मोदीको फोटो खिच्न बोलाएर पत्रकारलाई गेटमै मारमुङ्ग्री

मोदीको फोटो खिच्न बोलाएर पत्रकारलाई गेटमै मारमुङ्ग्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रमको समाचार संकलनका लागि गएका पत्रकारमाथि नेपाली प्रहरीले ज्यादती गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघको कपिलवस्तु र लुम्बिनी शाखाले आज छुट्टाछुट्टै विज्ञप्ति निकालेर समाचार संकलनमा सुरक्षाकर्मीले पुर्याएको अवरोधको विरोध गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर हिजो लुम्बिनी आएका थिए । मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र दुवै देशका उच्चपदस्थ अधिकारीहरु सहभागी कार्यक्रमको रिपोर्टिङका लागि पत्रकारलाई पनि त्यहाँ निम्त्याइएको थियो । तर,समाचार संकलनमा पुगेका पत्रकारलाई सुरक्षाकर्मीले दुर्व्यवहार गर्दै बाहिर निकालेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

कार्यक्रमको फोटो खिच्दै गरेका महासंघ लुम्बिनी प्रदेश सदस्य तथा एभिन्युज टेलिभिजनको कपिलवस्तु संवाददाता गोपाल भण्डारीलाई नेपाल प्रहरीका डिएसपी नवरत्न पौडेलले धकेलेर बाहिर निकाल्दै दुर्व्यवहार गरेको विज्ञप्तिमा भनिएको छ ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका पर्यटन मन्त्री प्रेमकुमार आलेले पठाएको निमन्त्रणा पत्रका आधारमा कार्यक्रमस्थलमा पुगेका अरु पत्रकारमाथि पनि सुरक्षा निकायबाट अवरोध पुर्याइएको बताइएको छ । समाचार संकलनमा अवरोध गर्ने प्रहरी अधिकारीको यस्तो हर्कत संविधानले गरेको पूर्ण प्रेस स्वतन्त्रता विपरित भएको महासंघको ठहर छ ।

 

टिप्पणीहरू