कति चाँडै जनताले एमसिसी बिर्सिए

कति चाँडै जनताले एमसिसी बिर्सिए

चुनावमात्रै हैन, सिंगो देशको राजनीति जित्ने कुरा चानचुने हैन । ०७४ को पराजयपछि सरकार त टाढाको कुरा प्रतिपक्षीका रुपमा पनि भूमिकाविहीन बन्ने उनै शेरबहादुर देउवा अहिले सिंगो राजनीतिलाई जितेर अगाडि बढ्दै हुनुहुन्छ ।

एउटा व्यक्तिको दम्भले स्वयं आफू, आफ्नो सरकार र पार्टी क्षतविक्षत हुन पुग्यो । फलतः ०७४ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा २३ सीट जित्ने कांग्रेसलाई संसदको आखिरी कार्यकालमा तीनै तहको चुनाव गराउनेदेखि देशकै नेतृत्व गर्ने मौका आइलाग्यो ।

तर, यो अवसरलाई सम्भव तुल्याउनेहरुको हालत के भयो ? भर्खरैको स्थानीय तह निर्वाचनमा राजनीतिक घटनाक्रमको केन्द्रीय पात्रका रुपमा अनेकन जोखिम मोलेर अगाडि बढ्ने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले मिलीमिली पछाडि पारिदिए । धेरै ठाउँमा गठबन्धन नै भएन, भएका ठाउँमा पनि मत दिने कुरामा कञ्जुस्याइँ भयो ।

देउवाले प्रधानमन्त्री हुने, चुनाव गराउनेदेखि एमसिसी पारित गराउनेसम्मको चाँजोपाँजो उनैको बुई चढेर मिलाउनुभयो । एमसिसीबारे अनेक अड्कल काटियो । पारित गर्नेलाई जनताले चुनावमा देखाउँछन् भनियो । तर, चुनावसम्म पुग्दा जनताले एमसिसी बिर्सिए ।

यदि, बालेन अग्रताको अहिलेसम्मकै परिणामलाई मान्ने हो भने काठमाडौं महानगरमा आगामी पाँच वर्ष थेगिनसक्नुको दुर्गती देख्नुपर्ने भएको छ । किनभने, महानगरका ३२ मध्ये २२ वडामा एमालेको अग्रता छ, तर मेयर उसले जित्दैछैन । जित्ने मेयरसँग वडामा एउटा सदस्य पनि साथ नहुने भए ।

अर्थात् सिपाहीबिनाका सेनापति । त्यसो त काठमाडौंको मतलाई अहिलेकै गणना संख्याका आधारमा ठहर गरिहाल्ने स्थिति छैन । ०७४ मा रञ्जु दर्शनाले २३ हजार मत, किशोर थापाले विवेकशीलबाट १८ हजार ४ सय ९६ भोट ल्याउँदा पनि दोस्रो हुन नसकेको ठाउँ हो ।

बालेन त अहिलेसम्म १५ हजारभन्दा केही बढी ल्याएका उम्मेदवार न हुन् । तर, बालेन र उनको चुनाव चिह्नको लहरचाहिँ अचम्मको छ । काठमाडौंको लहरले गर्दा नजिकैको नागार्जुन नगरपालिकामा एकजना स्वतन्त्र उम्मेदवारले चुनाव नै जितिदिए ।

अर्कातिर नेपाली कांग्रेस र माओवादी केन्द्रका लागि यो चुनाव अर्को अवसरमा परिणत भएको छ । एक्लै चुनावमा गएको भए अहिलेको नतिजा सम्भव हुने थिएन । त्यसैले अबको प्रतिनिधिसभा र प्रदेशमा देउवा र प्रचण्डका लागि आफू र पार्टी पनि जित्नु छ । उहाँहरूले यही गठबन्धन कायम राखेर जानुको विकल्प छैन ।

मूलधारको राजनीतिमा पहिलो परीक्षणमा उत्रिएको सिके राउत तराईमा अर्को शक्तिका रुपमा उदय भएका छन् । उनको जनमत पार्टीले सात पालिकामा अग्रता लिएको छ । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकामा उनका उम्मेदवार वीरेन्द्र माझीको अग्रता राम्रो छ । एउटा वडामा प्यानलसहित जितिसकेको छ । जसपाको वडाध्यक्षले ११ सय ८६ ल्याएकोमा जनमतका सुरेन्द्र मण्डलले १६ सय ७० ल्याएर जितेका हुन् ।

अहिलेको चुनावी राजनीतिले नेकपाको विप्लव समूहतिर बढी निराशा छाएको छ । विभाजनले संस्थापनलाई खासै क्षति त हुँदैन । तर, संसदीय व्यवस्थाको पूरै भण्डाफोर नहुने, त्यो व्यवस्थामा पूरै प्रवेश पनि नहुने स्थितिमा पुगेको छ ।

विप्लवलाई छोडेर जानेमध्ये खासै विवादमा नमुछिएका शरद रसाइली र गोरखाका रितेस हुन् । पूर्वका निर्मल आत्मसमर्पण गरेका व्यक्ति हुन् । सुदर्शन, गुणराजहरु पार्टीमै बसेको भए पनि विभिन्न अभियोगमा कारवाहीमा पर्नै लागेका थिए ।

देशभरिमा जम्मा सात जिल्लाका सेक्रेटरी विभाजनमा गए । उक्त पार्टीले मनाङबाहेक सबैतिर संगठन बनाएको छ । विप्लवका लागि एउटै खतरा हो, वर्गसंघर्षले मात्रै तलको मान्छे आउने हो । यस्तो गरेपछि वर्गसंघर्ष नहुने भयो, माथिकाले पनि नपत्याउने भए ।

टिप्पणीहरू