पाखण्डपनको पनि सीमा हुन्छ हो कमरेड ?

पाखण्डपनको पनि सीमा हुन्छ हो कमरेड ?

-दिनेश रायमाझी

दुई वटा त के तीन वटा नेपाल भेटिन्छन् एउटै नेपालभित्र भन्दा हुन्छ ! बिचित्र छ यहाँ तर यसप्रति कसैलाई लाज शरम छैन,अफसोच र पश्चाताप छैन । आफ्नो ज्ञान,विद्वता र बिचारप्रति इमानदारिता छैन । एकदम सामान्य कुरा हो पानी । तर यो मान्छेको प्राणसंग सम्बन्ध राख्ने बिषय हो । आज पानीबाट कुरा शुरु गरौं ।हामी सबैलाई बाँच्न पानी चाहिन्छ । पानी सबैको निम्ति उत्तिकै बराबर महत्त्वको बिषय हो । बालकदेखि बृद्ध तथा महिला र पुरुष सबैको निम्ति बराबर आवश्यकताको कुरा हो पानी । तर देश कस्तो छ अथवा देशमा हालत कस्तो छ भने पानीमा समेत असमानता छ। भरपेट खानेकुराको त कुरै नगरौं ।

एकथरी धेरै हुने खाने छन् र पावरमा पनि तिनीहरु नै छन्। तिनले सरकारी पैसामा अर्थात सित्तैमा मिनरल वाटर खान्छन् । मिनरल वाटर खान तिनलाई पैसा लाग्दैन ।अफिसमा बोतलको खान्छन् र घरमा ट्याङ्करले ल्याएको खान्छन् । तुरतुरे धारोबाट झरेको पानी खान्नन् तिनले । यो वर्ग धेरै शक्तिशाली छ देशमा । यिनकै रजगज चल्छ । यिनकोलागि देशमा उन्नत खाले समाजवाद छ । पालिकाको मेयर को हुने,राजदूत को हुने,अख्तियार प्रमुख,लोकसेवा प्रमुख को हुने,सेनापति को हुने वा प्रहरी प्रमुख को हुने भन्ने कुराको निर्णय यहि वर्गका मान्छेले गर्छन् ।

अर्को वर्ग छ जो मासिक पैसा तिरी धारामा आउने तुरतुरे पानी मोटरले तान्छ र ट्याँकीमा थुपारेर खान्छ। सामाजिक प्रतिष्ठा (तथाकथित) जोगाउन संघर्ष गर्ने यो वर्ग हुनेखाने र शक्तिशाली वर्गका कारिन्दाजस्ता छन्। जागिर र आउने स्रोत जोगाउन तल्लीन यो वर्ग महङ्गी बढे पनि,स्कुलको फिस बढे पनि,खाद्यान्नको वा इन्धनको भाउ बढे पनि चुईँक्क गर्दैन ।

एक घण्टाको बाटो त्यो पनि जाँदा ओरालै ओरालो र फर्किँदा उकालै उकालो हिँडेर डोकोमा ठूलो गाग्री र त्यो गाग्रीमाथि सानो हत्तरमा पानी बोकेर ल्याई खाने वर्ग छ। यो वर्ग अरु त अरु पानीसमेत सफा पिउनबाट बञ्चित छ। उपल्लो वर्गले धारो कुवा छुन दिन्नन् अझै पनि । छुवाछूत र जातिवादको तुच्छ व्यवहार सहन बाध्य छ । तर यस्ता सामाजिक,साँस्कृतिक असमानता र विभेद हटाउनेतर्फ पूर्ण ईच्छाशक्तिको साथ शक्ति हातमा लिएको,साधन र श्रोत हातमा लिएको वर्ग काम गर्न चाहन्न । यस्तो तहगत समाजलाई यथावत राखिरहने मान्छेहरुले समाजवादको कुरा गर्नु वास्तवमा पाखण्ड ९ज्थउयअचष्अथ० हो । हामी यिनै पाखण्डमा समाजवाद आउने आशा पालिरहेका छौं ।

नेपाली समाजवादीहरुको पाखण्ड अचम्मै लाग्ने खालको छ । हिन्दी सिनेमाका स्टारहरुको भन्दा कम शौकिन जीवनशैली छैन । स्टार सेलिब्रेटीसंग नाच्छन्,तिनलाई साथमा राखेर चुनाव प्रचारमा निस्किन्छन्। तिनले भोट दिलाउँछन् भन्ने दिवासपना बोकेर आफ्नै कार्यकर्ता र समर्थकहरुलाई ह्युमिलियट गर्छन् ।उनीहरुका शहरभन्दा पर गाउँमा ठूलाठूला फार्म हाउस भएजस्तै यिनका पनि जिल्ला र राजधानीमा आलिशान घरहरु छन् । घरधन्दामा सहयोग गर्ने घरेलु कामदारहरु छन् । रोगले गर्दा चाहेर पनि खान नमिल्नेबाहेक चाहेको जे पनि खान्छन् । तीतै स्वाद भए पनि मार्सी चामलको भोजन गर्छन् । तर जनता झुक्याउन तिनले मुसहरको घरमा गएर मुसा खाएको नौटङ्की गर्छन् । गाडी, घोडा, कुकुर बिराला के छैनन् र सिनेमाको बादशाह बस्ने जस्तै गद्दीमा बस्छन् र पुरानो जमानामा भनिने हुक्के,बैठके,द्वारे भन्न मिल्ने मान्छेहरु वरिपरि राखेर सारङ्गी रेट्छन्। घर भाडामा लगाएर आफू सरकारी निवासमा बस्छन् ।

फुट्दा पनि दुई तिहाइ हाराहारीमा जितिन्छ भन्नु दम्भ नै थियो र त्यही दम्भले विवेकपूर्ण र यथार्थपरक निर्णय लिनबाट एमालेलाई रोक्यो । यसैको परिणाम हो दुई भोट, एघार भोटले हार्नुपर्ने बाध्यता आइलागेको ।

कम्पनीमा शेयर राखेका छन् । दाइजोमा सुनका गहना लिन्छन् । जसरी ननुहाए पनि,जनै नलाए पनि ,जप नगरे पनि हिन्दु भइने छुट छ ठीक त्यस्तै,जस्तो राजषी ठाँटवाँटमा बसे पनि,ब्याज असुली गरेपनि ,पुँजीवादका प्रतिनिधिहरुसंग कुम जोड्दै ब्यापारका नाममा सुकुम्बासीका बस्ती उजाड्दै हिँडेपनि यहाँ कम्युनिस्ट हुन पाइन्छ । हामीले तिनैलाई कम्युनिस्ट मान्छौ र यिनले नै हामीलाई समाजवादमा पुर्‍याउने छन् भन्ने आशा गरिरहेका छौं । हाम्रो पनि यो डरलाग्दो भ्रम हो । यो भ्रमबाट हामीले पनि आफूलाई मुक्त पार्नुपर्छ । यो भन्दा पनि अझै ठूलो कुरा त के छ भने तिनैले आफूलाई सबैभन्दा खाँटी कम्युनिस्ट भएको दावा गर्छन् र अरुलाई खिसिट्युरी गर्दै बुर्जुवा भन्छन् । यो अर्को पाखण्ड हो । यस्तै पाखण्डले हामीलाई आजको यो अवस्थामा ल्याइएको हो ।

कतिपय कुराले जनतामा समझदारीको कमी छ कि अथवा कुरा उति बुझ्दैनन् कि भन्ने जस्तो देखिन्छ। तर कुरा त्यस्तो होइन । जनतामा उच्च किसिमको समझदारी छ र धेरै बुझकी पनि छन् भन्ने कुरा मुस्ताङ्ग,घरपोझङ गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार जम्मा दुई भोटले पराजित हुन पुगेको र मलङ्गवामा पनि एमाले उम्मेदवार नै जम्मा एघार भोटले हार्न पुगेको कुराले पनि पुष्टि गर्दछ । माके तथा एसको कुरा नपत्याएर एमालेको कुरा त्यहाँका जनताले पत्याएको भए त दुबैतिरकाले एमालेलाई भोट दिने थिए र एमाले उम्मेदवारले अध्यक्ष पदमा जित हात पार्थे । तर त्यस्तो भएन किनभने जनता आफूलाई लागेको कुरा गर्न स्वतन्त्र छन् र त्यही स्वतन्त्रताको उपभोग गरेर एमालेलाई भोट नदिई हराई दिए । दम्भले अन्धो त बनाउँछ नै साथसाथै अविवेकी र नासमझ पनि बनाउँछ । चीनको कम्युनिस्ट पार्टीपछिको दोस्रो ठूलो दल हुँदा पनि गत चुनावमा काङ्ग्रेससंग लोकपृय मतमा तीब्र प्रतिस्पर्धा रहेको यथार्थलाई आत्मसात गर्न नसक्नु , फुट्दा पनि दुई तिहाइ हाराहारीमा जितिन्छ भन्नु दम्भ नै थियो र त्यही दम्भले विवेकपूर्ण र यथार्थपरक निर्णय लिनबाट एमालेलाई रोक्यो । यसैको परिणाम हो दुई भोट, एघार भोटले हार्नुपर्ने बाध्यता आइलागेको।

जिताउन,जित्न जति कठिन छ,हराउन , हार्न उत्तिकै सजिलो छ। यो पटक राइफलको ट्रिगर तानिएर गोली छुट्यो र त्यसले निशानामा हिट पनि गरिसक्यो । अब ढल्ने वा घाइते हुने भन्दा अर्को उपाय छैन । तर दम्भ त्याग्ने, भ्रमबाट ब्युँझिएर यथार्थको धरातलमा झर्ने हो भने फेरि पनि उपाय छ उठ्ने । त्यो भनेको फेरि पनि एकता नै हो,सबैको सम्मान हो,लोकतान्त्रिक विधि र प्रक्रियाको अनुशरण र अभ्यास नै हो । यसलाई नकारात्मक अर्थमा शिक्षा लिन सक्ने हो भने लिक छोडेको कम्युनिस्टको जित्ने यात्रालाई पुनस् लिकमा ल्याउन सकिन्छ । तर यसको एउटामात्र शर्त छ (दम्भ त्याग्ने र लोकतान्त्रिक विधिअनुसार पार्टीलाई चलाउने । अर्थात हिप्पोक्र्याट नहुने)

जनतामा उच्च किसिमको समझदारी छ र धेरै बुझकी पनि छन् भन्ने कुरा मुस्ताङ्ग,घरपोझङ गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार जम्मा दुई भोटले पराजित हुन पुगेको र मलङ्गवामा पनि एमाले उम्मेदवार जम्मा एघार भोटले हार्न पुगेको कुराले पनि पुष्टि गर्दछ ।

टिप्पणीहरू