उत्तर कोरियाविरुद्धको नयाँ प्रतिबन्ध प्रस्ताव तुहियो

उत्तर कोरियाविरुद्धको नयाँ प्रतिबन्ध प्रस्ताव तुहियो

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) विरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले राष्ट्र संघीय सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्ताव कोरियाका दुइ छिमेकी राष्ट्र चीन र रुसले विशेषाधिकार (भिटो) लगाएपछि असफल भएको हो ।

परिषद् बैठकमा बोल्दै राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि झाङ चुनले समस्याको राजनीतिक समाधान खोजिनुपर्ने बताउनुभएको थियो । हालको अवस्थामा प्योङयाङविरुद्ध लगाइने थप प्रतिबन्धले समस्या समाधानमा मद्दत नपुर्याउने भन्दै उहाँले भन्नुभयो, ‘यसले उल्टो थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउँछ । कोभिड–१९ महामारीको पृष्ठभूमिमा थप प्रतिबन्धले ठूलो मानवीय दुष्परिणाम निम्त्याउँछ ।’

संयुक्त राष्ट्र संघको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्यहरु रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ । स्थायी सदस्य राष्ट्रमध्ये एउटाले मात्र प्रस्तावको विपक्षमा मतदान गरे त्यो अस्वीकार्य हुन्छ ।

टिप्पणीहरू