वेल्समा बन्ने भयो युरोपकै पहिलो नेपाली भिलेज

वेल्समा बन्ने भयो युरोपकै पहिलो नेपाली भिलेज

बेलायतका नेपालीले वेल्समा १५ एकर बढी जग्गा किनेर नेपाली भिलेज बनाउने भएका छन् । हरेक नेपालीले गर्व गर्न सक्ने युरोपकै पहिलो नेपाली भिलेज यूके परियोजना हुने प्रमोटरहरुको भनाइ छ । नेपाली भिलेज यूके परियोजना कुन मोडल, कहां र कसरी शुरु गर्ने भन्ने लामो समयदेखिको विचार मन्थनले अब आकार लिएको हो ।

गत २१ मे शनिबार बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र स्थानीय सांसद फे एलिसिया जोन्सले ब्रेकन टाउनको द क्यासल होटलमा आयोजित एक समारोहबीच पानसमा दीप प्रज्वलन गरि नेपाली भिलेज यूके परियोजनाको औपचारिक उद्घाटन गरे ।

उक्त कार्यक्रममा ब्रेकन मेयर तथा ब्रेकन धम्पुस भगिनी नगर समिति अध्यक्ष डेविड मरडीथ, टालगर्थ मेयर फिलिप लुइस, पूर्व मेयरहरु, स्थानीय नेपाली समुदायका वयोवृद्ध सदस्य झपटबहादुर गुरुङ, तमुधिं बेलायतका अध्यक्ष हितकाजी गुरुङ, तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रन बहादुर गुरुङ, एनआरएनए आइसीसी सदस्यहरु ललित नेउपाने, समीर खनाल, पोखरेली मञ्च बेलायतका अध्यक्ष करम गुरुङ, एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेल, कैयौं व्यवसायीहरु, सामाजिक व्यक्तित्व आदि गरि करिब २०० को उपस्थिति थियो ।

परियोजनाका अध्यक्ष हुन् रिटायर्ड मेजर खुशीमान गुरुङ एमभीओ । परियोजनामा ११ जना बोर्ड अफ डाइरेक्टर छन् । बोर्ड अफ डाइरेक्टर मध्ये एक मधु गुरुङले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका उपाध्यक्ष मानप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

कुनैपनि संरचनाको सम्पूर्ण भार थेग्न या वहन गर्नका निमित्त बनाइएको खम्वालाई स्तम्भ भनिन्छ । त्यो स्तम्भसंग परियोजनाको महत्व, संवेदनशीलता र इतिहास जोडिने जस्ता महत्वपूर्ण कुरा मनन गर्दै नेपाली भिलेज यूकेले देखेका सपना साकार पार्न र परियोजनालाई अनन्तकालसम्म मजबुत बनाउने प्रतिक स्वरूप “नेपाली भिलेज स्तम्भ” बनाएर राजदूत ज्ञान चन्द्र आचार्यबाट उक्त स्तम्भ मंगल धुनका साथ प्रतीक स्वरूप स्थापना गरिएको छ ।

त्यसलाई परियोजनाको पहिलो चरण अन्तर्गत जग्गा किनेपछि उक्त जग्गामा लगेर नेपाली भिलेज यूके रहेसम्म सुरक्षित राखिने परियोजनाका प्रवक्ता विक्रम भट्टराईले बताए । कार्यक्रम दुई चरणमा विभाजित थियो । पहिलो चरणमा स्थानीय सांसद फे एलिसिया जोन्सले यस्तो महत्वपूर्ण योजना आफ्नै क्षेत्रमा गर्न लागेकामा नेपाली भिलेज यूकेका अध्यक्ष र सम्पूर्ण टिमलाई धन्यवाद दिंदै यसले नेपाल र बेलायत तथा वेल्सको पर्यटन क्षेत्रमा निकै सकारात्मक भूमिका खेल्ने बताइन् ।९ पटकसम्म नेपाल पुगिसकेका ब्रेकन टाउन तथा नेपालको धम्पुस गाउंबीच भगिनी नगर बनाउने समितिका अध्यक्ष एवं ब्रेकनका मेयर डेविड मरडीथले परियोजना सबैका लागी गौरवको योजना भएको बताउंदै सफल बनाउन आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्ने बताए । छिमेकी टालगार्थ टाउनका मेयर फिलिप लुइसले यो परियोजना ब्रेकन भन्दा बाहिर जान नदिन आफू कटिवद्ध रहेको बताए ।

यस्तो बन्नेछ परियोजना

परियोजनाका अध्यक्ष रिटायर्ड मेजर खुशीमान गुरुङ एमभीओले योजनाबारे स्लाइड सो मार्फत जानकारी गराएका थिए । पहिलो चरणमा अनुमानित चार वर्षभित्र १५ एकर भन्दा बढी जग्गा किन्ने, जग्गालाई चार किल्ला छुट्याउने र आवश्यक परे तारबार गर्ने, नेपाली शैली झल्काउने मुलद्वार (गेट) बनाउने, जग्गालाई दुई भागमा बाँड्ने र धरातल हेरेर दुई मध्य एक भागलाई चार खण्डमा छुट्टाउने, बाँकी अर्को भाग केही नगर्ने, चार भागमा बाँडेको प्लटमा दुई अलग अलग ठाउंमा ट्वाइलेट, बाथरुम, लोकेशन हेरेर नेपाली स्टाइलको दुई भान्साघर र आवश्यकता अनुसार सबै क्षेत्रमा गाडी पार्किङ स्पेसहरु एलोकेट गरिने अध्यक्षले जनाए ।

प्लटको ठिक बीचमा चौतारी बनाउने र त्यो पुरै स्थानीय ढुङगाको बन्ने, यसमा नेपालबाट पिपल र वरको विरुवा ल्याएर सार्ने, जग्गाको भूबनोट हेरेर देउराली छुट्टाइने, भूमेथान बनाइने, मुख्य गेटबाट चौतारीसम्म दुवैपट्टी रेलिङ सहितको सिंढी/ढुङगा छापेर हिंड्ने बाटो बनाइने छ । एउटा भागलाई क्याम्पिङ एरिया छुट्टाइने छ, जहां कमसेकम ५० देखि ८० टेन्ट फिट हुनेछन् । नेपाली भिलेजमा नेपाली ढुङ्गेधाराबाट पिउने पानी आउने बनाइने छ ।

अनुमानित चार वर्षभित्र दोश्रो चरणका योजना ल्याइनेछन् जसमा क्याम्पिङ एरिया छुट्टाइएको प्लटमा सबै आवश्यक सुविधा सहितको कमसेकम ५०० जना अटाउने क्षमताको विवाहलगायत सामूहिक कार्यक्रम आयोजना गर्न सकिने हल बनाइने छ । नेपाली सनातन परम्परा अनुसारको विवाह मण्डप बनाइने छ ।

यो वेडिङ भेन्यूको ठिक अर्को साइडमा परम्परागत पिंढी सहितको नेपाली घर बनाइने छ । पिंढीको एक छेउमा ढिकी राखिने छ भने अर्को छेउमा जाँतो राखिने छ र घर नेपालको गाँउहरुमा हुने जस्तै बनाइने छ । यही घर भित्र नेपाली सोभनियर (नेपाली कलात्मक सामग्री) को पसल हुनेछ ।

कमसेकम १०० जनाका लागि अर्को सुविधायुक्त भवन बन्नेछ जसमा योग शिविर (मेडिटेसन सेन्टर), तालिम अथवा कुनै कक्षा सञ्चालन गर्न सकिने छ ।औसत नेपालीहरुको आस्थाका धरोहर ‘काष्ठमाण्डपका दुई नाथहरु’ भनेर चिनिने पशुपतिनाथ र बौद्धनाथ छुट्टाछुट्टै बनाइने छ जसमा कमसेकम दुई जना भित्र पसेर पूजा गर्न सकिने हुनेछ । सबै क्षेत्रबाट सहजै देख्न सकिने स्थानमा विश्व विख्यात वीर बहादुर योद्धा गोर्खालीको मूर्ति बनाइने छ ।

यही एरियामा उपयुक्त ठाँउमा एउटा बास्केटबल र भलिवल कोर्ट बनाइने छ । पानीको उपयुक्त व्यवस्थापन हुने क्षेत्र हेरेर एउटा पोखरी बनाइने छ जसको बीचमा नेपाली भिलेज यूकेको समुद्घाटन गरिएको नेपाली भिलेज स्तम्भ गाडिने छ अनि त्यसैमा वाटर फाउन्टेन राखिने छ । यही पोखरीमा माछा पाल्न मिल्ने भए त्यो पनि कोशिस गर्ने योजना छ ।

सम्भव भएसम्म नेपाल र नेपालीको गौरव सगरमाथा लगायत मुख्य हिमालहरुको प्रतिकृति (रेप्लिका) बनाइने छ । तेश्रो चरणमा करिब चार वर्षभित्र नेपाली भिलेज यूकेले खरिद गरेको जग्गा मध्येको बाँकी आधा जग्गालाई दुई भागमा छु्ट्टाइने छ । पहिलो भागमा सम्पूर्ण सुविधासहितको पुरै ठेट नेपाली 
रेष्टुरेन्ट हुनेछ । बजार मागलाई मध्यनजर गर्दै सोही अनुसार होम स्टे (बिएण्डबी) बनाइने छ । केही ओल्डएज रेसिडेन्सियल होम बनाइने छ । बांकी जग्गामा स्थानीय निकायसंग सहकार्य गरेर नेपाली पाराका दुई र तीन बेडरूमका घरहरु बनाउने पनि योजना छ ।

अध्यक्षले संसारको जुनै कुनाबाट पनि बेलायत आउने नेपाली तथा गैर नेपालीलाई नेपाली भिलेज यूकेमा एकपटक पुग्नै पर्ने लिस्टमा समावेश गराउने लक्ष्य
रहेको बताए । उनले शुरुमा केवल १० लाख पाउण्डबाट सुरु गर्न लागिएको परियोजना अहिलेकै बोर्ड अफ डाइरेक्टरहरुले पनि गर्न सकिने भएपनि यो नितान्त नेपाल र नेपालीको गौरवसंग जोडिएको योजना भएकाले सक्दो धेरै भन्दा धेरै नेपाली र गैर नेपालीहरुलाई जोड्न खोजिएको प्रष्टयाए ।

अध्यक्ष गुरुङले यो सम्पूर्ण नेपालीले गौरव गर्न सक्ने योजना भएको र यसको शेयर मूल्य पनि अफोर्डेबल रहेको भन्दै सबैलाई आवद्ध हुन अनुरोध गरे । कम्पनीको वेवसाइट नेपाली भिलेज यूके डटकममार्फत सबै जानकारी लिन सकिने पनि उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत आचार्यले पुरै देशले गर्व गर्न सक्ने परियोजना शुभारम्भमा आँफूलाई निमन्त्रणा गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । परियोजनाले नेपाल र बेलायतको सम्बन्ध अझ प्रगाढ हुनेमा आफू विश्वस्त रहेको पनि राजदूतको भनाइ थियो ।

पहिलो चरणको कार्यक्रमपछि यस परियोजनाका शेयरहोल्डर तथा इच्छुकहरुसंग अन्तरक्रिया गरिएको थियो । अध्यक्षले ५ हजार पाउण्ड प्रति शेयर मूल्य राखिएकामा लगभग १०० जना शेयरहोल्डरले आफ्नो एक शेयर प्रतिवद्धता जनाएको र ३० शेयरहोल्डरहरुले रकम पनि ट्रान्सफर गरिसकेको जानकारी दिए ।

उक्त अवसरमा अध्यक्षले ११ जना शेयसहोल्डहरुको संक्षिप्त परिचय दिएका थिए । परियोजनामा रिटायर्ड मेजर खुशीमान गुरुङ एमभीओ अध्यक्ष, मान प्रासाद गुरुङ उपाध्यक्ष, जसु गुरुङ मसेन्स कोषाध्यक्ष, टिकाराम (जीवन) गुरुङ सचिव, विक्रम भट्टराई प्रवक्ता, मधु गुरुङ सदस्य, बालकृष्ण गुरुङ (पवन) सदस्य, शेरा गुरुङ सदस्य, नन्द बयाम्बु सदस्य, लोकेन्द्र श्रेष्ठ सदस्य र गंगा प्रसाद (पवित्रा) गुरुङ सदस्य छन् ।

टिप्पणीहरू