कतै हाम्रो आँशुले त पोलेन कमरेड !

कतै हाम्रो आँशुले त पोलेन कमरेड !

‘भाइ फुटे गँवार लुटे’ भनेझैँ ६५ प्रतिशत कम्युनिष्ट मतदाता रहेको मुलुकमा फेरि पनि जय नेपालकै पासा पल्टने संकेत मिल्दै छ । जसरी प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसले अहिले शासनसत्ता चलाइरहेको छ, ०७४ को स्थानीय निर्वाचनमा होस् वा ०७९ मा तालमेलका नाममा उही कांग्रेसले फाइदा लिएको प्रष्टै देखिएको छ ।

आज माओवादीको यो हविगत हुँदा मन दुख्छ । कारण– हिजो म र मजस्ता हजारौं युवा राज्य रूपान्तरणको सपना बोकेर माओवादी बनेका थियौं । तिनताक जुँगाको रेखी बस्दै गर्दा अर्थात् १६ वर्षको उमेरमै माओवादीमा लागियो, यही युद्धमा लागेका कार्यकर्तालाई भ¥याङ बनाएर नेताहरू करोडपति बने । तर, कार्यकर्ता भने करोडपति । माओवादीमात्रै नेतृत्वको जीवनशैलीप्रति असन्तुष्ट हुँदै कोही खाडी भासिए, फेरि पनि कोही यतै छन् ।

आखिर बर्मा पुगे पनि कर्मसँगै भन्छन् । दुई दशकअघि माओवादी बन्दा सपना देखिएको थियो सुन्दर नेपालको पेन्टिङ गर्ने, समाजको असमानता, गरिबीको फोहोर हटाएर समानताको रंगले देशलाई ‘श्रृंगार्ने’ तर, खै कहाँ गल्ती भयो ? हिँड्न जानिएन कि ? कहाँको बाटो हिँडेको थिएँ, कुन ठाउँमा आइपुगें । कहिलेकाहीँ आफैँ हिँडेको बाटो देखेर अचम्मित हुन्छु र लाग्छ पश्चाताप ।

माओवादी कसरी भएँ आफैलाई रोचक लाग्छ । ७ कक्षामा पढ्दै थिएँ । १६ वर्ष जुंगाको रेखी बस्दै गर्दाको समय, शनिबारको दिन नुवाइ धुवाई गरेर बसेको बेला गाउँमा माओवादीको साँस्कृतिक कार्यक्रम थियो, त्यही राति मेरो घरमा ती कलाकार बास बसेका थिए । म सानैदेखि नाच्ने गाउने गर्थें । नाच्न त साह्रै रहर लाग्थ्यो । यस्तो लाग्थ्यो नशा नशामा कलाकारिता छ । त्यही नाच्ने/गाउने रहरको हुटहुटीले माओवादीमा सामेल गराइदियो । २०५७ सालमा देश तत्कालीन माओवादी र सेनाबीचको कुरुभूमि बनेको थियो । म जन्मेको सुदूरपश्चिम पनि त्यो आगोबाट अछुतो रहन सकेन ।

माओवादीले समानताको सपना बाँडेका थिए । तर, त्यो सपना देख्नेहरूमाथि राज्यले हत्कडी लगाउँथ्यो । त्यस्तो आँधीको बेला कक्षा सातको किताब एकातिर थन्क्याएर म भने बन्दुकको नाल समाउन पुगें । पढाएर ठूलो मान्छे बनाउने सपना देखेका बुवा विचलित बन्नु स्वाभाविक थियो । म घरको सबैभन्दा कान्छो छोरा, माओवादी भएपछि बुवा एक महिनासम्म मलाई फर्काउन पछि लाग्नुभयो । तर, सक्नु भएन, थाकेर छाड्नुभयो । एकातिर मेरो मनले भन्थ्यो डान्सर बन । उता समाजमा ‘ठूलो’ मान्छे बनाउने बाबुको रहर । दुवै रहर एकअर्काका विरोधी । त्यसैले बाटो छुट्टियो । बाबुको सपना बीचमै तुहियो ।

यद्यपि, माओवादी किन र कसरी भएँ थाहा थिएन, माओवादी बन्दा सपना के हो ? पार्र्टी के हो ? केही थाहा थिएन, तैपनि माओवादी भइयो । एउटा आँधी हुरीले राजनीतिमा हिँडायो । तर, सपना, लक्ष्य, सिद्धान्त केही थाहा थिएन । म नाच्न पाउने इच्छाले माओवादी भएको थिएँ । कलाकार भएँ । कलाकारतर्फ जोडिएको तीन महिनामा पार्र्टीको सदस्यता पाएँ जबकि त्यो समय, माओवादी पार्र्टीको सदस्यता पाउन घटीमा ६ महिना र बढीमा एक वर्ष लाग्थ्यो । अहिलेजस्तो आलु, प्याजको भन्दा पनि कम भाउमा कहाँ पाइन्थ्यो र माओवादी पार्र्टी सदस्यता ? सुदूरपश्चिमका सबै जिल्लामा नाँच्दै हिँडें । मेरो साँस्कृतिक यात्रा बाजुरा हुँदै कालिकोट र पछि पुनः सुदूरपश्चिमका सबै जिल्लाहरूमा पुग्यो, ’ कालिकोटका डाँडाहरूमा क्रान्तिकारी गीतमा कम्मर मर्काएर कयौंलाई रुवाइयो । यस्तै गीतमा नाचेर धेरैलाई माओवादी बनाइयो ।

२०६/६३ को आन्दोलनपछि माओवादीका नेताहरू मन्त्री बने । समय फेरियो । नेताहरूको जीवनशैली फेरियो । चप्पलमा हिँड्ने नेताहरू बोलेरो र स्कोर्पियोमा देखिन थाले । कलाकारहरू ‘युज एण्ड थ्रो’ भए । कुनै बेला आशाको किरण बनेका नेताहरू बाटोमा भेट्दा नचिने जस्तो गर्न थाले । समाजवाददेखि साम्यवादसम्म पुग्ने म र म जस्ता कलाकारहरूको सपनाको आकाशमा बादल मडारिन थाल्यो । शान्तिप्रक्रियामा माओवादी आएको १० वर्षको समयमा नेता र कार्यकर्ताबीचको सम्बन्ध तार टुटेको सारंगीजस्तै हुन पुग्यो । कलाकारको भोक नेता, मन्त्री र सांसदहरूले मेटाउन सकेनन्स/क्दैनन् पनि । तार टुटेका सारंगीले कसरी मीठो धुन दिन सक्ला र ? ठीक उस्तै हालत भयो माओवादीमा होमिएका कलाकारको जीवन पनि ।

माओवादीभित्र कलह भयो । त्यो कलह पार्र्टी विभाजनको तहसम्म पुग्यो । कलाकार पनि विभाजित बने । विचलित बने । हिजो सँगै हिँडेका साथीसंगी बिरानो/पराई बन्न थाले । कोही रातारात क्रान्तिकारी बने, कोही गैरक्रान्तिकारी । कोही गद्दार बने, कोही लाल गद्धार । म आफैं कहिले प्रचण्ड, वैद्य, विप्लव हुँदै अनेकन माओवादीको फेरो समात्न पुगें । आज पनि मेरा धेरै सहपाठीहरू खाडीमा पैसासँग पसिना साँटिरहेका छन् । म मा भने जाने सपना पलाएन ।

स्वदेशमा रहेका केही साथी डालोभरि बदाम बोकेर जीवन गुजारा गरिरहेका छन् । हामीजस्ता कलाकारहरू लाखापाखा लाग्दा, यही पार्र्टीमा भित्रिएका चैते कलाकारले राज जमाएको देख्दा मन कुँडिन्छ । तर, पीरले मात्र कहाँ चल्छ र जिन्दगी ? प्रकाश सपुतको एउटै पीर गीतले माओवादीको साँस्कृतिक फाँट मात्र होइन, माओवादी केन्द्रमै हलचल भयो तर पिरलो मात्र गरेर जिन्दगी चल्ने होइन रहेछ । कहिलेकाहीँ लाग्छ, कुन बाटो हिँडिएछ अञ्जानमा । कहिले लाग्छ जे गरियो सन्तान र दरसन्तानका लागि ठीक गरियो ।

कुनै समय थियो माओवादीका कार्यकर्ता भनेका मैलाधैला, मेहनती हुन्छन् । समाज देश बुझेका हुन्छन् । त्यति मात्र होइन, सबैभन्दा प्यारो आफ्नो जीवन पनि बलिदान गर्न हिँडेका छन् समाज परिवर्तनका लागि भन्ने ठानिन्थ्यो । तर, शान्ति प्रक्रियापछि यो मानक भत्कियो । सबैभन्दा सोखिन, विलासी र काम नगरेर खानेमा माओवादी कार्यकर्ता अग्रपंक्तिमा देखिन थाले । देश परिवर्तन गर्न हिँडेका मान्छे आफैं विचलित बन्न पुगियो । भोको पेटले क्रान्ति सम्भव थिएन । खाडी मुलुकतिर भासिन मनले मानेन । मरे यही माटोमा मर्छु, गरे यही माटोमा केही गर्छु भनेर लागियो । यहीं के गरौं ? गर्न सक्ने केही थिएन ।

पार्टी सत्तामा हुँदा हामीजस्ता कार्यकर्ताका लागि केही गरेन । गर्नु थियो आफ्नै हातका नंग्रा खियाउनु, त्यसैले पेन्टिङ सिक्न थालेँ अर्थात् अरुका घरका भित्ता पोत्ने काम गर्न थालेँ । माओवादीका गीतमा नाच्न खप्पिस मलाई पेन्टिङ सिक्न भने झण्डै एक वर्ष लाग्यो । यद्यपि, माओवादी हुन भने समय लागेको थिएन । देशलाई रंगिन बनाउने सपना देखेका मान्छे आज शहरका साहुको घरहरू रंग्याउँदै हिँड्छु । कहिले नयाँ घर, कहिले पुरानो घर । एउटै कुरा बुझेको छु, काम सानो ठूलो हुँदैन र कामलाई सम्मान गर्नुपर्छ । त्यही कारण आज म आफ्नै मातृभूमिमा छु, नेपाली दाजुभाइसँगै छु ।

भन्छन् नि ! मान्छेलाई बाध्यताले धेरै सिकाउँछ । बाँच्नुपर्छ । आफू मात्र बाँचेर भएन, परिवार पनि बचाउनुप¥यो । यसका लागि केही न केही त गर्नै प¥यो । त्यही भएर पेन्टरको काम गर्दै छु, पाए ठेक्का लिन्छु । नपाए अरु साथीभाइसँग मिलेर काम गर्छु । जिन्दगी चलाइरहेको छु । कमाइ त के हुन्छ र ? दुई छाक दाल, भात खान जसोतसो पुगिरहेकै छ । आजसम्म कसैसँग हात पसारेर खान परेको छैन ।

१० वर्षे जनयुद्धमा लागेको भए पनि विवाह भने जिल्लामै गरियो । त्यो पनि प्रेम विवाह । श्रीमती अहिले कृषि जेटीए पढिरहेकी छन् । मैले पनि शान्तिकालमा आएपछि एसएलसी र बाह्र कक्षासम्म पास गरेँ । प्लस टु उत्तीर्ण गरे पनि माओवादीको साइनो लगाउँदै जागिर खोज्न नेताहरूको दैलो दैलो चहार्न खै किन हो किन मनले मानेन । जानेको काम यही थियो पाखुरी बजार्ने । यही काममा गर्व गरिरहेको छु । एक छोरी, श्रीमती र आफ्नो जीवन धानिरहेको छु । अहिले पनि जनयुद्धताकाको त्यो जलजलाउँदो माओवादीको खोजीमा छु । जनयुद्धले सुतेको मान्छे उठायो, उठेका मान्छे हिँडायो । हिँडिरहेको मान्छे दौडायो ।

माओवादी जनयुद्धले देशको कुना–कुनामा राजनीति पु¥यायो । हजारौंको सपना जोडिएको हिजोको माओवादी आफैँ कठै आज कहाँ पुग्यो ? तालमेलका नाममा चुनावी गठबन्धन गर्दासमेत कहिले एमाले त कहिले कांग्रेससँग गिडगिडाउनुपर्ने अवस्थामा आज माओवादी किन पुग्यो ? निर्वाचनमा मतदान गर्न गाउँ पुगें । खै हिजोका माओवादी ? किन हँसिया हथौडामा स्वस्तिक छाप हान्न जनता मानिरहेका छैनन् ? खै हिजोको माओवादीको एजेण्डा ? किन र कसको कारण आज माओवादी यो स्थितिमा पुग्यो ? कुनै समय सग्लो माओवादी आज अनेक नाममा कसको कारण टुट फुट हुनुपर्ने स्थितिमा पुग्यो ? कतै माओवादिलाई हामीजस्ता भुइँ तहमा रहेर काम गरेका इमान्दार कार्यकर्ताको आँशु त लागेन ?

– बोधराज कडारा

टिप्पणीहरू