अदालतमा डाक्टर श्रीमानको संख्या बढ्दो

अदालतमा डाक्टर श्रीमानको संख्या बढ्दो

नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा ललितपुरको कोपुण्डोलस्थित होटल हिमालयमा श्रीमानहरुको बाक्लो जमघट भयो । निकै महँगो भोजका रूपमा चर्चित उक्त पार्टी काठमाडौं जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईले आयोजना गर्नुभएको हो ।

‘अरु केही होइन,परशुराम श्रीमानले पीएचडी गरेको उपलक्ष्यमा यसो हाँसखेल गरिएको हो,’एक न्यायाधीशले जनआस्थाको जिज्ञासामा बताउनुभयो । अदालतमा पीएचडी गरेका श्रीमानहरुको संख्या बढ्दै जाँदा तारे होटलमा भव्य रिसेप्सन पार्टीको संख्या पनि बढ्दो छ ।

यसपटक भोज गर्नुभएका भट्टराई उनै न्यायाधीश हुनुहुन्छ,जसले सांसद रेशम चौधरीको चर्चित मुद्दामा ‘बोल्ड’ फैसला गर्नुभएको थियो । त्यहि आदेशबाट कैलाली जिल्ला अदालतले चौधरीलाई टीकापुर नरसँहार काण्डमा जेल चलान गरेको हो ।

जनआस्थाले पीएचडी गरेका न्यायाधीशहरुको सूची खोज्ने क्रममा एक दर्जन जति बहालरत रहेको जानकारी पाएको छ । जसअनुसार सर्वोच्चमा पीएचडी गरेका तीन जना न्यायाधीश हुनुहुन्छ डा.आनन्दमोहन भट्टराई,डा.कुमार चुडाल र डा.मनोज शर्मा ।

त्यसैगरी उच्च अदालतमा डा. रवि शर्मा अर्याल,डा.खुशीप्रसाद थारु र डा.नवराज थपलिया हुनुहुन्छ ।

७७ वटा जिल्ला अदालतमा जम्मा चार जना देखिनुभएको छ । डा. राजेन्द्रकुमार आचार्य,रमेश रिजाल, श्रीप्रकाश उप्रेती र परशुराम भट्टराई हालसम्म विद्यावारिधी गर्नुभएका श्रीमान हुनुहुन्छ ।

टिप्पणीहरू