किरियापुत्री घर मासेर प्रधानमन्त्री निवास !

किरियापुत्री घर मासेर प्रधानमन्त्री निवास !

तन्त्रमन्त्र र ज्योतिष विद्यामा बढी नै विश्वास गर्ने शेरबहादुर देउवाले तिनैको सल्लाहमा लागेर प्रधानमन्त्री निवास अगाडिदेखि सडक अवरुद्ध गरी ढलको काम गराउन थाल्नुभएको छ ।

बाल्टिन बाबाहरुले दिएको ७ चोटि प्रधानमन्त्री बन्ने अरु २ अवसर बाँकी नै रहेको भन्दै पहिले किरियापुत्री बस्ने घर मासेर बनाइएको ढल अन्ततिर फर्काउन खोज्दा प्रधानन्यायाधीश निवास हुँदै लाजिम्पाट निस्किने सर्वसाधारण सवारीवालाले महिना दिनदेखि दुःख पाइरहेका छन् ।

राजधानीको बालुवाटार आजभन्दा झण्डै पाँच दशकदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा छ । प्रधानमन्त्री, सभामुख (हाल राष्ट्रिय सभा अध्यक्ष) र प्रधानन्यायाधीशको सरकारी निवासको निर्माणपश्चात् उक्त ठाउँले तत्कालीन समयमा राजदरबार र सिंहदरबारपछि छुट्टै महत्व बोक्न थालेको हो ।

०४६ सालको परिवर्तनपछि त्यो महत्वमा निकै बढोत्तरी आयो । ०६३ पछि सिंहदरबारलाई नै ओझेलमा पार्ने गरी बालुवाटारको चर्चा हुन थाल्यो । पछिल्ला वर्ष प्रधानमन्त्रीहरूले सिंहदरबारबाट गर्नुपर्ने ९० प्रतिशतभन्दा बढी काम यहीँबाट गर्न थालेका छन् ।

०७२ सालको भूकम्पले हल्लाएपछि प्रधानमन्त्री निवासभित्रको मुख्य भवनलाई आधुनिक बनाइएको छ । अन्य संरचनासँगै मुख्य सचिवको आवास पनि त्यहीँभित्र बनाई त्यसलाई केपी ओलीको पालादेखि प्रधानमन्त्रीद्वारा कब्जा गरिएको छ ।

केपी ओलीले शिलान्यास गर्नुभएको प्रधानमन्त्री निवासको सुविधासम्पन्न भवनको उद्घाटन र पहिलो प्रयोग गत हिउँददेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न थाल्नुभएको छ । दुई वर्षमा निर्माण सम्पन्न तीनतले भवनमा आधुनिक सबै सुविधा उपलब्ध छ ।

सुरक्षाको दृष्टिले पहिलो तलामा बंकर बनाइएको छ । सुरक्षा खतरा भएको बेला प्रधानमन्त्री र उनका परिवारको सुरक्षार्थ त्यो बनाइएको हो । तीनकुनेको कन्टेक प्राइभेट लिमिटेडले निर्माण गरेको दुई वटा भवनले १३ हजार वर्गमिटर क्षेत्रफल ओगटेको छ ।

२२ कोठाको प्रधानमन्त्री निवासमा जिम हल, योगा हल र पूजा कोठासमेत छन् । ३३ करोड ८० लाख नेपाली रूपैयाँमा बनाइएका भवनमा ज्योतिषले वास्तु नमिलेको भनेपछि केही सातादेखि प्रधानन्यायाधीशको निवासभन्दा पछाडिदेखि सडक बन्द गरेर ढलको नयाँ पाइप बिच्छाइएको छ ।

प्रधानमन्त्री निवासको १ नम्बर गेट भएको ठाउँबाट पहिले सानो खोल्सा बग्थ्यो । प्रधानमन्त्रीनिवास बन्नुअघि उक्त खोल्सोको मुहान शिवपुरी स्कुलदेखि दक्षिणको पाखोसम्म थियो । पछिसम्म पनि बर्खामा तर्न नसक्ने पानी बग्ने उक्त खोल्सोलाई पुरेर प्रधानमन्त्री निवास बनाइएको स्थानीय बताउँछन् ।

त्यहीँ नजिकैका एक जना स्थानीय महर्जनले भने, ‘अहिले १ नम्बर गेट भएको ठाउँमा पहिले किरियापुत्री बस्ने भवन थियो । यो एरियाका मानिसलाई किरिया बस्ने पाटी नै बनाइएको थियो । तर पछि ती सबै मासिए ।’ आवादी बढ्दै गएपछि पहिले पानी बग्ने खोल्सोमा पछि मलमूत्र बग्न थालेको हो ।

त्यही मलमूत्रलाई प्रधानमन्त्री निवास अघिल्तिरको आँगनबाटै ढल हालेर दक्षिणतर्फ पर्खाल बाहिर लगी छाडियो । बर्खामा आउने ठूलो भेल पनि त्यही ढल भएर बग्थ्यो । त्यो ढल कम्पाउण्ड बाहिर पुगेपछि खोल्सोमा परिणत भएर अहिले एनआरएन भवन र भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर रहेको ठाउँ हुँदै लाजिम्पाटको नील सरस्वती थान नजिकै टुुकुचामा मिसिन्छ ।

उक्त ढललाई कम्पाउण्डबाट बाहिर लैजान ज्योतिषले सल्लाह दिएपछि प्रधानमन्त्री निवासको ढललाई समेत १ नम्बर गेटबाट बाहिर निकालिएको छ । ढललाई प्रधानन्यायाधीशको क्वार्टर हुँदै दक्षिणमा खोलिएको नयाँ बाटोबाट मुख्य सचिवको निम्ति बनाइएको भवन नजिकै पु¥याउन खोजिएको छ ।

त्यहाँ पुगेपछि उक्त ढललाई फेरि खुला छाड्ने योजना बनाइएको वडा नम्बर ४ का एक जना कर्मचारीले बताए । प्रधानमन्त्री निवासको मुख्य भवनको आँगनमुन्तिरबाट बाहिरको ढलसमेत बगेर जाँदा वास्तु खल्बलिएको ज्योतिषको भनाइ छ । अहिले त्यही ढललाई मोडेर पश्चिम हुँदै दक्षिणतर्फ लैजान एक करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ ।

टिप्पणीहरू