै दाबी गर्छन् । यस्तोमा माथि उल्लेखित तीनवटै किताबले नेपालका बाँकी किरातीलाई सम्मिलिकरण (एस्सिमिलेसन) गर्ने देखिन्छ ।

त्यसैले राई जातिको नाममा ‘राई !’ करण गरिएका कुलुङ, खालिङ, मेवाहाङ, बान्तावा, बाहिङलगायत किराती जातिका अगुवा संघ–संस्थाले जति सक्दो चाँडै आ–आफ्नै जातीय अस्तित्व देखिने÷भेटिने संस्कार, संस्कृति, मूल्य–मान्यता, मिथक आदिबारे किताब प्रकाशन गर्नुपर्ने देखिन्छ । नभए आ–आफ्नै जातीय अस्तित्व देखिने÷भेटिने संस्कार, संस्कृति, मूल्य–मान्यता, मिथक, भाषा, भेषभुषा आदि हुँदाहुँदै पनि उनीहरुको संस्कार, संस्कृति, मूल्य–मान्यता, मिथक, भाषा, भेषभुषा लोप हुने र, भएकाहरुको पनि प्रचारप्रसार नहुने देखिन्छ ।

हो, यही कारण पनि जति सक्दो चाँडो कुलुङ, खालिङ, मेवाहाङ, बान्तवा, बाहिङलगायत किरातीहरुले पनि आ–आफ्नो उत्पत्ति–थलो, पिता–पूर्खा, वंश–परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, चाल–चलन, चाड–पर्व, परम्परागत कानुन, गरगहना, गीत–संगीत, मूल्य–मान्यता आदिबारे किताब लेखेर प्रकाशन गर्नेपर्ने देखिन्छ ।

उनीहरु आफैंले आ–आफ्नो उत्पत्ति–थलो, पितापूर्खा, वंश–परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, संस्कार, संस्कृति, भाषा, भेषभुषा, रीतिथिति, परम्परागत चालचलन, चाडपर्व, परम्परागत कानुन, गरगहना, मूल्य–मान्यता आदिबारे किताब लेखेर प्रकाशन गरेनन् भने ‘राई !’ को नाममा चाँडै संस्कार, संस्कृति आदिमा ‘चाम्लिङ’ करण हुने र भाषामा ‘बान्तवा’ करण हुने छ ।

अनौपचारिक रुपमा के सुनिँदैछ भने ‘राई मुन्दुम, चामिलङ राई मुन्दुम’ लाई नै ‘राई !’ करणमा परेका वा पारिएका सम्पूर्ण किराती खम्बुहरुको पनि ‘मुन्दुम’ हो भनेर ‘युनेस्को’ मा दर्ता गर्ने काम हुँदैछ रे !? अझ भएन, कपीराइट लिने काम पनि हुँदैछ रे !?!? कुरो सत्य हो भने, बाँकी किराती खम्बुका सन्तानहरुले स्वीकार गर्ने कि नगर्ने ? प्रश्न गम्भीर छ । त्यसैले ‘राई !’ करणको मारमा परेका आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, बान्तावा, बाहिङ, याम्फु, साम्पाङ, लोहोरुङलगायत किरातीहरुले बेला छँदै सोच्नुपर्ने देखिन्छ ।

उता, त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहमा दर्शनशास्त्रअन्तर्गत ‘मुन्दुम: सृष्टिकथा र मुन्दुम: होसुङ’ नामक यो किताब पठनपाठन सुरु गरी सकेको रहेछ । त्यस्तै पोखरा विश्वविद्यालयले पनि मानवशास्त्रअन्तर्गत एमफिलमा (अंग्रेजी माध्यम) मा पठनपाठन सुरु गरी सकेको छ । खुल्ला विश्वविद्यालयमा पनि पठनपाठन हुने क्रममा रहेछ ।

तर, आफ्नै मौलिक संस्कार, संस्कृति, भाषा, भेषभुषा, रीतिथिति हुँदाहुँदै कुलुङ, खालिङ, मेवाहाङ, बान्तावा, बाहिङ, याम्फुलगायत अन्य किराती जातिहरुलाई ‘ठेलेरै–पेलेरै ‘मुन्दुम ः सृष्टिकथा र मुन्दुम ः होसुङ’ नामक किताब पठन–पाठन गर्न सहमति दिने ‘डा. विष्णु एस. राई, डा. इन्द्र याम्फु राई, डा. तारामणि राई, होम याम्फु, डा. लाल रापचा, अमर तुम्याहाङ, चतुरभक्त राई, जयकुमार राई, डा. भक्त राई, भोगीराज चाम्लिङ आदिलाई अलिकति पनि अप्ठेरो लागेन कि ? त्यसैले माथिका ती प्रा., डा., प्रा.डा, विद, विज्ञ आदि भनिनेहरुलाई हामीले प्रश्न गर्नैपर्ने भएको छ । उनीहरुले आ–आफ्नै स्वःपहिचान, अलग–अलग मातृभाषा, भूमि, भेषभूषा, संस्कार, संस्कृति, रीतिथिति हुँदाहुँदै ‘चुँ…नगरी बसे, समर्थन गरे ?’ प्रश्न गम्भीर छ है, राईवादी कामरेडहरु ???

नोटः यो समीक्षा लेखकको निजी विचार हो ।


प्रतिक्रिया दिनुहोस !