गठबन्धनको गाँठो

गठबन्धनको गाँठो

‘गठबन्धन’ शब्दको उत्पत्ति कसरी भएको होला ? शायद ‘गठबन्धन’ शब्दमा दुइटा उपशब्द जोडिएको हुनुपर्छ – एउटा ‘गठ’, अर्को ‘बन्धन’ । गठ र बन्धन दुई शब्द मिलेर ‘गठबन्धन’ बन्दा । ‘गठ’ भनेको शायद ‘गाँठो’ हुनुपर्दछ । वा भनौँ, ‘गाँठो’ बाटै ‘गठ’ बनेको हुनुपर्छ । हुनुपर्छ किन, हो नै भन्दा हुन्छ । किनभने अहिले सत्तामा पाँच दलको जो गठबन्धन बनेको छ, त्यहाँ बन्धन भन्दा पनि गाँठो बढी परेको देखिन्छ । खास गरी स्थानीय चुनावको सीट बाँडफाँड गर्ने काममा धेरै गाँठा देखिएका छन् । कहाँको मेयर कसलाई दिने ? कहाँको उपमेयर कसलाई दिने ? यसैमा गाँठो परेको छ । कतिचोटी बैठक बसिसक्यो तर गाँठो फुकाउन सकेको होइन । गाँठै गाँठाले गर्दा हरेक मिटिङ असफल भइरहेको छ ।

वास्तवमा चुनावकै लागि भनेर गठबन्धन बनाइएको थियो । तर अहिले भने चुनावकै कारण गठबन्धन टुक्रिएला जस्तो भइरहेको छ । गठबन्धनमा बन्धन कम र गाँठो बढी भएपछि हुने यही नै हो । गाँठो फुकाऊँ भनेर नेताहरू बैठक बस्छन् । तर गाँठो फुक्दैन, झन् कसिन्छ । अहिले त सत्तामा पाँच दलको गठबन्धन होइन, गाँठो बन्धन पो बस्न गए जस्तो लाग्छ ।

गठबन्धनको डिमाण्ड पनि अचम्मको छ । सबैलाई मेयर नै चाहिने । त्यो पनि महानगरकै । देशमा महानगर छ जम्मा छ वटा, दलहरू छन् पाँच वटा । प्रत्येकलाई दुई दुइटा दिए पनि पुग्दैन । अब यही गाँठो फुकाउनकै लागि भए पनि केही नगरपालिकालाई रातारातै महानगरपालिका पो घोषणा गरिदिने हो कि ?

टिप्पणीहरू