सैन्य दमनबाट क्रान्तिकारी बनेकी २९ वर्षे शिक्षिका

सैन्य दमनबाट क्रान्तिकारी बनेकी २९ वर्षे शिक्षिका

स्वे ले (२९) अर्थात् ‘क्रान्तिकारी केटी’ को सशस्त्र सैन्य समूहभित्र बेग्लै तौर–तरिका छ । निर्दोष अनुहार तर कडा स्वभाव । सिलिक्क टाँसिएको कपाल । तनक्क परेको खाइलाग्दो शरीर । सरल जीवनशैली र नम्र बोली उनको सबैभन्दा ठूलो परिचय हो ।

जंगलभित्रको प्रशिक्षण मैदानमा प्रायः पुरुषहरूको भीडमा उभिएकी हुन्छिन्– स्वे ले । उनको दृढ संकल्पले सिपाहीको अनुमान लगाउन कसैलाई पनि बेरै लाग्दैन । जब उनी सैन्य अभ्यासमा केन्द्रित हुन्छिन्, तब फरक छाप पार्छिन् ।

क्रान्तिको अग्रमोर्चामा खटिएकी उनी बेलाबखत आफ्नो वर्तमान भूमिका बिर्सेर फेरि बनिदिन्छन्, स्कूले शिक्षिका । नबनून् पनि कसरी तीन दशक टेक्नै लागेको युवा उमेर रमाउँदै–रमाउँदै किताब, कलम र चकसँगै बिताइन् ।

उनी वर्ष दिन अघिसम्म छिन् राज्य (म्यान्मार) को एक माध्यमिक विद्यालयमा पढाउँथिन् । अहिले म्याग्वे क्षेत्रस्थित याउ पिपुल्स डिफेन्स फोर्सको सशस्त्र सैन्य क्याम्पभित्र छिन् ।

पिपुल्स डिफेन्स फोर्स म्यान्मारको तानाशाही सैनिक ‘जुन्ता’ सँग भिडिरहेको सशस्त्र विद्रोही नागरिक समूह हो । सैनिक ‘कू’ यता लाखौँ म्यान्मालीहरू सरकारी सेनाविरूद्ध युद्ध–मैदानमा उत्रिएका छन् । उनीहरू देशमा पूर्ण प्रजातन्त्र र स्वतन्त्रता चाहन्छन् ।

२९ वर्षे स्वे ले म्याग्वे क्षेत्रको गंगाव गाउँमा हुर्किएकी युवती हुन् । उनले छिन् हिल्स् गाउँको सरकारी विद्यालयमा आठ वर्षभन्दा बढी समय बिताइन् । उनलाई आफ्नो पेशा सबैभन्दा प्यारो लाग्थ्यो । अझ् भनौं सँगसँगै हुर्के–बढेका कलिला केटाकेटीहरू–जसलाई उनले अहिले पनि उतिकै माया गर्छिन् । मनमा सजाएर राखेकी छिन् ।

शिक्षण पेशा छाडेर विद्रोही बन्नु ’क्रान्तिकारी केटी’ को रहर होइन । यो उनको बाध्यता हो । गत वर्ष (१ फेब्रुअरी २०२१) म्यान्मारको ‘जुन्ता’ सैनिकले राज्यसत्ता कब्जा गर्यो । उनले नागरिक अवज्ञा आन्दोलनमा भाग लिइन् । लगतै शिक्षण पेशाबाटै हात झिकेर हजारौं सरकारी कर्मचारीहरूसँगै सडक प्रदर्शनमा उभिइन् ।

उनी ‘जुन्ता’ को नाम सुन्यो कि आक्रोशित हुन्छिन् । स्वतन्त्रताको निम्ति शहीद बन्न तयार छिन् । त्यसैले जंगलमा विद्रोहीहरू खोज्दै पुगिन् । जनआन्दोलनमा डटेर लागेकी छिन् । समाजमा झूट फैलाएर सेनाले जनशक्ति निल्नै आँटेको उनको भनाइ छ ।

‘मैले सैन्य तानाशाहीको अधिनमा रहेर काम गर्न सकिनँ । नागरिक अवज्ञा आन्दोलनमा सहभागी भएँ, किनभने म सत्यको कदर गर्छु,’ पूर्वशिक्षिका स्वे ले भन्छिन् ।

म्यान्मारको ’जुन्ता’ असत्य मात्र होइन, क्रुर पनि छ । एकदिन सरकारी सेनाद्वारा निर्दोष गाउँलेहरू मारिएको आँखै अघिल्तिर देखिन् । उनी त्यसपछि कुनै कुरा नसोची गाउँ छाडेर युद्ध मैदानमा होमिन तयार भइन् ।

‘मेरा आँखाले यातना दिएर मानिसलाई कुटीकुटी हत्या गरेको हेर्न सकेनन् । किनकि म मानव थिएँ । मैले विद्रोहका लागि सशस्त्र समूहमा लाग्ने सोच बनाएँ । स्कूल छाडेँ अनि जंगल पसेँ । र, मलाई यो पनि थाहा थियो कि– हतियार चलाउन सजिलो छैन,’ उनले भनिन् ।

कक्षा कोठामा रातो कलम समातेर हुर्केका हातहरूले आजभोलि बन्दुक पड्काउँछन् । उनले आफूलाई लडाकूमा परिणत गर्न धेरै कठिनाइको सामना गरिन् । उनी मात्र होइन विद्रोही फोर्समा उनीजस्ता कैयौँ शिक्षिकाहरूले कलम त्यागेर बन्दुक पड्काउँदै हिँडिरहेका छन्।

सैन्य तालिमका क्रममा शारीरिक र मानसिक रूपमा परिवर्तित हुनुपर्यो । उनी परिवारबाट पनि टाढिएकी थिइन् । सैन्य प्रशिक्षण पटक्कै सजिलो थिएन । तर सैन्य तानाशाही हटाउन जुनसुकै अवरोध पनि सामना गर्न तयार छिन् ।

पिपुल्स डिफेन्स फोर्समा छिर्नका लागि अन्तर्वार्ता पास गर्नुपर्छ । शारीरिक र चिकित्सा परीक्षा दिनुपर्छ । तर नाबालिगहरूलाई भने स्वीकार गरिँदैन । फोर्स जनताको चन्दामा निर्भर छ । यसको आर्थिक स्रोत पनि सीमित छ ।

थुप्रै चुनौतीहरू छलेर आफू जनक्रान्तिको विद्रोहको मैदानमा उत्रिएको स्वे लेले बताइन् । ‘म राष्ट्रिय एकता सरकारमा विश्वास गर्छु । जनसरकारले जतिसक्दो चाँडो थप हतियार उपलब्ध गराओस्,’ उनले थपिन्, ‘शंका नगरौं, हार नमानौं । युद्धको बाटो रोजेपछि जे पनि हुन सक्छ ।’

टिप्पणीहरू