नाम्ग्याले पनि छाड्न लागिन् नेपाल

नाम्ग्याले पनि छाड्न लागिन् नेपाल

भूराजनीतिक अवस्थितिका कारण चीन र भारतका लागि नेपाल कति महत्वपूर्ण देश हो भन्ने जान्नका लागि यहाँ ती देशले पठाउने कूटनीतिक क्षेत्रका कर्मचारी हेरे पुग्छ । देश, रणनीतिक महत्व र कूटनीतिक परिचालनका संवेदनशीलतालाई नेपालमा जथाभावी गरिए पनि विदेशीहरु कति चनाखो छन् भन्ने कुरा पनि यो प्रसंगले पुष्टि गर्छ ।

भारतले आफ्नो देशमा विदेश सचिव, गुप्तचर संस्था ‘रअ’ को प्रमुख, प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार हुने मान्छेहरुलाई नेपालमा कूटनीतिक जिम्मेवारी दिएर पठाएको प्रशस्तै उदाहरण छ ।

आलोक जोशी, शिवशंकर मेनन्, श्यामशरण, टी. हर्मिस, महाराज कृष्ण रसगोत्रा, विवेक जोहरी, एस दुलत, पिटर हनोमन विनयमोहन क्वात्रा त केही त्यस्ता पात्र हुन् जसको भविष्य नेपालबाट फर्केपछि झन उज्वल भयो ।

विनयमोहन क्वात्रा कार्यकाल सिध्याएर विदेश सचिवको जिम्मेवारी सम्हाल्न दिल्ली फर्किएलगत्तै उनको सट्टा कार्यवाहक राजदूतको काम हेरिरहेकी डिसिएम नाम्ग्या सी. खम्पाले पनि नेपाल छाड्ने भएकी छन् । नेपाली समाजको प्रतिबिम्बन हुने दार्जिलिङकी चेली हुन्, उनी ।

२२ वर्षको कूटनीतिक करिअरका महत्वपूर्ण ७ वर्ष गरी २ चोटी चीनस्थित भारतीय दूतावासमा कार्यरत रहेकी र भलादमी स्वभावकी उनलाई भारत सरकारले सैनिक शासन रहेको देश म्यानमारमा राजदूत नियु्क्त गरेको छ ।

यससँगै चीनको राजधानी बेइजिङमा दुई कार्यकाल कार्यरत रहेका नवीनकुमार श्रीवास्तव नेपालका लागि नयाँ राजदूत तोकिएका छन् । २ वर्षअघि भारत–चीन सीमामा झडप हुँदा विवाद सल्टाउन भएको सैन्य वार्तामा चाइना डेस्कसमेत हेर्दै आएका उनी संलग्न थिए ।

३ वर्ष बेइजिङ बसेका राघवप्रसाद भटनागर र एके हल्दरले नेपालमा ‘र’ प्रमुख भएर चलाएकै हुन् । नाम्ग्याको ठाउँमा भने बेइजिङमै बसेका पोलिटिकल काउन्सिलर (हाल चाइना डेस्क हेर्ने उपसचिव) प्रसन्नकुमार श्रीवास्तवको पोष्टिङ भएको छ ।

उनी एक महिनादेखि नेपालमा छन् । अस्ति सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका दौरान काठमाडौं–भैरहवा आवतजावत गरिरहेका थिए । अबको १५–१६ दिनपछि नाम्ग्या जिम्मेवारी सम्हाल्न दिल्ली गई त्यहाँबाट सपरिवार म्यानमार पुग्दैछिन् ।

खासमा नेपालमा उनको कार्यकाल सकिएको हैन । उनका पति पनि कुनै देशमा दोस्रो हैसियतको डिसिएमको जिम्मेवारीमा थिए । पतिले अवकाश पाएपछि बालबच्चाको स्याहार गर्नुपर्ने भनेर काठमाडौंबाट सरुवा मागेकी थिइन् । अब अवकाशप्राप्त पति र बालबच्चासहित उनले म्यानमारको तीन वर्षे कार्यकाल शुरु गर्ने छिन् ।

टिप्पणीहरू