सबैतिर सँधै बिदा, कर्णालीमा अरु ८ दिन थपियो

सबैतिर सँधै बिदा, कर्णालीमा अरु ८ दिन थपियो

कर्णाली प्रदेश सरकारले यो वर्ष २०७९ मा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदाको निर्णय गरेको छ । प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बिदाको निर्णय प्रदेश सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ । कर्णाली प्रदेशमा धान दिवसका अवसरमा चैत्र १२ गते जुम्लामा र असार १५ गते जुम्लाबाहेक अन्य जिल्लामा बिदाको निर्णय भएको छ ।

अन्य बिदामा साउन १ गते देउडा पर्व, साउन १७ गते नाग पञ्चमी, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते कोजाग्रत पूर्णिमा र चैत्र १६ गते रामनवमीको दिन रहेको छ ।

त्यसैगरी असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ बाबा मेलाको पनि जुम्ला र सम्बन्धित स्थानीय तहमा बिदाको निर्णय भएको छ ।

यता संघीय सरकारले आगामी जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । जसअनुसार वर्षको एक सय चार दिन बिदा हुने छ । त्यो बाहेक अन्य धेरै पर्व बिदा रहेकाले मुलुकभर वर्षको एक तिहाई दिन अर्थात् एक सय २२ दिनभन्दा बढी बिदा हुने अवस्था सिर्जना भएको हो ।

त्यो बाहेक निजामती तथा अन्य संघ संस्थाका कर्मचारीले वार्षिक घर बिदा, बिरामी बिदा, भैपरीआउने बिदा गरि झण्डै ५० दिनको बिदा लिन सक्ने व्यवस्था छ । यस्तो अवस्थामा सरकारी कार्यालयमा वर्षको एक सय ८० दिन मात्र कर्मचारी उपस्थित हुने अवस्था बन्दै गएको छ ।

टिप्पणीहरू