लोकतान्त्रिक रोदनका व्यथा र दक्षदेवको कथा

लोकतान्त्रिक रोदनका व्यथा र दक्षदेवको कथा

एकबिहानै सम्झेँ मैले सोझो बजगाईंलाई । उनको उपनाम थियो योचाहिँ, हाम्रो गाउँलेहरूले राखेका हुन् मायाले । वास्तविक नाम भने हरि बजगाईं हो । माओवादी जनयुद्धले उनको पहिचानलाई चिनाएको थियो कमरेड जमिनको उपनाममा । गाउँलेहरू भन्थे ऊबेला पनि, माओवादी हुनु त यी बजगाईंजस्तो, आँखामा राख्दा पनि नबिझाउने मान्छे पो हुनु भन्थे । तर के गर्नु यिनको काम छैन राजनीतिमा भन्ने पनि थिए केही मान्छेचाहिँ ।

ऊबेला उनको काम छैन, भन्नेलाई खुबै हपारेको र झपारेका हौँ हामीले । तर, आज गुमनाम त्यो सोझो बजगाईं सम्झेर हजारौँ प्रश्न पैदा हुने ऐठान भएको सवालचाहिँ लोकतन्त्र दिवसको शुभकामनाका रामरमितले गरायो । यो घटनाको स्मरण थियो ०६३ वैशाख १० गतेको । नुुवाकोट विदुरमा ठूलो जनप्रदर्शन भयो । हामी उत्साहित हुँदै हुलदंगामा चम्किएका थियौँ । घरेलु कार्यालयको पर्खाल धकेल्ने सुरेन्द्र सर अहिले कांग्रेसका जिल्ला सचिव छन् । जिल्लाभर बमका धमाका मच्चाउने सुरप्रतापको वीरताका सुरो कथा सेना समायोजनको व्यथाले डम्पिङ होला कि पेन्सन पाकेपछि आउला हेर्न बाँकी छ ।

११ गते बिहान हामीसँगै छुटेका कमरेड जमिन र कमरेड शिव पौडेल शीतलले रौँ, रौँ जतिले छलेको शाही सेनाका एलएमजीको गोलीका फोहोरा र गुमाएको अन्तिम शहिदको त्यो अवसर र भोगेको यो राजनीति देखेर के होला त्यो मनमा र सम्हाल्छन् आफैंलाई । यो बेला ईश्वरी बाँस्कोटाले तीतेपातीघारीतिर घुसारेका थिए जनयुद्धको वैचारिक पैरवी गर्ने छाल पत्रिका । त्यो बेलादेखि यो बेलासम्म त पत्रिका माटोमा के मिल्यो होला र जति माओवादीको आदर्श र विचार धुलिसात भएको उराठ मौसम छ ।

गाउँको त्यो अतित सम्झँदै शहर नियाल्दै थिएँ । कोरनाका महामारीले विश्वव्यापी संकट आयो । अब राजनीतिक व्यवस्था बदलिने भयो भन्दै हाहाकार गरेका प्रगतिशील बुद्धिजीवीहरू नेपालमा लोकतन्त्र मासिन लाग्यो र प्रतिगमन हुन लाग्यो भन्दै अलापविलाप गर्न थालेका रहेछन् । यो सुनेर प्रश्न उठ्यो मलाई यो देशमा कहाँ छ दल ? के हो लोकतन्त्र ? अग्रगमन कस्तो हो ? प्रतिगमन के हो ? खोज्ने हुटहुटी जाग्यो मनमा ।
के हो त अग्रगमन ? शब्दार्थलाई छाडेर नियालेँ कहाँ रहेछ त्यो अग्रगमन ? यो देशमा लोकतन्त्र आएको छ भन्ने गरिन्छ ।

ज्ञानेन्द्रको लातले मरेको संसद्वादलाई ब्युँताउँदाचाहि भएको रहेछ अग्रगमन । जननिर्वाचित पहिलो संविधानसभा विघटन गर्दा भएको रहेछ अग्रगमन । खिलराज रेग्मीको नेतृत्वमा भएको सरकार जो न्यायालय र सरकार प्रमुख एकै हुँदा भएको रहेछ । त्यो शक्ति पृथकीकरणविपरित स्वीकार गरिएको रहेछ अग्रगमन । तिनले बनाएको सरकारले गरेको चुनाव र दोस्रो संविधानसभाबाट जन्मँदै गर्दा जनताको रगतको आहालमा पौडी खेलेको, रोगी संविधानले ल्याएको अग्रगमन पाइला–पाइलामा सक्नेहरूले राजनीतिक कु र संवैधानिक कु गर्दै हल्लाएको झण्डा अग्रगमन रहेछ । संविधान अस्वीकार गरेकाहरूको लोकतन्त्र र टुँडिखेलमा संविधान दिवसको पञ्च जुलुस चल्दै गर्दा कालो दिन मनाउँदा थियो रे अग्रगमन ? उदेकलाग्दो छ तर्कहरू ।

भनिन्छ, साझा विचारमा आस्था राख्नेहरूको समूह हो दल । एक विचारको अग्रदस्ता हो दल । वर्गहरूका सचेत दस्ता हो दल । सामाजिक अगुवा हो दल । हजारौँ विचार होला तर राजनीतिको पनि धर्म हुन्छ होला नि ? जसरी आगोले पोल्छ पानीले भिजाउँछ, त्यो आगो र पानीको धर्म हो । त्यो कमल थापाहरूले बेचेजस्तो धर्म होइन नि ! कहीँ–कतै छ त त्यस्तो राजनीतिक धर्म आउनुहोस् केही तथ्यलाई तराजुमा राखेर उचालौँ त !

यथास्थितिवादी, प्रजातन्त्रवादी र अग्रागामीको कित्तामा रहेका दलहरू नियाल्ने हो भने नवप्रतिगामीहरूको चरित्र प्रतिगमनवादी छ नवसामन्तवादीको चरित्र सामन्ती छ । निगम पुँजीवादका कारिन्दा हुन् ती सबै । यतिबेला कांग्रेस हिजोका पञ्चको जस्तो र कम्युनिष्टको रातो बर्को ओढ्नेहरू कर्पोरेट कम्पनीका दलाल हुन् जो र यो पुँजीवादी डेमोक्रेसी हो भन्न रुचाउँछन् । बिबिसीको माइक समातेर कराउन र अरूलाई प्रश्न सोध्न जति सजिलो हुन्न राजनीतिक दल चलाउन, सामाजिक मिडियामा भ्युज लाइक कमेन्ट र शेयर आएजस्तो उभार राजनीतिक दल चलाउँदा आउँदैन भन्ने जान्न अब रवीन्द्र मिश्रको आत्मकथा पढ्ने प्रतीक्षा गर्नै पर्छ । टिभीको पर्दा फुट्ने गरी कराएर प्रधानमन्त्री हुँदा पनि सिन्को भाँच्न सकिन्न भन्नेचाहिँ रवि लामिछानेलाई हेक्का भएर होला अहिलेसम्म दल खोेल्ने हल्ला गरे पनि दल खोल्न लागेका छैनन् । आखिर नेपाली समाजमा पनि घोक्रो फुलाएर चिच्याउँदैमा के–के न हुन्छ र लोकतन्त्र आउँछ वा कायापलट हुन्छ भन्ने विभ्रममा बाँचेको जमात अधिक छ ।

भनिन्छ, राजनीतिक सिद्धान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासनसँग सम्बन्धित राजनीतिक विचारधारालाई जनाउँछ । अब खोजौँ त यहा कहाँ छ लोकतन्त्र ? जनताको लागि छ त ? राजनीतिक दलभित्रचाहिँ छ त लोकतन्त्र ? हिजो माओवादीको जनसेना र बन्दुक बराबर गनेर किन दिइयो ७२ जना सांसद ? कहाँ थियो ऊबेला कानुन र लोकतन्त्र ? बन्दुक छोपेर कोट भिराउन तयार हुनेहरूले आज चिच्याएजस्तो । के छ यो देशमा प्रजातन्त्रवादीको ठेक्का लिने दलमा लोकतन्त्र ? हिजो २०५१ गिरिजाले बहुमतको सरकार भंग गरेर मध्यावधि निर्वाचन गराउँदा कहाँ गएको थियो कांग्रेसभित्रको लोकतन्त्र । अब भोलि ओलीको दम पुगेको दिन संसद् भंग गरे भने पनि हुने छैन नेकपाहरूको लोकतन्त्र ।

प्रचण्डपुत्री रेणुलाई मेयर जिताउन भोट हाल्न ह्विप लगाउने शेरबहादुरको सामु कहाँ थियो कांग्रेसका कार्यकर्ताको लोकतन्त्र ? आज ११औँ महाधिवेशन भएको ४ वर्ष भयो नेविसंघको महाधिवेशन हुन सकेको छैन । तरुण दल टिकोटालोमा अड्किएको छ । ९ वर्ष भो किसान संगठन कहाँ छ पत्तो छैन । आरजुलाई असहयोग गरेको आरोप लागेका ओझाबाहेकको कारबाही कसलाई भएको छ र ? त्यसैले सबैलाई लोकतन्त्र आएको होला ।

अब लागौँ के छ कम्युनिष्टहरूको । आज लोकतन्त्रको बखानमा नथाक्नेहरूको केही किस्सा हेरौँ न ! प्रचण्ड–बाबुरामले जनयुद्ध विसर्जनको लाइन कुन बैठक वा सम्मेलनबाट पास गरेका थिए ? शिविरमा रहेका जनसेनालाई शाही सेना लगाएर कब्जा गर्दै इतिहासको सम्झनामा सम्झाउने एक जोर कम्ब्याटसमेत राख्न नदिई रुवाउँदै लुट्न आदेश दिने माओवादीका प्रधानमन्त्री बाबुरामलाई माओवादीको कुन बैठकले आदेश गरेको थियो ? कमरेडहरूसँग कुनै निर्णयप्रति सर्कुलर केही छ ? अनि अहिले लोकतन्त्रको रोइलो हाहाहुहु गर्ने ।

के होला र राजावादी भन्ने दलहरू त चुनावको मुखमा फुट्ने र बेमौसमा जुट्ने पञ्चहरूको गुट न हो यो पनि कुनै दल हो र केवल दरबारको गोटीबाहेक । राजनीतिक कार्यकर्तालाई सस्तो कठिन आदर्श दिएका हुन् दलले । तिनको आँशु, रगत र पसिना लिएका हुन् दलहरूले । तर, त्योबाहेक न्याय दिने कुनै दल छ र यो देशमा ? तर दलाल ठेकेदार र तस्करलाई बोलाई–बोलाई नेता राजदूत संसद् मन्त्री बनाउनेहरूको राजनीति पनि स्मग्लरहरूको गिरोहले चलाएजस्तो डनगिरी गर्ने चरित्रमा छ । घरमा जे संस्कार छ, त्यही हो समाजमा देखिने मान्छेको चरित्र । अनि दलमा जे छ संस्कार राजनीतिमा उही झल्किन्छ लोकतन्त्र । त्यसैले जनमुखी सहकर्मी रुपचन्द्र विष्ट रुदानेले २०५१ मा भनेका तर्क अहिले पनि उस्तै छ सान्दर्भिक ।

राजनीति पार्टी राप्रपा होइन
कांग्रेसी बहुमत बेकार सिद्ध भो
बहुदले कम्युनिष्ट खास ठग हो ।
जनमुखी राजनीति उपाय हो ।
रुदाने २०५१

राजनीतिक सिद्धान्तमा लोकतन्त्रको कुरा गर्नेहरूले रेणुका लागि भोट माग्ने कांग्रेसले लोकतन्त्रको निसाफ खोजे हुन्छ । हिजो कांग्रेस माओवादी गठबन्धन गर्दा कहाँ थियो राजनीति नैतिकता ? आज पनि रोजे हुन्छ । रिपब्लिक र डेमोक्र्याट मिल्दा अमेरिकी प्रजातन्त्र गतिलो हुन्न भन्छन् । यहाँ के थियो र किन भयो तमासा । टुप्पीदेखि पैतालासम्मको बल लाएर मरुन्जेल जनआन्दोलन दमन गर्ने कमल थापाहरूलाई मन्त्री फलिफाप संघीय मामिला मन्त्रालयमा झण्डा हल्लाएर राजतन्त्रको रुझान गर्दा केही छ र बाँकी नौतिकता ?

सूर्यप्रकाश सेन ओली र कुमार फुदु कामरेड हुँदा तराई झरेर संविधान जलाउनेहरूले झण्डा हल्लाउँदै थिए सिंहदरबारमा । उनीहरूलाई त्यहाँ रातोकार्पेट ओछ्याइएको थियो । यति मात्रै होइन नि कमल, ओली, कमरेड बन्दै कोट लगाए सदन छिर्दा माइला लामालाई खोरमा हाल्ने गृहमन्त्री रामबहादुर थापा बादल, भूपूगृहमन्त्री जनार्दन शर्मा प्रभाकर र शक्ति बस्नेत सुरेशसिंहजस्तो हिजोका आदर्श जनसेनाका कमाण्डर र उनका भक्तभजन मण्डलीको नैतिकताको ग्राफ के छ होला आज नियाल्न मन छ यो लोकतन्त्रको । ४ वर्षअघि माइला लामालाई हत्कडी लगाउँदा माओवादीका नेता गृहमन्त्री थिए, पूर्वजनसेनाका कमाण्डर जनार्दन शर्मा प्रभाकर, चार वर्षपछि त्यही गृहमन्त्रीको कुर्सीमा थिए रामबहादुर थापा बादल । अनुहार फरक, चरित्र उही । जो हिजो माइला लामाहरूलाई रणमैदानको गीत लेख्न गाउन उक्साउँथे, त्यही गीत सुनेर हुरुक्क हुँदै बन्दुक पड्काउथे । आज उनीहरू नै त्यही गीत गायो भनेर जेल हाल्दै छन् ।

सर्लाहीको सागरनाथका सुकुम्बासीको अभिभावकजस्ता थिए कुमार पौडेल । उनलाई दिउँसै कुटीकुटी नौ ठाउँमा हात भाँचेर मार्दा कहाँ छ र लोकतन्त्र अब देखाउने दण्ड त जागिर फुस्कन लागेको हवल्दार र असइको बर्दीमा हो नि ठालु र सिंहदरबारलाई त सुनपानी छर्के चल्छ ? लोकतन्त्रको शाब्दिक अर्थ हो मान्छेको शासन जसलाई संस्कृतमा लोक–जनता र तन्त्र–शासन वा एक यस्तो प्रजातान्त्रिक शासन व्यवस्था हो भनिन्छ, जसमा जनता आफ्नो शासक आफैँ हुनुपर्ने हो । तर, भएको छैन, त्यसैले बद्री पंगेनीको गीत सान्दर्भिक छ यो देशमा आज पनि ।

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू
सोलुमा भारी बोकी बालबच्चा पाल्नेहरू
अझै नि लोकतन्त्र आ’को छैन है
जनताले भनेजस्तो भा’को छैन है !

यो देशमा कहाँ छ होला दल ? लुटिएको कालापानीमा छ ? चेपिएको लिपुलेकमा छ त ? बेचिन लागेका एमसिसीमा छ ? गरिबको झुपडीका पीडामा मलम लगाउन छ ? भोकै हिँड्ने राजमार्गको लस्करका लागि छ ? खाडीमा पसिना बेच्नेहरूका लागि छ ? जिउँदै जल्नेहरूको लागि छ ? देश आउन महाकालीको भंगालोमा फाल हान्ने ज्यानलाई छ त दल ? कहीँ पनि छैन नि तैपनि यो देशमा दल छ र लोकतन्त्र पनि छ । कोशी र गण्डक बेच्ने दल थियो । कर्णाली बेच्ने दल पनि छ, अझैसम्म । महाकाली बेच्नेहरू अझै दल बनाउन छटपटाउँदै छन् । भ्रष्टाचार र कमिसनमा छ । एनसेललाई कर छुट गर्नेहरूको दल छ । देशको ढुकुटी लुट्नेहरूको दल छ । जनसेनाका लुगादेखि पुलिस–आर्मीको कपडा जुत्तामा समेत कमिसन खानेहरूको ठूलो दल छ । गाउँमा डोजरको डिजेल पिउनेदेखि जनताको ओठ मुख सिउने ठाउँमा छ दल । लोकतन्त्रको मात्रै होइन, सिंगो दुई तिहाइको समाजवाद र समृद्धिको बेनिफिट ओम्नी र यती समूहलाई दिलाएपछि जनतालाई त लोकतन्त्र माछो–माछो भ्यागुतो, हात्ती आयो हात्ती आयो फुस्सा । टाई टाई फिस । कुकुर तुहिँदा र ब्याउँदा के छ लोकतन्त्र आउँदा उही ।

त्यसैले विद्वान्हरूको लोकतन्त्रको उफ्राई र मित्रहरूको शुभकामना देख्दा मलाई भने चतुरालेका प्रधानपञ्च दक्षदेवको कथा सम्झना आयो । लोकतन्त्रको चिन्तामा उफ्राइको कथा र प्रधानपञ्च दक्षदेवको व्यथा उहीजस्तो । नुवाकोटको जिल्ला पञ्चायतले इमान्दार पञ्च भनेर पुरस्कार दिने गरेका पात्र थिए, चतुराले पञ्चायतका प्रधानपञ्च दक्षदेव थपलिया । उनको बारेमा पञ्चहरूको भनाइ थियो । जब खर्च खाँचो हुन्छ तव दक्षदेव बागमती अञ्चलाधीशको कार्यालयमा आउथे र भटभटाउन थाल्थे रे ! म छोडी दिउँ जिल्ला । सबै राजाविरोधी र व्यवस्था विरोधीहरूले जिल्ला खान लागिसके । कसैले केही गर्ने होइन भन्दै कराएर हैरान पार्ने अनि होइन हजुर भन्दै सम्झाई बुझाई जिल्ला पठाउँदा रहेछन् । बेलाबखत उनी अञ्चलाधीशको अघि उफ्रनुको अर्थचाहिँ के रहेछ भने त्यहाँबाट पञ्चायत कार्यकर्तालाई नगद वितरण हुने रहेछ । उनी भ्रष्टाचार नगर्ने इमान्दार भएकाले पटक–पटक उफ्रनुपर्ने आपत तर उफ्राइको पनि अर्थ लाग्ने रहेछ ।

पञ्चायत मासेर बहुदल र त्योभन्दा गतिलो उन्नत जातको हाइब्रिड लोकतन्त्र ल्याएको देश हो । यो बेला पञ्चायत मासिएको ३१ वर्षपछि देशमा उन्नत भनिएको बौद्धिकहरू पनि बेला–बेला लोकतन्त्र मासिन लाग्यो भन्दै प्रतिगमनको भूतले तर्सिएर उनै पञ्च दक्षदेवझैं कराएको देख्दा उदेक लागेको छ । कतै ती पनि मानवअधिकार शान्ति र लोकतन्त्रको रक्षार्थ मिलिनियम च्यालेन्ज फण्डको सुइँको पाएर हुन् कि पचाउनको लागि हजमोला सम्झेर हुन् वा साँच्चै लोकतन्त्रको माया लागेरचाहिँ होइन होला हो उफ्रिएको । लोकतन्त्रको माया भए कहाँ थिए महिना दिनसम्म ती बन्दाबन्दीमा मजदुरको आँसुको चित्कार नसुन्नेहरू । गरिबको भोकको पुकार नसुन्ने मानव अधिकारवादी कृष्ण पहाडीहरूको कुन लोकतन्त्र मासिन लागेछ ? जुन लोकतन्त्रको लागि बन्दुक बोकेर लड्ने विप्लव आतंककारी भएको यो बेला ।

गणतन्त्रको बाटोमा तगारो लगाउने ज्ञानेन्द्र शाह आफैँ पल्टिएर गणतन्त्रवादी भएको देशमा कहाँ हुन्छ रे प्रतिगमन ? हाम्रा कथित बुद्धिजीवीहरूको यो रोदनको लोकतन्त्र केका लागि हो उनै जानुन् । तर, कहाँ होला ? देशमा होला कि, दलमा होला त यो लोकतन्त्र भन्दै म पनि जुँगाको रेखी नबस्दैदेखि कुदेको नाताले मात्रै केही चित्र खोतल्न जाँगर गरेको हुँ । संकट परेपछि स्वार्थको डम्फु बजाउन खोज्ने हतारले लोकतन्त्रको बखानमा यतिबेला ओली सरकारको अध्यादेशको ब्रह्म अस्त्रलाई, लोकतन्त्रको ब्रह्म अस्त्रले टकराउँदा दुवै पक्षले अस्त्र फिर्ता लिएका छन् आज । तर, लोकतन्त्रवादी र वामपन्थीका ब्रह्म अस्त्र थन्क्याउने आदेश दिन यो राजनीति महाभारतमा पौराणिक महाभारतमा जस्तो व्यास गुरुको होला ? त्यो जान्ने रहर छ यो मनुवालाई चाहिँ । आज संसारमा एक मात्र, करमुक्त, कोरोनामुक्त, एड्समुक्त, निजी सम्पत्तिमुक्त, देशले भनेको प्रजातान्त्रिक जनगणतन्त्रलाई फाँसीवादी भन्ने नेपाली प्रगतिशील बुद्धिजीवीहरूको एक चित्र र चरित्र हो यो । मालिकहरूले खुलित पारेपछि मान्यवरहरूको कहाँ छ र दल ? कहाँ छ लोकतन्त्र ? हामी त उही भूपिले कवितामा भनेजस्तो न हो ब्रो !

एक झन्डा
एक डन्डा
एक भोट

टिप्पणीहरू