एमाले प्रवेश गरेका बादललाई माओवादीकै चिन्ता

एमाले प्रवेश गरेका बादललाई माओवादीकै चिन्ता

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमाओवादी नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्रमा वैचारिक विचलन आएको बताएका छन् । आज चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट च्यूत भएको आरोप पनि लगाए ।

माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाई भ्रममुक्त हुन आग्रह गरेका थापा नेकपा एकीकृत समाजवादीमाथि पनि बेस्सरी खनिए । समाजवादीलाई उनले रावणको पुच्छरको संज्ञा दिए ।

आक्रामक भाषण गरेका थापाले शेरबहादुर देउवा नेतृत्वको वार्तमान सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको आरोप पनि लगाएका छन् । बाँडीचुँडी खानका लागि सत्ता गठबन्धन बनेको बताएका उनले गठबन्धन लोकतन्त्र विरोधी भएको दाबी गरे । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उनको अर्को आरोप छ ।

माओवादी जनयुद्धताका सैन्य रणनीतिकारको रुपमा चर्चा कमाएका थापा गतवर्ष सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन भएर एमाले ब्युँतिएपछि त्यता लागेका हुन् । अदालतले एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काइदिएपछि आफूनिकट सबै नेता–कार्यकर्तालाई माओवादीमै छाडेर उनी एमालेमा गएका थिए ।

त्यतिबेला ओलीपछिको वरियता र सहअध्यक्षको आश्वासन पाएर उनले एमाले रोजेको चर्चा थियो । तर, थापा अहिले एमालेमा छैठौँ वरियतामा छन् ।

टिप्पणीहरू