घरदैलो कि मन्दिरदैलो ?

घरदैलो कि मन्दिरदैलो ?

चुनावमा उठे पनि मैदानमा नआएका सिर्जना भाउजू अहिले अलि अलि बाहिर देखिन थाल्नुभएको छ । केही दिन भयो, उहाँ घर दैलो कार्यक्रममा निस्किनुभएको छ ।

तर, घर दैलो कार्यक्रममा हिँडे पनि उहाँ नगरवासीको घरमा कम र मन्दिरमा बढी छिर्नुभएको देखिन्छ । मन्दिर त कहीँ देख्नै हुन्न, उहाँ फुत्त गएर भोट मागिहाल्नुहुन्छ । अतः उहाँको घर दैलोलाई घर दैलोभन्दा पनि ‘मन्दिर दैलो’ भन्दा राम्रो हुन्छ होला । घर घरमा गए पो ‘घर दैलो’, मन्दिर मन्दिर गएपछि त ‘मन्दिर दैलो’ हुन्छ । कसो ?

उहाँको यो मन्दिर दैलो कार्यक्रमबाट के बुझ्न सकिन्छ भने घरमा बस्ने मतदाताले आफूलाई भोट देला भन्ने विश्वास उहाँमा रहेनछ । त्यही भएर उहाँ जनतासँग होइन भगवान्सँग भोट मागिरहनुभएको छ । यो जनताको के भरोसा ? भोट पनि देला कि नदेला । आज दिन्छु भने पनि भोलि नदिन सक्छ ।

भरोसा गर्न सकिने भनेको त भगवान्लाई मात्रै हो । त्यही भएर उहाँ मतदातासँग भन्दा पछि भगवान्सँग भोट मागिरहनुभएको छ । यदि भगवान्को दृष्टि प¥यो भने त मतदाताले भोटै नदिए पनि जित्न सकिन्छ ।

जित्नलाई मतदाताकै भोट चाहिन्छ भन्ने छैन, भगवान्को हात भए पनि पुग्छ । अहिले सिर्जना भाउजू मतदाताको भोटलाई छोडेर भए पनि भगवान्को भोट माग्दै हुनुहुन्छ । कारण यही त होला नि हैन र ?

टिप्पणीहरू