उम्मेदवारमाथि खुकुरी प्रहार भएकोमा काँग्रेस रुष्ट

उम्मेदवारमाथि खुकुरी प्रहार भएकोमा काँग्रेस रुष्ट

दोलखामा नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ताबीच झडप भएको छ । कालिञ्चोक गाउँपालिकामा काँग्रेस र एमालेका उम्मेदवारबीच गएराति झडप भएको हो । झडपमा घाइते भएका उम्मेदवारको तर्फबाट उजुरी लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेपछि काँग्रेस रुष्ट बनेको हो ।

गएराति भएको झडपमा एमाले कार्यकर्ता र उम्मेदवारले काँग्रेसका उम्मेदवारमाथि खुकुरी प्रहार गरेको काँग्रेसीहरुको आरोप छ । काँग्रेसको तर्फबाट वडा सदस्यका उम्मेदवारमाथि एमालेका पनि त्यही पदमा उठेका उम्मेदवारले खुकुरी प्रहार गरेको बताइएको छ ।

उनीहरुबीच स्थानीय नर्मीमा झडप भएको हो । नेपाली काँग्रेसका वडा सदस्य उम्मेदवार छत्रबहादुर कार्कीलाई एमालेका पनि सोही पदमा उम्मेदवार रहेका राजेन्द्र कार्की र कार्यकर्ताले सांघातिक आक्रमण गरेको आरोप लागेको छ । राजेन्द्रलाई सरोज ठकुरीले साथ दिएको काँग्रेस कार्यकर्ताको भनाइ छ ।

घाइते कार्कीको टाउकोमा गहिरो चोट लागेकाले सदरमुकाममा उपचार भइरहेको जानकारी दिइएको छ । राजेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिए पनि घटनामा संलग्न भनिएका ठकुरी फरार छन् ।

फरार ठकुरी वर्तमान वडाध्यक्ष केशव ठकुरीका छोरा हुन् भने उनी कृषि विकास बैंकका कर्मचारी समेत भएको बताइन्छ । कालिञ्चोकमा सत्तारुढ तीन दलको तालमेल छ । तर एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको हो ।

टिप्पणीहरू