तिब्बती स्वतन्त्रतालाई समर्थन नगर्न अमेरिकालाई चीनको आग्रह

तिब्बती स्वतन्त्रतालाई समर्थन नगर्न अमेरिकालाई चीनको आग्रह

चिनियाँ विदेश मन्त्रालयले तिब्बतलाई चिनियाँ हिस्साको रूपमा स्वीकार गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न र तिब्बतसम्बन्धी मुद्दाहरूको बहानामा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेको छ ।

यो भनाइ,अमेरिकी उप विदेशमन्त्री तथा तिब्बत मामिलाका लागि विशेष संयोजक उज्रा जेयाले बिहीबार दलाई लामासँग गरेको भेटघाट र नेपालस्थित तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने तयारीवारे प्रतिक्रिया दिन आग्रह गर्दा प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा गरेका टिप्पणी हुन् ।

जेयाले बुधबार “निर्वासित तिब्बती सरकार”का प्रमुख र भारतमा रहेका केही तिब्बती प्रतिनिधिहरूसँग भेट गर्नुभएको थियो । प्रवक्ता झाओको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, “तथाकथित “निर्वासित तिब्बती सरकार’ बाहिर रहेको एक पृथकतावादी राजनीतिक समूह हो भने चीनको संविधान र कानूनको उल्लङ्घन गर्ने एउटा अवैध संगठन पनि हो” जसलाई विश्वको कुनै पनि देशले मान्यता दिएको छैन ।

“१४ औं दलाई लामा धार्मिक व्यक्तित्वको भेषमा राजनीतिक निर्वासनमा परेका हुन् । उनी लामो समयदेखि चीनविरोधी पृथकतावादी गतिविधिमा संलग्न छन् र तिब्बतलाई चीनबाट विभाजन गर्ने प्रयासमा छन्,” प्रवक्ताले भने।

उनले भने- तथाकथित “तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक” को नियुक्तिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको छ । चीनले यसको कडा विरोध गर्दै आएको छ र यसलाई कहिल्यै स्वीकार गरेको छैन । संयुक्त राज्य अमेरिकाले तिब्बतलाई चीनको हिस्साको रूपमा स्वीकार गर्ने र “तिब्बतको स्वतन्त्रता”लाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न ठोस कदम चाल्नु पर्छ,झाओले भने।

उनले संयुक्त राज्य अमेरिकालाई तिब्बतसम्बन्धी मुद्दाको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न र दलाई गुटको चीनविरोधी पृथकतावादी गतिविधिलाई कुनै समर्थन प्रस्ताव नगर्न पनि आग्रह गरे। “चीनले आफ्नो सार्वभौमसत्ता,सुरक्षा र विकास हितको रक्षा गर्न आवश्यक कदम चाल्ने छ,” उनले भने।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू