मुख्यमन्त्रीको पिएबाट सोझै अध्यक्ष

मुख्यमन्त्रीको पिएबाट सोझै अध्यक्ष

नेता दाहिने भएपछि कसको के लाग्छ र ! न पार्टीमा लागेर दुःख गर्नुपर्ने न कुनै संगठनमा बसेर काम गर्नुपर्ने । भाग्यमा भए दूध पनि डोकोमा अडिन्छ रे । त्यस्तै भयो क्व्होलासोथार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सूर्य गुरुङलाई ।

गण्डकी विकास बैंक लमजुङ शाखाका जागिरे सूर्य गुरुङ्ग पृथ्बीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री भएसंगै स्वकीय सचिव बने । मुख्यमन्त्रीको पिए बनेसंगै बढेको राजनीतिक सक्रियताले आज उनलाई पालिकाको अध्यक्षजस्तो जिम्मेवारी सुम्पेको छ त्यसमा पनि पाँचदलीय गठबन्धनलाई क्लिनस्विप पार्दै ।

मनोनयन दर्ताकै दिन मालिङ्गे साइला भनेर चिनिएका कांग्रेसी नेता खजिन्द्र गुरुङले रमितै देखाए । जिल्ला सभापतिमा पराजित भएका आफ्नै पार्टीका गमप्रसाद गुरुङलाई ढुंगा टिपेर ताहुरमाहुर मात्रै गरेनन् निर्वाचनमा खटिएका कर्मचारीलाई सुन्नै नसकिने शब्दले गाली बेइज्जती गरे,त्यही कारण पनि कांग्रेसको आफ्नो गढ मानिएको २ नम्बर वडा मालिङमा समेत कांग्रेस बढारियो।

अघिल्लो निर्वाचनमा एमालेका प्रेम घलेले लामो समयअघि शिक्षण पेशाबाट अवकाश लिएका रघुनाथ गुरुङलाई फराकिलै मतान्तरले पराजित गरेका थिए । घलेले ३१ सय ४४ मत प्राप्त गर्दा गुरुङले १९०० मत मात्रै ल्याए । उता उपमेयर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकी श्रीमती ३३ सय ११ मत प्राप्त गरेर विजयी हुँदै गर्दा प्रतिस्पर्धी मनकुमारी गुरुङले १७ सय ४७ मत प्राप्त गरेकी थिइन् । गएको कार्यकाल एमालेका दुवै प्रतिनिधि पालिकामा खासै देखिएनन् । अध्यक्ष घले कृषक जागरण नामक सहकारीको अध्यक्षसमेत भएकाले उनको कार्यकाल सदरमुकाम बेसीशहरमा बसेरै बित्यो भने मुख्यमन्त्री श्रीमती मुन्नीको कुरै भएन । एक हिसाबले पालिका कर्मचारीकै भरमा चलेको भनेपनि भो ।

आज उनै मुख्य मन्त्रीको स्वकीय सचिवले पालिका अध्यक्षमा ३८सय ५६ मत ल्याएर कांग्रेसका टेकबहादुर गुरुङलाई १३ सय ६७ मतले पराजित गरेका छन् । उपमेयरमा कांग्रेसकी जिल्ला कोषाध्यक्ष सिर्जना गुरुङलाई एमालेकी गमिमाया गुरुङले १६४९ मतान्तरले पराजित गरिन् । गमीले ३९ सय ८९ मत प्राप्त गरेकी थिइन् । सार्क भिलेज घलेगाउँ रहेको यस पालिकामा रहेको ९ वडामा गठबन्धनका दलले एउटा वडा सदस्यसमेत जित्न सकेन ।

१० हजार ३२ जनसख्या रहेको यो पालिकामा ९२ सय ९८ मतदाता रहेता पनि ८ हजारको हाराहारीमा मत खसेको थियो । रोचक कुरा त वडा नम्बर १ बगुम मा भाइ पेमा गुरुङ एमालेबाट उम्मेदबार र विजयी बन्दै गर्दा उनका सहोदर दाइ भुवरजंग गुरुङ मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट पालिका अध्यक्षमा भिडेका थिए । गुरुङले ५१ मत ल्याए ।

सो पालिकामा गुरुङपछि दलितको राम्रो जनसंख्या भएपनि न अन्य कुनै जातिका मान्छेले टिकट पाउने र जित्ने हुन्छ न कुनै महिलाहरु नै वडा अध्यक्ष बन्न सक्छन् । सो पालिकाको वडा नंं २ मा खुशीमान गुरुङ,३ मा आशविर गुरुङ, ४ मा नारायण गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा लक्ष्मण गुरुङ, ८ मा सन्तोष घले र ९ मा हुमराज गुरुङले जितेका छन् । अघिल्लो निर्वाचनमा वडा नं. २ र ८ आत्रै भएनी कांग्रेसले जितेको थियो।

-अञ्जनकुमार

टिप्पणीहरू